नेकपा विभाजित

नेकपा एमाले र माओवादी मिलेर बनेको सत्तारुढ दल नेकपा तीन वर्षमै अन्ततः विभाजित भएको छ । निर्वाचन आयोगमा छुट्टै दल दर्ता नभइसकेपनि मंगलबार बिहानैदेखि तीव्र रूपमा विकसित घटनाक्रमले नेकपाको राजनीतिक विभाजन औपचारिक रुपमै पूरा भएको हो ।
आफ्नै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएपछि प्रतिनिधिसभा गर्दै निर्वाचन घोषणा भएपछि नेकपा फुटमा पुगेको अनुमानलाई सार्थक बनाउदै त्यसलाई अगाडी बढाइएको छ । त्यसमा पार्टी वरिष्ठ उपाध्यक्ष बामदेव गौतम लगायतका केही नेता सहभागी भएनन् ।


एउटा पक्षले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको छ भने अर्काे पक्षले एकता महाधिवेशनको मिति तय गर्दै आयोजक समिति गठन गरेको छ । उक्त नेकपामा अब पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल दुई जना अध्यक्ष रहनेछन् ।


बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको बताइएको छ । उक्त कारबाहीलाई ओली पक्षले भने ‘हाँस्यास्पद’ भनेर टिप्पणी गरेको छ ।


मंगलवारनै प्रधानमन्त्री ओली पक्षले भने केन्द्रीय समितिमा पाँच सयभन्दा बढी सदस्य थप गर्दै आयोजक समिति बनाएको छ । मंगलवार केन्द्रीय समिति सदस्यहरूको भेलामा अध्यक्ष ओलीले सोमबारै ५ सय ५६ केन्द्रीय सदस्य थपेको जानकारी दिए । यसलाई आधिकारिकता दिन पुनर्गठित केन्द्रीय सदस्यको नामावली निर्वाचन आयोगमा दर्ता गराइसकिएको पार्टी प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । आफ्नो बैठकमा कसैलाई कारबाही नगरिएको ज्ञवालीले प्रष्ट पारे । दुबै बैठकमा एकले अर्कालाई कारबाहीका लहर चल्ने अनुमान गरिएका थिए ।


तत्कालिन नेकपा एमाले र माओवादी दुई पार्टी एक भएर नेकपा बन्दाताकाका ४४१ जना केन्द्रीय सदस्यमध्ये ३१५ जनाले भने मंगलबार काठमाडौंमा भएको छुट्टै भेलामा ओलीलाई पार्टी अध्यक्षबाट निष्कासन गर्ने निर्णयमा हस्ताक्षर गरेको दावी गरिएको छ । छन् । मंगलबार बालुवाटारमा भएको ओली समूहको भेलामा केन्द्रीय समितिका ४४१ मध्ये १ सय २६ सदस्य मात्र उपस्थित रहेको बताइएको छ ।


त्यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको समूहको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बाँकेका चार र बर्दियाका छ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् । बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य नन्दलाल रोकाय, प्रदेश सभा सदस्य बाबुराम गौतम, तत्कालिन संविधान सभा सदस्य देवराज भार र नेतृ शान्ति ढकाललाई ओली नेतृत्वको नेकपामा केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।

बर्दियाबाट प्रतिनिधि सभा सदस्य बिमला विक, तुलसा थापा, पूर्व सांसद श्याम ढकाल, युवानेता दामोदर अर्याल, भिम केसी, नेतृ शोभा ज्ञवाली केन्द्रीय समितिमा परेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया