एक दशकमा ४० लाख विदेशिए

दश बर्षमा ४० लाख नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । त्यसबाहेक पनि लाखौं नेपाली भारत लगायत तेस्रो मुलुक पुगेका छन् । जसको एकिन तथ्यांक भने छैन । गत बर्ष कोरोनाको महामारी भएपछि नेपालबाट विदेशिनेको संख्या ह्वात्तै कमी आएको छ भने फर्किनेको संख्या बढी रहेको छ ।


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ का अनुसार, पछिल्लो दश वर्षमा मात्रै ४० लाख नेपालीहरु श्रम गर्न वैदशिक रोजगारीमा गएको उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म १ सय ३२ भन्दा बढी देशमा नेपाली श्रमिकहरु श्रम गर्न पुगेका छन् । सन् २०१८÷१९ मा सरदर २ लाख बढी नेपाली श्रम स्वीकृति लिएर विदेशिने गरेको मन्त्रालयको तथ्यांक रहेको छ । सन २०१८/१९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या २ लाख ३६ हजार २ सय ८ जना छ । त्यसअघि सन् २००८ देखि २०१४ सम्म बार्षिक पाँच लाख नेपाली श्रमिक विदेशिएका छन् ।


वैदेशिक रोजगारीमा जानेहरुमध्ये ८८ प्रतिशत मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा रहेको पाइएको छ । ८० प्रतिशत भन्दा बढी १८ देखि ३५ वर्ष उमेर समुहका मानिसहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यस्तै सन २०१८÷१९ मा ५९ प्रतिशत अदक्ष श्रमिकहरु वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये ९१ प्रतिशत पुरुष र ९ प्रतिशत महिला रहेका छन् । प्रतिवेदनले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि दिर्घकालिन उद्देश्यसहित स्पस्ट धारणा बनाउनुपर्ने, स्थानीय र प्रदेश तहलाई समेत समेटनेगरी उच्च स्थरीय समिति निर्माण गर्नुपर्ने, त्यस्तै समाजिक सुरक्षा र मतदानको अधिकार दिने लगयतका सुधारका कार्यहरु गर्नुपर्ने आवश्यकता औंल्याएको छ । त्यस्तै आन्तरिक र वैदेशिक रोजगारीको विषयवस्तुलाई एक अर्काका परिपूरकको रुपमा स्थापित गरी व्यवस्थित गर्नुपर्ने, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नति गरी प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

कोभिडका कारण भारत लगायत तेस्रो मुलुकबाट लाखौं नेपाली स्वदेश फर्किए । तर, उनीहरुले यहाँ रोजगारीको अवसर नदेखेपछि पुनः जोखिम मोलेर विदेशिन थालेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया