बालबिबाह विरुद्ध कार्यविधि बनाउँदै नेपालगन्ज

बाँकेका सबै जसो स्थानीय तहमा बाल विवाहको समस्या जरोका रुपमा रहेको छ । आमा बुबाको सहमति तथा आपसी प्रेमका कारण कानुनले तोकेको समय अघि नै बालविवाहका प्रशस्त घटना पाइन्छन् । पछिल्ला दिन बाल क्लब, किशोरी क्लब बालविवाह विरुद्ध सक्रिय भएपछि कतिपय बाल विवाहका घटना प्रहरीको सहायतामा रोकिएका छन् । बाल विवाहका घटना कमै मात्र मुद्दा प्रक्रियामा जाने गरेका छन् । कतिपय अभिभावकले बाल विवाह रोकिएपछि भारत लगेर विवाह गरिदिने गरेको पनि घटना बाँकेमा फेला पर्ने गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले बालबिबाह विरुद्ध कार्यविधि बनाउने भएको छ । संघ, संस्थाहरुसँगको समन्वयमा उपमहानगरपालिकाले कार्यविधि बनाउन छलफल तथा अन्तरक्रिया गरिरहेको छ ।

बाल विवाह मुक्त वडा घोषणा कार्यविधि मस्यौदामा छलफल गर्न उपमहानगरपालिकाका कर्मचारी, कार्यपालिका सदस्यहरू सँगै सहयोगी संस्था प्लान नेपाल र स्याक बाँके पहल गरिरहेको छ । उपमहानगरपालिकाले बालबिबाह विरुद्ध कार्यविधि बनाउन बुधबार र बिहीबार छलफल गरेको छ । बुधबार छलफलमा उठेका विषयमा बिहीबार पनि छलफल गरिएको उपमहानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले जानकारी दिएकी छन् । ‘कार्यविधिलाई अन्तिम टुंगो लगाएका छौं, अब पास गर्न बोर्ड बैठकमा लगिने छ’, उनले भनिन् ।

महिला तथा बालबालिका शाखा प्रमुख शाहले नेपालगन्जमा पनि बाल विवाह समस्याका रुपमा रहेको बताउँछिन् । पछिल्ला दिन बाल विवाह विरुद्धको सचेतना, कानुनी व्यवस्था, स्थानीय क्लब तथा सञ्जालको सक्रियताले बाल विवाह रोकिंदै गएको शाह बताउँछिन् ।

महिला तथा बालबालिका शाखा प्रमुख शाहले कार्यविधिमा जनचेतना तथा कारवाही तथा संरक्षणको विषय समावेश भएको बताउँछिन् । ‘अभिभावक, किशोर, किशोरीलाई सम्झाउने, पुनस्र्थापनामा सघाउने लगायतका विषय कार्यविधिले निर्देशित गर्नेछ’, उनले भनिन् ।

उमेर नपुगी प्रेम विवाह गर्ने अधिकांसले नबुझेर नै गरेका हुन्छन् । कम उमेरका छोरा, छोरी भागी विवाह गरेमा परिवारले इज्जत गएको सोंच्ने, पुनः घरमा फर्काउन तथा अध्ययनलाई निरन्तरता दिन अप्ठ्यारो मान्ने समस्या हुने गरेको महिला विकास अधिकृत शाह बताउँछिन् । ‘त्यसैले सम्झाउने, कानुनी कारवाही गर्ने तथा पुनस्र्थापनाका लागि व्यवस्था मिलाउने सम्मका कार्य गर्ने सोंचमा छौं’, उनले भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया