अभावले गुणस्तरमा वेवास्ता, मल र बीउ भन्सार छलेर भारतबाट

प्रहरीले समात्यो भन्सार छलेको मल, बीउ

नेपालमा प्रत्येक बर्ष किसानले मल र बिउको अभाव व्यहोर्ने गरेका छन् । गत बर्ष पनि खेतीको समयमा बाँकेमा कहिले यूरिया त कहिले डिएपी मलको समस्या रह्यो । अहिले पनि मल किसानले चाहे अनुसार उपलब्ध भैरहेको छैन । गत बर्षसम्म कृषि सामाग्री कम्पनी लिमिटेडले सहकारीमार्फत मल वितरण गर्दै आएको थियो । यो बर्ष स्थानीय तहको सिफारिसमा मात्रै मल वितरणका लागि सहकारीले कोटा पाउने गरेको छन् । तर, जति मल आउँछ त्यसले किसानलाई पुग्दैन ।


मल त बाँकेमा उपलब्ध हुने गरेको छ । तर, आवश्यकताका बेला आवश्यक परेको मल किसानले विगतदेखि नै चाहे अनुसार पाउन सकेका छैनन् । किसानले आफ्नो देशमा मल नपाएपछि भारत जान बाध्य हुन्छन् । भारतबाट आउने मलको गुणस्तर कम्पनी पिच्छे फरक हुन्छ । त्यसको असर उत्पादनमा पर्छ । भारतबाट मल ल्याउन पनि किसानलाई सहज छैन । एक÷दुई बोरा मल ल्याउने किसान प्रहरी फन्दामा पर्ने गरेका छन् । कानुन विपरित मल ल्याएकाले प्रहरीले मल खोसेपनि मानिस फरार भएको भन्दै छाडिदिने गरेको छ ।


कृषिमा निर्भर रहेको देश भनिएपनि तीन तहकै सरकारले किसानका लागि मल र बिउ समयमा उपलब्ध गराउन सकेका छैनन् । कृषिका लागि तीन तहकै सरकारले योजना बनाउँछन् । तर, झन्झटिलो प्रक्रिया, टाठाबाटाको हातमा मात्रै उक्त बजेट जाँदा वास्तविक किसान वञ्चित भएको पटकपटक समाचार प्रकाशमा आउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल नेपालमै दर्ता भएका वा सिफारिस भएका बिउ मात्र प्रयोग गर्न किसानलाई सुझाउँछन् । ‘विगतमा भारतबाट ल्याएका धेरै बिउ गुणस्तरहीन पाइएको छ, जसले किसानले गरेको मेहनत खेर गएको छ’, उनले भने । ढकालले नेपालमा दर्ता भएका बिउबाट ठूलो परिणाममा उत्पादन नभए नेपालमै राहतका लागि सरकार सँग अनुरोध गर्न सकिने बताउँछन् । विगतमा गरिमा धानको बिउ गुणस्तरहीन हुँदा उत्पादन नहुँदा ज्ञान केन्द्रले नै राहतका लागि सिफारिस गरेको थियो । भारतबाट बिउ ल्याएर उत्पादन गर्दा उत्पादन नभए त्यसको राहत तथा क्षतिपूर्तिका लागि लड्ने अवस्था भने छैन ।


जानकी गाउँपालिकाका किसान गंगा प्रसाद काँदु मल र बीउको सहज उपब्धता नहुँदा किसान भारत जान बाध्य हुने गरेको बताउँछन् । ‘बिउ भारतमा भन्दा नेपालमा महंगो छ, मल त चाहेको समयमा पाइँदैन, अनि भारतबाटै भएपनि ल्याउनु पर्छ’, उनले भने । किसान काँदु कतिपय बिउ गत बर्ष किसानले खेतीका बेला नपाउँदा भारत जानु परेको बताउँछन् ।


कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकाल यस बर्ष मलको समस्या देखिएपनि बिउको भने समस्या नपाएको बताउँछन् । गत बर्ष लकडाउनका कारण केही कृषि उपजको बीमा समस्या भएपनि यसबर्ष समस्या नभएको उनको दाबी छ । ‘नेपालमै सिफारिस वा दर्ता भएका मल र बीउ किसानले प्रयोग गर्नु उचित हुन्छ’, उनी भन्छन् ।


किसान हरिश यादव चमसुर र पालकको बीउ नेपालमा नपाएको बताउँछन् । प्याजकै बीउको सन्दर्भ उल्लेख गर्दै भारत भन्दा नेपालमा दोब्बर महंगो रहेको बताउँछन् । उनी मल नपाएपछि भारत बाध्यता भएको बताउँदै त्यसविरुद्ध प्रहरी कारवाही प्रति आक्रोश व्यक्त गर्छन् । ‘यही सस्तो, गुणस्तरीय मल, बीउ पाउने हो भने किसानलाई भारत जाने रहर हुँदैन’, उनले भने ।
बिना भन्सार मल बिउ नेपाल ल्याउन पाइँदैन । तर, पनि सीमावर्ती क्षेत्रका किसानले सस्तो र उपलब्धताको अभावमा भारतबाट तस्करी गरी ल्याउने गरेको छन् । नेपालमा उपलब्धताको अभावमा व्यवसायीहरुले समेत तस्करी गरी मल, बीउ क्यारिङ्ग मार्फत भित्र्याउने गरेका छन् ।

बुधबार मात्रै बाँके प्रहरीले काँक्रो, लौका, फर्सीको बिउ अवैध रुपमा भित्र्याएको फेला पारेर नियन्त्रणमा लिएको छ । अबैध रुपमा भन्सार छली ल्याउदै गरेको बिउ बिजन सहित जानकी गाउँपालिका–१ को बाट मिथलेस लोधलाई प्रहरीले पक्राउ गरी भन्सार बुझाएको हो । प्रहरीले लोधबाट काँक्राको बिउ ९८६ पत्ता, लौकाको बिउ ६७३ पत्ता, फर्सिको बिउ ९१ पत्ता बरामद गरेको हो । जसको मूल्य १ लाख १ हजार ७ सय ५० रुपैयाँ अनुमान प्रहरीले गरेको छ । प्रहरीले डुडुवा गाउँपालिका १ बाट सोमबार वेवारिसे अवस्था रहेको ६ बोरा मल खाद्य (५० केजी प्रतिबोरा) बरामद गरेको छ । प्रहरीलाई देखेपछि मल ल्याउने भागेका थिए । स्थानीयका अनुसार उनीहरु क्यारिङ्ग गर्ने वा किसान हुन् भन्ने चाहि एकिन हुन सकेन ।

प्रतिक्रिया

प्रतिक्रिया