काँग्रेस नेता गगन थापाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको बताएका छन् । मंगलबार प्रेस यूनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता थापाले प्रतिनिधिसभा विघटन गर्ने कार्यलाई राष्ट्रपति विद्यादेवि भण्डारीले नरोकेर आफ्नो जिम्मेवारी पूरा नगरेको बताए ।
बहुमत प्राप्त सरकारले प्रतिनिधिसभा विघटन गर्ने नजिर बस्यो भने भोलिका दिनमा यस्ता समस्या दोहोरिरहन सक्ने उल्लेख गर्दै नेता थापाले त्यस विरुद्ध काँग्रेसले संघर्ष गर्ने बताए । उनले यसलाई सर्वोच्चले ब्रेक लगाउनु पर्ने बताउँदै भने, ‘यो स्थापित भयो भने भोलिका दिनमा प्रधानमन्त्रीले सनकका भरमा प्रतिनिधिसभा विघटन गरिदिन सक्छन् ।’
प्रधानमन्त्रीले तीन बर्षमा लगातार संविधान मिच्ने कार्य गरेको नेता थापाको आरोप थियो । ‘सरकार विरुद्धको लडाईमा कसैसँग सहकार्य गर्दैनौं, एक्लै लड्छौं,’ उनले भने ।
यूनियन बाँके अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव विजय मल्लले गरेका थिए ।