अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुँदा पनि असुरक्षित र जोखिमपूर्ण रुपमा भारत जानेहरुको संख्यामा कमी आउन सकेको छैन । कोभिडका कारण असहज परिस्थिति रहेपनि जोखिमपूर्ण भारत जानेहरुको संख्यामा कमी आउन नसकेपछि सीमामा विभिन्न संघ, संस्थाले चेलिबेटी बेचबिखनमा पर्न सक्ने भन्दै निगारानी बढाइरहेका छन् ।
नुवाकोटका दुई किशोरी रोजगारीका लागि भन्दै काठमाडौं बस्ने पूर्णिमा तामाङ्गसँग भारत जाँदै थिए । चेलिबेटी बेचबिखन विरुद्ध सीमामा निगरानी गरिरहेको संस्था शान्ति पुनस्र्थापना गृहका प्रतिनिधिले शंका लागेपछि सोधपुछ गरे । भारत लगेर ८/९ हजार भारतीय रुपैयाँमा जागिर लगाइदिन्छु भनेर बाबुआमालाई नै भनेर पूर्णिमाका श्रीमान् श्याम तामाङ्गले दुई मध्ये एक किशोरीका बुबाआमा सँग कुरा गरेका थिए ।
‘भारत कहाँ, कुन काम भनि सोधपुछ गर्दै जाँदा हामीलाई आशंका लाग्यो र प्रहरीसँग समन्वय गर्यौं’, पुनस्र्थापना केन्द्रकी बसन्ता जिसीले भनिन्, ‘२१/२२ बर्षका किशोरी उनी सँग रहेकी पूर्णिमा सँग कुरा गर्दा बेचबिखनको जोखिम पायौं ।’
श्याम तामाङ्ग नुवाकोटबाट ल्याएका दुवै किशोरीलाई सुरुमा काठमाडौं लगेर एक साता राखेको किशोरीहरुले बताएका छन् । एक साता काठमाडौं बसेपछि भारत लैजानका लागि पूर्णिमाले उनीहरुलाई नेपालगन्ज ल्याइन् । अटोमा बसेर जाँदै गरेका उनीहरुलाई पुनस्र्थापना केन्द्रले केरकार गरेको थियो । पूर्णिमाले भारत कामका लागि लग्न लागेको भनिएपनि उनीसँग ३÷४ सय रुपैयाँ मात्र थियो । उनले रुपैडिहा पुगेपछि अर्कोले पैसा पठाउने र सोही पैसाले भारतको दिल्ली जाने बयान पुनस्र्थापना केन्द्रमा दिएकी थिइन् ।
प्रहरीले श्याम र पूर्णिमा दुवै माथि मानव बेचबिखन मुद्दा दर्ता गरेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिएका छन् । पुनस्र्थापना केन्द्रले सीमामा भारत जानेहरुलाई सोधपुछ गर्ने, जोखिमको जानकारी दिने, पुस्र्थापना केन्द्रमा राखेर सीप सिकाउने लगायतको काम गर्दै आएको छ । दुई किशोरीलाई अभिभावकले लगेका छन् । प्रहरीले रोकपछि नेपालगन्ज आएका श्याम पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।
पुनस्र्थापना केन्द्रकी जिसी संस्थाले सिधै गर्ने निगरानी बाहेक प्रहरी तथा आफन्तबाट पनि अनुरोध आउने गरेको बताउँछिन् । नेपालगन्जमा असोजदेखि खुलेको शान्ति पुनस्र्थापना गृहले हालसम्म ९ सय जतिलाई परामर्श दिइसकेको छ ।
मानव बेचबिखनको मु्द्दा दर्ता नै जटिल हुने गरेको पाइन्छ । अभिभावककै मञ्जुरीमा समेत जोखिमपूर्ण यात्रामा बालबालिका तथा किशोरीहरु भारत पठाउने गर्दा मुद्दा दर्ता अप्ठ्यारो हुने गरेको हो । कतिपय जोखिमपूर्ण यात्रामा लग्नेहरु सँगै नहुँदा पनि समातिने गरेका छैनन् । कतिपयलाई सीमामा खटिने संघ, संस्थाहरुले सम्झाएर घर पठाउने गरेका छन् । तर, सबै घटनामा लैजाने फेला पर्दैनन्, फेला परेपनि अभिभावक आफैले पठाएर पछि मुद्दासम्म घटना पुग्ने गरेको छैन ।
बाँकेमा साढे तीन बर्षको अवधीमा मानव बेचबिखनका ४१ जना मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ । आ.व. २०७४/०७५ मा २५, आ.व. २०७५/०७६ मा ५, आ.व. २०७६/०७७ मा ७ र चालु आ.व.को पाँच महिनामा ६ वटा मानव बेचबिखन सम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।