आन्तरिक विवादमा रुमल्लियो सरकार : बाँके काँग्रेस

नेपाली काँग्रेस बाँकेले सरकारले भ्रष्टाचार, आपराधिक घटना नियन्त्रणमा लिन नसकेको आरोप लगाएको छ । सोमबार नेपालगन्जमा विरोध प्रदर्शन गरेको काँग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके अगाडि सभाको आयोजना गर्दै सरकार गतिविधिहरुबारे प्रश्न उठाएको हो ।
नेपाली काँग्रेस बाँकेका अध्यक्ष किरण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अधिकांस काँग्रेस नेताले सरकार आन्तरिक विवादमा फसेको, सही ढंगले सरकार सञ्चालन गर्न नसकेको, आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको, जन चाहनालाई वेवास्ता गरेको तथा काँग्रेस विरुद्ध दमनकारी नीति लिएको आरोप लगाएका थिए ।


कार्यक्रममा बोल्दै काँग्रेस बाँके सभापति किरण कोइरालाले सरकारले आपराधिक घटना नियन्त्रणमा लिन नसकेको बताएकी थिइन् । ‘महिला हिंसा तथा भ्रष्टाचार बढेको छ’, उनले भनिन्, ‘तर, सरकारले त्यसलाई हल्का रुपमा लिएको छ ।’ सभापति कोइरालाले निर्मला हत्याकाण्ड, सुनकाण्ड, विभिन्न खालका भ्रष्टाचारका विषयमा दोषीलाई कारवाही सरकारले गर्न नसकेको, आफै भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएकी थिइन् ।

कोरोना संक्रमणको जोखिमका बेला सरकारले नागरिकको स्वास्थ्य सुरक्षा गर्न नसकेको सभापति कोइरालाले बताएकी थिइन् । कोभिडका बहानामा स्वास्थ्य सामाग्री भ्रष्टाचार भएको, उपचारमा वेवास्ता गरिएको आरोप कोइरालाको थियो ।


सभापति कोइरालाले सरकारको आडमा प्रहरी, प्रशासनले काँग्रेस नेता, कार्यकर्तालाई झुठ्ठा मुद्दामा फसाउँने, विरोध प्रदर्शनलाई नियन्त्रणमा लिने, अनावश्यक दुःख दिने काम गरिरहेको बताउँदै त्यसो नगर्न चेतावनी पनि दिएकी थिइन् । उनले सरकारले जनता तर्साएर सरकारले शासन चलाउन खोजेको आरोप समेत लगाइन् ।


काँग्रेस सभापति कोइरालाले नेपाली काँग्रेस प्रजातन्त्र र लोकतन्त्रका लागि २००७ सालदेखि लड्दै आएको उल्लेख गर्दै जन विरोधी सरकार विरुद्ध जस्तोसुकै आन्दोलनका लागि तयार रहेको बताइन् । उनले काँग्रेस शान्तिको चाहना राख्ने पार्टी भएकाले सरकारको दमनकारी कार्यहरु विरुद्ध शान्तिपूर्ण आन्दोलन सुरु गरेको बताइन् ।

प्रदेश सभा सदस्य सुरेन्द्र हमालले काँग्रेस सडकमा उत्रदा विगतमा निरंकुश तन्त्र ढलेको उल्लेख गर्दै जनताका अधिकारका लागि पुनः काँग्रेस सडकमा आउन बाध्य भएको बताएका थिए । उनले विकास निर्माण तथा कोभिड विरुद्ध सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


नेपाल विद्यार्थी संघ बाँकेका सभापति पूर्ण प्रसाद आचार्यले सरकारले जन भावना अनुसार काम गर्न नसकेको बताएका थिए । उनले सरकारले सडक र संसदलाई बन्धन बनाएको आरोप लगाएका थिए । सभापति आचार्यले धर्म, संस्कृति र राष्ट्रियताको रक्षा वर्तमान सरकारले गर्न नसकेकाले त्यसविरुद्ध काँग्रेस उत्रनु परेको धारणा राखेका थिए ।


काँग्रेस क्षेत्रीय सभापति माधवराम खत्रीले शान्तिपूर्ण विरोध प्रदर्शनका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेकाले अब त्यसविरुद्ध प्रतिकार गरिने बताएका थिए । सभापति खत्रीले कृषकले मल, बिऊ नपाएर छट्पटिएको अवस्थामा सरकारले उनीहरुको समस्या बुझन् नसकेको बताएका थिए ।


काँग्रेस नेता रमेश कुमार गुप्ताले सरकार असफल भएको आरोप लगाएका थिए । उनले आन्तरिक द्वन्द्वका कारण वर्तमान सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको आरोप लगाएका थिए । गुप्ताले तस्करी, बिचौलिया र दलाल हाबी भैरहेको र उनीहरुलाई सरकारले नै संरक्षण गर्दै आएको आरोप लगाए ।


तत्कालीन संविधान सभा सदस्य आशा विकले काँग्रेसले जनताका लागि शान्तिपूर्ण आन्दोलन गर्ने बताइन् । बाँकेमा औद्योगिक क्षेत्रका लागि जग्गा लिइने भन्दै बसोबास गरिरहेका सुकुम्बासीलाई जबर्जस्ती हटाउन खोजिएको भन्दै उनले त्यसको प्रतिकार गर्ने चेतावनी दिइन् ।


कार्यक्रमका वक्ताहरुले सरकारी कार्यालयमा सेवा लिंदा जनतासँग अवैध रुपमा रकम असुली भैरहेको आरोप लगाएका थिए । उनीहरुले भ्रष्टाचार बढिरहँदा पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको आरोप लगाए । स्थानीय तहमा समेत भ्रष्टाचार मौलाउँदै गएको भन्दै काँग्रेस नेताहरुले चिन्ता व्यक्त गरेका थिए ।

काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको र्याली नगरका विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय बाँके अगाडि पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया