हुन त आम जनमानसमा मुस्लिम समुदायबारे सामान्य बुझाई छ कि मुस्लिम महिलाहरु बुर्का भित्र बाध्यतावश बस्छिन् । उनीहरुलाई दबाएर राखिन्छ उनीहरुमाथि दमन शोषण गरिन्छ । तर समुदायभित्र भिजेर हेर्ने हो भने अवस्था फरक छ मुस्लिम महिलाहरु बुर्काभित्र रहेर पनि उच्च शिक्षा हासिल गरी समुदायमा योगदान पुर्याइरहेकी छिन् ।


तलब लिएर कुनै ठाउँमा काम त जो कोही पनि गर्न सक्छन् र गर्छन् पनि तर निवार्थ भावले बिना तलब भत्ता कुनै आर्थिक लाभ नलिई समाजमा योगदान पुर्याउने व्यक्तिको नाम आउँदा हामी एम.पी. स्कुल निकट बस्ने सायरा खान जीलाई सम्झिन्छौं । उहाँ एक यस्ती मुस्लिम महिला हुन् जसले बिना कुनै लोभ लालच र बिना कुनै आर्थिक लाभ लिइ करिब १७ वर्षदेखि समाजमा आफ्नो योगदान पुर्याउदैं आइरहेकी छिन् । उनले बी.बी.एस.सम्म शिक्षा हासिल गरेकी छिन् । उनको परिवारमा उनका उनका दुई सन्तान छोरी र छोरा, पति, सासु, देवर र आफु सहित ६ जनाको परिवार छ । सासु बिरामी भइरहने हुनाले उहाँको हेरचाह बच्चाहरु शिक्षादिक्षा पालनपोषण देवर र पतिप्रतिको आफ्नो दायित्वहरु पुरा गरेर पनि समाजसेवा गर्दै छिन् । उनी जस्ती निस्वार्थ समाजसेवा गर्ने महिला विरलै भेटिन्छ । उनको निवासमा पुगेर गरिएको कुराकानीको केही भाग उनको अनुमति लिइ साझा गरेका छौं ।


अरु के गर्दै हुनुहुन्छ आजभोलि ?
आफ्नो परिवारको देखभालका साथै म स्थापनाकालदेखि नै नेपाल इक्रा इजुकेशनल फाउण्डेशनसंग आबद्ध रही संस्थाप्रतिको आफ्ना उत्तरदायित्व पुरा गर्दैछु ।

तपाई सामाजिक क्षेत्रमा कहिले र कसरी आबद्ध हुनुभयो ?
म सानै मेरो बुवालाई देखेर हुर्के मेरो घरमा शिक्षालाई महत्व दिइन्थ्यो म गणित विषयमा धेरै राम्रो जानकर थिए । तर अरु गरीब बच्चाहरुले आर्थिक कमजोरीले गर्दा पढ्न नपाएको देख्दा उनीहरुलाई पढ्न सहयोग गर्नुका सोच जाग्यो । त्यसकारण २०६१ साल तिर म पढ्दै गर्दा मैले गणितमा कमजोर रहेका १५÷२० बच्चाहरुलाई आफ्नै घरमा निशुल्क गणित विषय पढाउन थाले । पछि मेरो लगनलाई देखेर हाल मेरो पति शक्ति कुमार वंशकार अब्दुल कविले शिक्षामा मुस्लिम मधेशीहरुलाई अगाडि ल्याउन एउटा संस्था खोल्न आग्रह गरे २०६५ सालमा हामी विधिवत रुपमा नेपाल इक्रा इजुकेशनल फाउंडेशन दर्ता गरी क्मप्यूटर कक्षा , सिलाईकटाई र गणित, अंग्रेजी जस्ता विषयका ट्यूशन कक्षा निशुल्क संचालन गर्यौं । म त कहिल्यै तलब लिईन् तर अन्य प्रशिक्षक जस्तै सिलाई सिकाउने अरु विषय पढाउने शिक्षकलाई दिईने तलब अब्दुल कविले आफुले आफ्नो खल्तीबाट तिर्नु हुन्थ्यो ।


तपाई आफ्नो प्रेरणाको श्रोत कसलाई ठान्नु हुन्छ ?
मेरो प्रेरणाको श्रोत मेरा बुवा हुनुहुन्छ उहाँले सधैं असहायहरुको आवश्यकता परेका पीडित व्यक्तिहरुलाई आफुले भ्याउँदासम्म सहयोग गर्नु हुन्थ्यो । कसैलाई उपचार गराउनु परे उहांले चेकजांच गराउने देखि लिएर उसको उपचार खर्च सम्म आफै व्योहोर्ने गर्नु हुन्थ्यो । कुनै भोको मान्छे आएमा आफ्नो भागको खाना दिइहाल्नु हुन्थ्यो । गरीबहरु चाहिने सरसामान किनेर दिने कार्यहरुले मलाई प्रेरित गर्थे । जसले गर्दा म पनि समाजमा अरुलाई सहयोग गर्दै गए ।

तपाईको सामाजिक क्षेत्रको अनुभव कस्तो रह्यो ?
मेरो गणित विषयमा राम्रो ज्ञान हुनाले म बी.बी.एस. सम्म शिक्षा हासिल गरेकोले संस्थाको सम्पूर्ण आर्थिक कारोबारको लेखाजोखा मैले नै राख्थे । मैले निरन्तर २०६५ साल देखि बिना कुनै तलब लिइ काम गर्दै आइरहेकीछु । तलब लिने दिने कुरा हुन्थ्यो भने अरु सदस्यहरुले अडचन लगाउन्थे होला तर निस्वार्थ भावले काम गरेकोले सदस्यहरुले पनि कहिल्यै रोकटोक गरेनन् । अहिले म नेपाल इक्रा इजुकेशनल फाउण्डेशनको सचिव पदमा रही कार्य गरिरहेकीछु । मलाई सामाजिक कार्य गर्दा आत्मीय सुखको अनुभुति महसुस हुन्छ । म त आफ्नो घर खर्चबाट जोगाएको रकमबाट पीडितहरुलाई सहयोग गर्ने गर्छु ।

तपाईको सामाजिक कार्य क्षेत्रमा यतिको वर्षको अनुभव छ हजारौं संस्था कार्य गर्दैछन् के कस्तो अवस्था पाउनु भएछ ?
हेर्नुस् संस्थाले काम गरेकैछन् त्यसलाई नकार्न मिल्दैन तथापि जुन तरिकाले गर्नु पर्ने हो त्यसरी गरेकै छैन्न् । यदि हिसाब किताब गर्ने हो भने वर्षेनी अर्बौं खर्बौं बजेट विभिन्न समुदायको उन्नति प्रगति विकास र सशक्तिकरणका नाममा खर्च गरिएको देखाइन्छ । जबकी भन्ने हो भने एक चौथाई भाग पनि समुदाय समक्ष पुग्दैन् । किनभने हाम्रो भ्रष्टाचारयुक्त कार्य प्रणाली नै यस्तो छ । कुनै वैदेशिक दातृ निकाय वा सरकारी निकायबाट बजेट माग गर्दा माग गर्ने संस्थाले बिचौलियाहरुलाई उनीहरुले तय गरे अनुसारको भाग दिएर बचेको बजेटबाट संस्थाको व्यस्थापन खर्च भनी निकाल्छन् । अब बाकी रहेको बजेटलाई परिचालन गर्दा परियोजनाको संयोजकले आफ्नो भाग निकाल्छन् । त्यसपछि फिल्डमा खटिने कर्मचारीले आफ्नो भाग निकाल्छन् । यति हुदांहुदैं दशको ठाउँ दुई मात्र खर्च हुन्छ भने आशातीत उपलब्धी समयसीमाभित्र प्राप्त हुँदैन । तपाई आफै सोच्नुस् न जब समस्या अनुसार तय गरिएका बजेट समुदायमा लगानी नै हँुदैन भने आशा गरिएको सफलता र सकारात्मक असर कहांबाट देखियोस् । जहाँ पनि हेर्नुहुन्छ भ्रष्टाचारले जरो गाडेछ । मेरो दृष्टिले हेर्ने हो भने समुदायसँग बेइमानी गर्नेहरुको बोलबाला भेटिन्छ । इमानदारी साथ काम गर्ने संघसंस्था कमै मात्र भेटिने छन् ।

उसो भए के गर्नुपर्ला ?
समुदायको नाममा आएका बजेट सकभर शतप्रतिशत खर्चिनुपर्छ । सबै संघसंस्थाले इमानदारी साथ समुदायका समस्या समाधान गर्न निस्वार्थ रुपले काम गरिनुपर्ला । मेरो यो भनाइसंग धेरै असहमत पनि हुन सक्छन् तिनीहरुसंग मेरो भन्नु यति कि जसले मिहेनत गर्छ उसलाई उसको मिहेनत बराबरको ज्याला दिनुपर्छ । काम गर्नेलाई समयमा उचित ज्याला दिने आदेश इस्लामले पनि दिएछ । जस्तो कि अधिकांश संघसंस्थाले अहिले दिइदैन । उनीहरुले संस्थालाई सहयोग अनि संस्था व्यवस्थापन र संचालन जस्ता विभिन्न बहानामा तय गरिएको तलबबाट पनि केही प्रतिशत कट्टा गरी मात्र दिने गर्छन् । जसले गर्दा कर्मचारीहरुमा काम गर्ने उत्साह जोशर जांगर मरेर जान्छ उनीहरुको काममा क्वालिटी घटेर आउँछ । जसले गर्दा आशा गरिएको समयभित्र आशा अनुसारको उपलब्धी देखिदैन । त्यसकारण कर्मचारीहरुलाई उनीहरुको पद र कामका लागि तय गरिएको पुरै तलब दिनुपर्छ । अनि कार्य समिति सदस्यहरुले पनि आफ्नो दक्षता क्षमता अनुसार कार्यमा सहयोग गर्नुपर्छ । आफुले भ्रष्टाचार गर्नु हुँदैन र आफ्नो काम गराउन घूस दिएर भ्रष्ट मानिसहरुलाई सहयोग पनि गर्नु हुदैंन् । भ्रष्टाचारको सबैले खुल्ला विरोध गर्नुपर्छ ।

तपाईले शिक्षामा बढी जोड दिन आफैले निशुल्क कक्षाहरु पनि पढाउनु भयो तर अहिले विद्यार्थीहरुको शिक्षामा गुणस्तरीयता पाइदैन यसको कारण के होला र गुणस्तरीय शिक्षाका लागि के गर्नुपर्ला ?
हजुर यसको पहिलो कारण त बच्चाहरुको शिक्षा तर्फ अभिभावकले नै ध्यान दिनु हो । अर्को कारण शिक्षक र शिक्षण संस्थानहरु सेवामुखी नभइ व्यावसायमुखी भइसकेछन् । जुन संस्थानलाई हिजो विद्याको मन्दिर भनिथ्यो आज ती सबै कमाई गर्ने थलो भइसकेछन् । अनि तेस्रो कारण चाहीँ सानासाना बच्चाहरुको हात हातमा मोबाइल हुनाले उनीहरु प्राविधिको प्रयोगको नाममा आधुनिक शिक्षा प्रणालीका नाममा अनैतिक गतिविधि तर्फ बढी रुची राख्न थालेछन् । जसले गर्दा बच्चाहरुमा नैतिकता कम हँुदै गइरहेछ जसको परिणाम स्वरूप हामी समाजमा घटिरहेका लज्जास्पद यौन दुव्र्यवहार र बलात्कार जस्ता अपराध बढिरहेछन् ।

अन्तमा केही भन्नु हुन्छ ?
अन्तमा यति मात्र भन्न चाहन्छु कि समुदायले शिक्षाको महत्व बुझेर बच्चाहरुलाई आधुनिक शिक्षाका साथसाथै धार्मिक ज्ञान दिनु आवश्यक छ । गाउँ घरतिर त शिक्षाको त्यति महत्व नै छैन शहर बजारतिर समुदायको हालत यो छ कि छोरालाई उच्च शिक्षा दिलाए पनि छोरीलाई पराई घर जाने जात भनेर शिक्षाबाट बन्चित गरिन्छ । यसमा म यति भन्न चाहन्छु कि एउटा छोरा पढेमा ऊ मात्र शिक्षित हुन्छ तर एउटी छोरी पढिन् भने दुई परिवारलाई उनले शिक्षित गर्नुका साथै आफ्नो सन्तानलाई पनि राम्रो शिक्षादिक्षा दिएर असल नागरिक बनाउन योगदान पुर्याउँछिन् । बच्चाको पहिलो पाठशाला नै आमाको काख हो जब आमा शिक्षित हुन्छिन् भने उनले आफ्नो बच्चालाई शिक्षा दिएर वंश नै शिक्षित बनाउछिंन् । एउटी शिक्षित महिलाले आफ्नो घरको आर्थिक कार्यभार पनि राम्ररी चलाउन सक्नेछिन् । त्यसकारण बालिका शिक्षालाई बढी प्राथमिकता दिनुस् ।

परिस्थिति
आजभोलि हाम्रो समाज नै परियोजनामुखी भइसकेछ उनीहरुको सोच हुन्छ कि आफुले कत्ति पनि मिहेनत गर्नै नपरोस् अरुले गरिदिओस् । समुदायभित्र एकखाले मानसिकता सृजित छ कि कुनै समस्या भयो भने समाधान गर्ने जिम्मेवारी संघसंस्थाको हो । यहां सम्म कि खेतीका लागि चाहिने मल बिउ, पिउने पानी नल्का, पशुपालनका लागि पशु, बिरामीको उपचार गराउन सहयोगका लागि पनि धेरै जसो संघसंस्था नै पुग्ने गर्छन् । अनि संघसंस्थाहरु भन्नालाई त नाफा रहित भन्छन् तर सब भन्दा बढी नाफा कमाउने गर्छन् । अरु व्यापारमा नाफा र नोक्सान दुबै हुन्छ कहिले सरसामान बिग्रेर, सामानको मुल्य थपघट भएर वा समयमा बिक्री नहुदां घाटा लाग्ने गर्छ तर यसमा यस्तो हुँदैन । सरकारी र गैरसरकारी सम्पूर्ण कार्य प्रणालीलाई भ्रष्टाचार जस्तो कुष्ठरोगबाट ग्रसित छ । अवस्था यस्तो छ कि अहिले इमान्दार व्यक्तिलाई आफ्नो जिम्मेवारी र काम गर्न गाह्रो छ अब हामी कुलमान घिसिंङ जीलाई नै हेर्न सक्छौं । उनले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक दिनरात मिहेनत गरी पुरा गर्दै थिए जुनकी बेइमान र भ्रष्टाचारीहरुलाई पचेन र उनलाई हटाइयो । हाम्रो चारैतिर भ्रष्टाचारीहरुको घेराबन्दी छ जसभित्र रहेर इमान्दारी मान्छेलाई काम गर्न सक्ने वातावरण नै हुदैंन् र बाध्यवश कि त इमान्दार मानिसलाई कुलमान घिसिङ सरह हट्छन् भने कोही आफ्नो आवश्यकता र आफुमाथि रहेका आफ्नो परिवारका जिम्मेवारी र पुरा गर्नुपर्ने दायित्वको बोझ तल दबेर त्यही भ्रष्ट कार्य प्रणालीका हिस्सा भइहाल्छन् ।

चुनौती
भ्रष्टाचारले चारैतिर यसरी जरो गाडिसकेछ कि अहिले भ्रष्टाचार मुक्त निकाय र समाजको कल्पना गर्नु सबभन्दा ठूलो चुनौती बनिसकेछ । समाजले पनि बिना मिहेनत गरी कुनै आर्थिक लाभ भइरहेछ भने त्यो फाईदा लिनुमा नै बुद्धिमानी ठानेर भइरहेको भ्रष्टाचार विरुद्ध आवाज उठाउँदैनन् । संघसंस्थाले समाजलाई सानोतिनो सहयोग गरेर पुरै अपाङ्ग नै बनाई दिइसके छन् । टाठाबाठा र अवसरवादीहरुको हालीमुहाली छ वास्तवमा समस्यामा परेका व्यक्तिहरु सेवासुविधाबाट बंचित छन् । अहिले कुनै पनि निकाय संघसंस्थामा आफ्नो इच्छा अनुसार आफ्नो काम सहजै र छिटो गराउन स्वयं समाजले नै घूस लिने दिने, नातावाद, कृपावाद र दलवाद जस्तो कुप्रथालाई अंगालेका छन् जुनकि सबभन्दा ठुलो चनौतीको रुपमा विद्यमान छ ।

सिकाइ र आशातित उपलब्धि
भ्रष्टाचारको बलियो जग रहेका निकाय र परनिर्भरतालाई भाग्य ठान्ने समाजलाई भ्रष्टाचार मुक्त, स्वाभिमानी र स्वनिर्भर हुन समय लाग्नेछ । सबैले आ आफ्नो स्तरबाट पहल गरे एक न एक दिन अवश्य हाम्रो समाज सबल र स्वनिर्भर हुनेछ साथै भ्रष्टाचार पनि घट्नेछ ।

गर्नुपर्ने पहल
समाजलाई सबल स्वनिर्भर र स्वाभिमानी बनाउन उनीहरुलाई उनको शक्ति, दक्षता, क्षमता र योग्यताको पहिचान गराउनुका साथै समाजमा शिक्षाको महत्व बुझाउनुपर्छ । जब बढी संख्यामा मानिस शिक्षित हुन्छन् भने उनीहरुले गलत र सही कार्य बीचको फरक बुझेर गलतको विरोध र सहीको समर्थन गर्न सक्छन् । भ्रष्टाचार लाई मेटाउन सबैले आ आफ्नो स्तरबाट पहल गर्नुपर्छ । बच्चाहरुलाई सानै देखि नैतिकवान बनाउन अभिभावकले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । शैक्षिक संस्थानहरुले पनि शिक्षाको व्यावसायिकरण गर्नु हुँदैन । कसैले भ्रष्टाचार गरेमा समुदायले त्यसको खुलेर विरोध गर्नुपर्छ इमानदार मानिसलाई इमानदारी साथ काम गर्ने गराउने वातावरण सृजना गर्न सहयोग गर्नुपर्छ ।

परिकल्पना
जब सबैले आ आफ्नो जिम्मेवारी पूर्ण निष्ठाका साथ निर्वाह गर्छन् भने एउटा सभ्य समाजको निर्माण हुनेछ । अभिभावकले शिक्षाको महत्व बुझेर आफ्ना छोरा र छोरी दुबैलाई समान र उच्च शिक्षा दिलाउने छन् । छोरार छोरी दुबैले शिक्षा हासिल गरे समाजमा शिक्षाको समान प्रवाह हुनेछ । समुदाय नै शिक्षित भए उनीहरुले सही गलत बीच फरक छुट्याएर सही कार्यको समर्थन र गलत कार्यको विरोध गर्नेछन् । जसले गर्दा समाज र सिस्टमबाट भ्रष्टाचार, दलाली, चाकडी, नातावाद र कृपावादको जरो उखेलेर फालिन्छ । इमान्दारी, दक्षता, क्षमता र योग्यताको कदर गरिनेछ । देश विकासको दिशामा अगाडि बढ्नेछ । देशबाट भ्रष्टाचार र भ्रष्टाचारीको अस्तित्व समाप्त भइ सभ्य, स्वाभिमानी स्वनिर्भर र विकसित समाजको सृजना हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया