बाँके, बर्दियामा आत्महत्याको डरलाग्दो तथ्यांक

बर्दियामा आत्महत्याको डरलाग्दो तथ्यांक आएको छ । भनिन्छ, जीवन अमूल्य छ । तरपनि मानिसहरु आफ्नै ज्यान आफैले लिइरहेका तमाम उदाहरणहरु हामीले पाउन सक्छन् । बर्दियामा तीन बर्षको प्रहरीको तथ्यांक हेर्ने हो भने जिउन भन्दा मृत्युलाई सहज मानेर २ सय ९८ जनाले आफ्नै ज्यान लिएका छन् ।


मानसिक तनावको सही ढंगले व्यवस्थापन गर्न नसक्दा नै मानिसहरुले मृत्यु अंगाल्ने गरेको पाइन्छ । चिकित्सकहरुका अनुसार, समयमै मानसिक स्वास्थ्यको उपचार गर्ने हो भने धेरैलाई आत्महत्याबाट जोगाउन सकिन्छ । तनावलाई भित्रभित्रै घुम्स्याउने र कसैलाई नभन्ने गर्दा पनि समयमै उपचारसम्म परिवारले पुर्याउन सक्दैनन् । यसले गर्दा आत्महत्याबाट ज्यान गुमाउने घटनाहरु हुने गरेको चिकित्सकहरुको बताउँछन् ।


जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्यांक अनुसार, आ.व. ०७५÷०७६ मा १ सय ९ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ५९ पुरुष र ५० जना महिला रहेका छन् । आ.व. ०७६÷०७७ मा १ सय ४२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ८२ पुरुष र ६० महिला रहेका छन् । आ.व. ०७७÷०७८ मा ४७ जनाले आत्महत्या गरेका छन् । जसमध्ये महिलाको संख्या २५ र पुरुषको संख्या २२ रहेको छ ।


बाँकेमा पनि आत्महत्या गर्नेको संख्या ठूलै रहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, आ.व. ०७४÷०७५, ७५ जनाले आत्महत्या गरेका छन् । जसमा विष सेवन गरी आत्महत्या गर्नेमा ३१ र झुण्डिएर आत्महत्या गर्नेको संख्या ४४ रहेको छ । आ.व. ०७५÷०७६ मा विष सेवन गरी २० र झुण्डिएर आत्महत्या गर्नेको संख्याको ४३ रहेको प्रहरीको तथ्यांक रहेको छ । तुलनात्मक रुपमा आ.व. ०७५÷०७६ आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । प्रहरीका अनुसार, उक्त आ.व.मा १० जनाले विष सेवन गरी र ३९ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
डिप्रेसन सबैलाई हुने र सामान्य खालको समस्या हो । शरीरमा रुघाखोकी लागेजस्तै डिप्रेसन सामान्य मानसिक समस्या हो । परिवारले बुझ्न नसक्दा, भन्न नसक्दा परिवारसँग सहयोग माग्न नसक्दा यो बढ्दै जाने हो । व्यक्तिलाई भने डिप्रेसन भएको थाहा हुन्छ । डिप्रेसन भएको व्यक्तिमा निन्द्रा लाग्नु, निरास हुनु, नकारात्मक सोच आउनु, खाना खान मन नलाग्नु, झर्काे लाग्नु, गर्दै आएको काम छोड्नु, पहिला सजिलो लागेको काम पछि गाह्रो लाग्न थाल्नु, यो जिन्दगीमा केही पनि गर्न सकिएन भन्ने नकारात्मक कुरा सोच्दै जानु डिप्रेसनका लक्षण हुन् । यो समयमा परिवारको साथ पाएन भने मात्रै अन्तिम अवस्थामा आत्महत्या गर्ने चिकित्सकहरु बताउँछन् ।


डिप्रेसनमा जानुका अनेक कारणहरु रहेका छन् । पारिवारिक कलह, प्रेममा असफलता, दीर्घरोग, लागुऔषध सेवा लगायतका रहेका छन् । बाँकेमा गत आ.व.मा ०७५÷०७६ मा आत्महत्या गरेकाहरुको विवरण हेर्दा आत्माहत्याको सबैभन्दा बढी कारण पारिवारिक कलह देखिएको छ । उक्त आ.व.मा पारिवारिक कलहका कारण १८ जनाले आत्महत्या गरेका छन् । प्रेम सम्बन्धमा कारण आत्महत्या गर्ने २, आवेसमा आएर आत्महत्या गर्नेको संख्या १, गरिबीका कारण ४, तनावका कारण ३, दिर्घरोगका कारण ८ जनाले आत्माहत्या रहेका छन् ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो आँकडा अनुसार, हरेक १० जनामा ४ जनामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको र २०३० सम्ममा त्यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनको पूर्वानुमान रहेको छ । मानसिक रोग लागेमा समाजबाट तिरस्कृत हुने डरले पनि मानसिक रोग लुकाउने गरेको मनोविद्हरुले बताउने गर्दछन् । आत्महत्याको बारेमा कुराकानी गर्ने, समयमा नै उपचारमा ल्याई मनोपरामर्श सेवा गर्ने, आत्म हत्या तथा मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतना जगाउने क्रियाकलापहरु संचालन गरेर आत्महत्याको अधिकांश घटनालाई रोकथाम गर्न सकिने चिकित्सकहरुले बताएका छन् ।


चिकित्सकहरु विभिन्न वादविवाद, तनाव, संयमताको अभाव, मनोबल खस्नु, धोका लगायत कारणलाई आत्महत्याको कारण रहेको बताउँछन् । युवाहरुले आवेगमा आफ्नो संयमता गुमाउँदा आत्महत्या सम्मको निर्णयमा पुग्ने गरेको चिकित्सकको भनाइ छ । चिकित्सकहरु आत्महत्या मानसिक रोगको रिजल्टका रुपमा चित्रण गर्दछन् ।

व्यक्तिले मनभित्र भएको तनाव व्यक्त गर्न नसक्दा पनि आत्महत्याको निर्णयमा पुग्ने गरेको चिकित्सकको धारणा छ । ‘समस्या भन्ने अवस्था नहुनु वा त्यसको बेलैमा समाधान नहुनु पनि आत्महत्याको प्रमुख कारण मध्ये हो,’ प्रहरी अधिकारी भन्छन्, ‘यो अहिलेको समयमा ठूलो समस्याको रुपमा देखा परेको छ ।’


आत्महत्या एकैचोटी हुने घटना नभएको प्रहरी अधिकारी बताउँछन् । ‘निरन्तर तनाव र आफुले त्यसलाई थेग्न नसक्ने निर्णयमा पुगेपछि आत्महत्या रोजेको हुनसक्छ’, प्रहरी अधिकारी भन्छन् । कतिपय आत्महत्याका घटनामा सुसाइड नोटहरु पनि फेला पर्छन् । जसमा आत्महत्याको निर्णयमा पुग्नुको कारण समेत उल्लेख गरिएको पाइन्छ । कहिलेकाहीँ ‘रिसको झोंक’मा एक्कासी आत्महत्या गरेको घटना समेत फेला पर्ने गरेको छ । ‘स–साना कारणमा पनि आत्महत्या गरेको पाइएको छ’, प्रहरी भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया