पीसीआर घट्यो, संक्रमित घटे !

बाँकेमा पछिल्ला दिनमा पोजेटिभ फेला पर्ने क्रम कम हुँदै गएको छ । देशभर पनि संक्रमितको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । पोजेटिभको संख्या घटे पनि कोरोना नियन्त्रणमा आइरहेको भन्न सकिने अवस्था छैन । किनभने पछिल्ला दिन जिल्ला होस् वा देशभर कोरोनाको पीसीआर टेष्ट घट्दै गएको छ ।


यसअघि रेन्डम सेम्पलिङ्ग, जोखिममा रहेका समूहको परीक्षण, विभिन्न समूहमा परीक्षण गर्दा पोजेटिभको संख्या बढ्दै गएको थियो । तर, पछिल्ला दिनमा त्यस्ता परीक्षण बन्द गरिएका छन् । कन्ट्याक्ट टे«सिङ्ग पनि पहिलो जस्तो गर्न छाडिएको छ । त्यसैका कारण पनि संक्रमित घटेको अनुमान स्वास्थ्य क्षेत्रका अधिकारीहरुले गर्दै आएका छन् ।


बाँकेमा सोमबार १ सय ४२, आइतबार ७५, शनिबार १ सय ४६ स्वाब परीक्षणका लागि अस्पताल पुग्यो । शनिबार १०, आइतबार ८ र सोमबार २० जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको तथ्यांक रहेको छ । यसअघि जिल्लामा दैनिक ३ सयसम्म स्वाब परीक्षणका लागि संकलन हुने गरेको थियो । सुरुमा भेरी अस्पताल नेपालगन्जमा मात्रै कोरोना परीक्षण हुने गरेपनि हाल शिक्षण अस्पताल कोहलपुर र बागेश्वरी ल्याब कोहलपुरमा पनि कोरोनाको परीक्षण हुँदै आएको छ ।

देशभर पनि कोरोना परीक्षणको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । दैनिक १० हजार बढी परीक्षण हुने गरेकोमा आइतबार स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४२३ जनामा गरिएको परीक्षणमा ८२१ जनामा संक्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शङ्का र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले संक्रमित दर घटेको बताउँछन् । उनका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन् ।


सोमबारसम्म देशभरी संक्रमितको अवस्था दुई लाख ४९ हजार २४४ जना पुगेको छ । सोमबारसम्म कोरोना संक्रमितमध्ये २७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमध्ये प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा आठ जना, वाग्मती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा पाँच जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन् । भेन्टिलेटरमा प्रदेशन नं १ मा तीन जना, प्रदेश नं २ मा एक जना, वाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा तीन जना रहेका छन् । सङ्क्रमितमध्ये सात हजार ३४० जना होमआइसोलेशनमा छन् ।

८४२ निको
संक्रमितमध्ये सोमबार ८४२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको भई घर फर्किनेको दर ९४.९ प्रतिशत रहेको छ । नेपालमा निको हुने दर पनि बढेको छ । यसअघि यही मङ्सिर २६ गते निको हुने दर ९४.४ रहेको थियो । अहिलेसम्म निको हुनेको संख्या दुई लाख ३८ हजार ५७३ जना रहेको छ ।


१८ जनाको निधन
संक्रमणबाट बितेको २४ घण्टामा १८ जनाको निधन भएको छ । आज निधन भएकासँगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या एक हजार ७१६ जना पुगेको छ । नेपालमा संक्रमितमध्ये ०.६८ प्रतिशतको निधन हुने गरेको छ । अहिलेसम्म प्रति १० लाखमा ५८.८ जनाको निधन भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया