विकास पथमा नरैनापुर, औद्योगिक ग्रामको तयारी

बाँकेको नरैनापुर गाउँपालिकामा औद्योगिक ग्राम बनाइने भएको छ । लुम्बिनी प्रदेश सरकारको घरेलु, साना तथा मझौला उद्योगमार्फत रोजगार सिर्जना गर्ने र क्षेत्रगत असन्तुलन कम गर्दै जाने नीति अनुरुप ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम स्थापना’ को कार्यक्रम अन्तर्गत बाँकेको नरैनापुरमा पनि औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अगाडि बढाइएको छ ।


कुनै बेला विद्युत तथा सडक पूर्वाधार नहुँदा विकट क्षेत्रको पहिचान फेर्दै गएको नरैनापुर अब औद्योगीकरण तर्फ पनि अगाडि बढ्ने भएको छ । विद्युतीयकरण भैरहेको नरैनापुरसम्म पुग्न हुलाकी सडक बनेको छ । लगत्तै औद्योगिक ग्रामको कार्य पनि अघि बढ्ने भएको हो ।
नरैनापुरमा औद्योगिक ग्राम स्थापनाका लागि डिपिआर यसै बर्ष गरिने घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारुले जानकारी दिएका छन् ।


नरैनापुर गाउँपालिकाको वडा नं. ४ मा औद्योगिक ग्रामको तयारी भैरहेको हो । त्यहाँ झण्डै ५० विगाह जग्गा औद्योगिक ग्रामका लागि व्यवस्थापन गर्न सकिने अनुमान रहेको प्रमुख उद्योग अधिकृत थारुले जानकारी दिएका छन् । चालु आ.व.मा डिपिआरका लागि १५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ । ‘डिपिआर पछि निर्माणका लागि थप स्रोत उपलब्ध हुनेछ’, उनले भने ।

नरैनापुरमा औद्योगिक निर्माण स्थलको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख उद्योग अधिकृत थारु लगायतले अनुगमन गरेका छन् ।


औद्योगिक ग्राम निर्माण भएपछि स्थानीय स्तरमा उद्योग स्थापना सहज हुने विश्वास गरिएको छ । औद्योगिक ग्राममा उद्योग स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधारहरु पनि निर्माण हुनेछन् ।
गत बर्ष बाँकेको खजुरामा औद्योगिक ग्रामका लागि डिपिआर भई निर्माण सुरु भैसकेको छ । केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो । गाउँपालिका वडा नं. ६ मा ३१ करोड ३० लाख २१ हजार ४७३ को लागत अनुमानमा निर्माण थालिएको औद्योगिक ग्राम अन्र्तगत पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागत अनुमानमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको छ । २१ विगाह क्षेत्रफलमा तीन बर्षभित्र खजुरामा औद्योगिक ग्राम निर्माण सक्ने लक्ष्य राखिएको छ ।

गाउँमै सिप सिक्दै युवा

बाँकेको नरैनापुर गाउँपालिकामा हालै विद्युतीकरण भएको छ । विद्युतीकरण सँगै विद्युत सम्बन्धी काम गर्ने रोजगारीको अवसर पनि सिर्जना भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बाँकेले नरैनापुरमा देखिएको रोजगारीको अवसर स्थानीय युवाले नै पाउन् भन्ने उद्देश्यले दुई महिने हाउस वायरिङ्ग तालिम दिइरहेको छ ।


घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारुले नरैनापुरमा विद्युतीकरण सँगै हाउस वायरिङ्ग गर्ने जनशक्ति आवश्यक रहेकाले सोही अनुसार तालिम सुरु गरिएको जानकारी दिएका छन् । ‘१५ जनालाई तालिम दिन लागेको हौं’, उनले भने ।
घरेलुले नेपालगन्जमा १० जनालाई ब्यूटिसियन तालिम, कोहलपुरमा फेसन डिजाइन तालिम १० जनालाई दिइरहेको छ । साथै चालु आ.व.मा नै बैजनाथमा चिसापानीमा १५ जना मुढा बनाउने तालिम दिइने प्रमुख उद्योग अधिकृत थारुले बताएका छन् ।


राप्तीसोनारीमा वडा नं. ६ र ७ मा जना १० जनालाई प्राकृतिक रेशाजन्य वनस्पतिबाट झोला, टोपी बनाउने तालिम चालु आ.व.मा दिइसकिएको थारुले बताए । ‘स्थानीय आवश्यकता, सम्भावना हेरेर तालिम दिइने गरेको हो’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया