
पृष्ठभूमि
जसरी अनेक असजिलाबाट जीबनले बाँच्ने प्रयास गरिरहेको हुन्छ । त्यसरी नै बाँच्ने कला पनि हिंडिरहेको हुन्छ । साहित्यमा जीवनको प्रतिबिम्ब तब थाह हुन्छ, जब यी बाध्यात्मक कलाहरु वा भोगाईहरु कुनै साहित्यकारले साहित्यका पानाहरुमा उतार्दछ । अर्थात अबको साहित्य कोरा भावुकता र कल्पना भन्दा माथि उठेर यथार्थ र विश्वासनीय नभएसम्म साहित्यका पाठकहरुले मन पराउने छैनन् । हुनात चिन्तनको क्षेत्र पनि आफैमा व्यापक छ । जहाँ जुन क्षेत्रमा भएपनि पत्र—पत्र चिन्तन गर्न सक्यो भने त्यसको आफ्नै महिमा हुन्छ । न्यूटनले एक दाना स्याउ माथि नै चिन्तन गरि गुरुत्वार्कषणको सिद्धान्त पत्ता लगाएका हुन् । सामान्य विषयवस्तुलाई पनि पृथक सोचको बैभिन्यतामा आफ्नो बौद्धिक धरातललाई माथि उठाएर “कुटी” लाई जन्म दिएर साहित्यकार मणि रत्न अर्यालले नेपाली साहित्यमा एउटा इट्टा थपेका छन् । सर्जकले आफ्नो कुटीमा निजानुभूतीले समाज र देशलाई परिभेश अनुसार छोएका छन् । विषयवस्तु,सन्दर्भ,वुँदा पाठकको इच्छाअनुसार जे जस्ता होउन् विविधता र वहुलताको समन्वय द्धावारा यिनले निजनात्मक वौद्धिक मार्ग तयार गरेको प्रतित हुन्छ ।
कुटी चर्चा
यूरेका पब्लिकेशन काठमांडौ द्धारा वि.स. २०७७ भदौमा प्रकाशित “कुटी” निवन्ध संग्रहमा पुरु लम्सालले दिइएको आवरण चित्रवाटै प्रष्ट हुन्छकि लेखकले पाठकलाई पराल र खरले छाएका भुँइतले घरका चिसा भित्ता र तिनै भित्ताहरुवाट सुरुभएको जिन्दगीलाई एक पटक सोच्न वाध्य बनाएका छन् । ८६ पृष्ठमा जम्मा ११ वटा शिर्षकमा संग्रहित निवन्धमा निवन्धकारले झुपडीमा बसेर जीवनको मार्ग देखाउने जीवन जिउन सिकाउने र अक्षर चिनाउने अभिभावकीय दायित्व बहन गर्नुहुने बा, आमा र दाजुलाई सुरुमै समर्पित गरेका छन् । प्रस्तुत निवन्धमा भाषिक शिल्प, वाक्य, वर्णविन्यास, विषयवस्तुमा इन्द्र भण्डारी, रजनी पनेरु, हरि प्रसाद तिमिल्सेनाले प्रतक्ष सहयोग गरिसकेकाले भाषिक शुद्धता शाब्दिक तथा अर्थगत दृष्टिले टिकाटिप्पणी गर्नु भनेको पिठोलाई पिँध्नु जस्तै हो । अत्यन्त आकर्षक, र रुचीकर भाषा शैली कलात्मक आवरण पृष्ठ छपाइ कागज र विषय बस्तुको प्रभावकारी प्रस्तुतीले “कुटी” निवन्ध संग्रहले पाठकको मन छोएको छ ।
विषय प्रवेश
कुटी भित्रका निवन्धहरुको श्रीगणेश गुरुभेटबाट गरिएको छ । लेखकको आफ्नो कथा जस्तो लाग्ने उक्त निवन्धमा गुरु के हो ? गुरु कस्तो शक्ति हो ? गुरुमा के कस्ता गुणहरु हुनुपर्दछ भन्ने विषयको वरिपरी नै शब्द बुट्टा भरिएको छ । रहर गरेर मात्रै जो कोही गुरु बन्न सक्दैन ।गुरु बन्न पाउनु पनि शौभाग्य हो । हिजोका विध्यालय सिंगो एक लठ्ठीबाट चलेका थिए । आजका विध्यालय पनि हिजोका लठ्ठी मास्टर भन्दा अझै खतरनाक भाइरसबाट पिडित छन् । जसको भुक्त भोगी लेखक आफै भएर विध्यालय व्यवस्थापन ुसमितिको अध्यक्ष पदबाट तत्कालै राजिनामा दिएका छन् । यसबाट के बुझिन्छ भने निवन्धकारले भेट गरेको गुरु र हिजो लेखक कक्षामा आफै पढ्दा लठ्ठी देखाउने गुरुमा कुनै अन्तर देखिदैन । तसर्थ गुरुको वास्तविक परिभाषा निवन्धकारले पत्ता लगाउन नसकेको छनक उक्त निवन्धमा देखिन्छ ।
गुरु भेट पछि होटेल हाइवे पुगेका लेखकले दलाल र ठगी गर्नेहरुले मानिसलाई कसरी ठग्दारहेछन् । भन्नेभाव प्रष्ट पारेका छन् । गाडीवाला हरुसंगको मिलोमतोमा होटेलवाला ले मजासंग यात्रुहरुलाई लुटीरहेका छन् । होटेलको विकल्प छैन । तैपनि जो कोही यात्रुहरु एकछाक नखाएर पनि वाँच्न सक्छन् । तर खानाकै लागि त हो नि मानिसले जीवनमा दुःख गर्नु पर्ने,यहि सोचेर जव मानिस होटेलमा प्रवेश गर्दछ । होटेलका सर्पहरुले उसलाई टोक्न बाँकी राख्दैनन् । दया,माया,उनीहरुमा कत्ति पनि रहँदैन । होटेलमा हतारहतारका यात्रीहरुलाई होटेलवालाले ठगे झै विध्यालयमा हतारमै मिटिङ गरी एजेन्डा पास गर्ने ,मन्त्रि परिषदमा पनि हतारमै मिटिङ गरि एजेन्डा पास गर्ने ,ठेकेदारहरुले हतार हतारमा भवन र पुलवबनाएर रकम भुक्तानि गर्ने परिपाटी छ । यि सबैले जीवनको हाइवेमा कहीँ न कहीँ ठगीरहेका छन । यो देशमा मिलोमतोमा ठगी गर्नेको कमी छैन भन्ने कुरा होटेल हाइवे निवन्धमा प्रष्ट हुन्छ ।
मधुशाला शिर्षकको निवन्धमा निवन्धकार शाब्दिक दुरुपयोगको खोजीमा छन् । जव एक दिन मधुपान गर्न स्वयम मधुसाला पुगे तव उनले बुझे कैयौं मधुपात्रहरु वाध्यता र विवश्ताले मधुशाला जाँदारहेछन् । मधुसालको विमतीमा रहेका लेखक रक्सी पिउने घर,देह ब्यापारगर्ने स्थान,अबैध धन्दा गर्ने ठाँउलाई किन मधुशाला भनिएको होला भनि शाब्दिक अर्थ पत्ता लगाएर चरित्र विघटनको वास्तवीक स्वरुप लाई उदाङ्गो पारेको छन् ।
जनताको नेता हुँदैमा गाउँको विकास र जनताको समस्या समाधान गर्न सकिदैन । चुनावी नेताहरुले चुनावमा हात हातमा कोरा लालपुर्जा बाँड्ने सपना देखाउँछन् । तर चुनाव पछि सम्पति आर्जनमा विभिन्न प्रकारका सेटिङ मिलाउने गर्दछन् । अब्वल दर्जाका नाउँ चलेका पत्रकारहरुले समेत समचार बेचेर घर घडेरी बनाउने तितो यथार्थ “मेरो गाउँ” शीर्षकको निवन्धमा पाईन्छ । गाउँ गाउँमा सिंहदरवार भनिएता पनि सो अनुसारको विकास गाउँमा हुन नसक्नुको पछाडि दलाल नेता भ्रष्टकर्मचारी,पाटीका कार्यकर्ता र पत्रकार हरु गोजीभर्ने दौडाहामै व्यस्त भएर हो ा बास्तवमा गरिब,भूमिहिन, कमैयाहरु जहाँको त्यहि छन् । त्यस्तै गरी आफू पनि मौफसलको साहित्यकार,निवन्धकार र समालोचक हुन मित्र संवाद गरेका मणि अर्यालले मित्र र संवादको महत्व प्रष्ट पारेका छन् । हतारमा कोही पनि लेखक हुन सक्दैन । हतारमा लेखिएका शब्दको अर्थले लेखकलाई निष्फल बनाइदिन्छ । एउटा तमसुक लेख्दा त अरुलाई गुहार गर्नु पर्छ भने एउटा नयाँ कृतिको जन्म दिन आज सम्मका ऐतिहासिक तथा चर्चित पुस्तकहरु नितान्त अध्यन गर्नु पर्दछ भन्ने भाव उक्त निवन्धमा पाइन्छ ।
सामाजिक विषयवस्तुमा केन्द्रित निवन्ध कुटिले संवेदना विहिन गगनचुम्वी महलमा पनि मानिसलाई सुख छैन । मनमा र तनमा आनन्द छैन ।त्यसैले दार्शनिक रुसोले प्रकृति तर्फ फर्क भनेझँै आजको प्रतिस्पर्धि शहरबाट फर्केर संयुक्त परिवारको आनन्द लिन निवन्धकारले कुटि तर्फको बाटो देखाएका छन् । कुति निवन्धमा ग्रामिण जनजीवनमा देखिएका साँस्कृतिक परिवेशलाई पनि अत्यन्त सफल र सवल ढंगले सम्प्रेषण गरिएको छ । यथार्थको अङगनमा आदर्शको जलप चम्किनु निवन्धको उच्चतम् सफलता हो । जहाँ सामाजिक जनजीवनको सांस्कृतिक पक्ष र प्रकृतिसँगको सामिप्यता उत्तिकै सफल बनेर आएको छ । नेपालगञ्ज साहित्यको उर्वर भूमी हो । यही साहित्य फाँटमा नाम चलेका साहित्यकारहरुको चर्चा परिचर्चा पनि त्यतिकै सहज ढंगबाट गरिएको छ । तैपनि छापामा आईसकेका केही साहित्यकारहरुको नाम छुट्नु र कसैको धेरै बढाँइ चढाँइ गरिनुले पनि पाठकमा दिक्दारी आउननेछ ।निवन्धकारले नेपालगञ्जका साहित्यकारहरु प्राडा गोपाल अधिकारी,सिर्जन लम्साल,मोहम्मद आरिमा,हरी प्र तिमिल्सेना,खगेन्द्र गिरी कोपिला,इन्द्र भण्डारी लगाएतका साहित्यकारहरुको गुण र गरिमा गाएर यस्ता अक्षर जीवीहरुका सदा सम्मान गर्नु पर्ने यथार्थ सम्झाएका छन् ।
सामाजिक यथार्थ भित्रको यौन मनोविस्लेषणमा आधारित निवन्ध प्यान्थरमा यौन जस्तो जटिल विषयवस्तुलाई पनि सरल ढंगबाट प्रस्तुत गरिएको छ । हामी भित्रको यौन इच्छा जो जैविक आवश्यकता हो । यौन इच्छाको प्राकृतिक अपरिहार्य चित्र बोकेको निवन्धले एन जि ओ हरु आफैमा भ्रष्ट हुन्छन् । भन्ने कुरा देखाएको छन् । अस्थाई साधन बिक्रेता पसलकी साहुनी वा कार्यक्रममा भाषण गर्ने महिलाले निर्धक्कका साथमा अस्थाई साधनको बारेमा दमदार भाषण दिए पनि त्यसको प्रभाव जनजीवनमा विल्कुलै नरहेको कुरो विषयवस्तुको नैतिक मर्यादा भित्र रहेर प्रस्टाएका छन् । मानिस भित्रको हाँसो खुसी र प्रेमभाव भन्दा फरक प्रकारको संवेग हो रिस ।निवन्धकार अर्याल सालिन,भद्र, मिलनसार र शिष्ट लेखक हुन् भन्ने कुरा रिस निवन्धबाट छर्लङग हुन्छ । तर निवन्धकारले गुरु भेटमा गुरु बनाएर उभ्याएकी पात्रलाई पुनः रिस निवन्धमा राख्नु पात्र विधानमा भएको कम्जोरी मान्नु पर्छ । रिस नकारात्मक बस्तु हो । रिसकै कारण घर,परिवार,समाज,राष्ट्र र विश्वमै अशान्ति भएको छ । तसर्थ अन्तर आत्मालाई ब्यूझाएर रिसको अन्त्य गरिनु पर्छ भन्ने आदर्शवादी भनाइ प्रतित हुन्छ । त्यसैगरी किसान,ज्यामी,भरिया वा श्रमिकका पक्षमा लेखिएको निवन्ध पसिनाको स्वादमा निवन्धकारले कृषि प्रधान देश नेपालमा कलुवा पात्र झै माटोमा पसिना पोखौँ भनेका छन् । मर्निङङ्ग र इभिनिङ्ग वाक गरी बाटोमा बिनासित्ती पसिना नपोखौँ भन्ने ब्यग्र चाहना राख्दछन् ।
अन्तमा नेपाली साहित्यका अमर साधक इन्द्र बहादुर राईसंगको साहित्यिक भेटघाट सहित राईका प्रिय पाठक भैसकेका निवन्धकार मणि अर्यालले इन्द्र बहादुर राईका कृति सरल र सहजै बुझन नसकिने भए पनि नेपाली साहित्यमा भरजन्म लागिरहेका साहित्यकारहरुलाई मुक्त कण्ठले प्रसंसा गरेका छन् । सिर्जनाको खुला संसारमा साहित्यकारलाई देशको सिमानाले रोक्दैन भन्दै नेपाली साहित्यलाई माया गर्नेहरुले साहित्यकार इन्द्र बहादुर राइलाई वर्षको एक पटक मात्र सम्झिएर भए पनि उनका कृतिलाई पुनर्जीवन दिनु पर्ने पक्षमा उभिएका छन् ।
निष्कर्ष
अनुभव र अनुभूुतिलाई ईमान्दार र वस्तुनिष्ट ढङ्गले उतार्दा हुनसक्छ कतिपयले त्यसलाई मन पराउन र कतिपयले त्यसलाई मन नपराउन् तर यथार्थ घटना क्रम र हार्दिकताको सूचना पाउन त्यसले प्रत्येकलाई जुन सहयोग गर्दछ । त्यसको प्रशन्नता अरु ठाँउमा हुँदैन । “कुटी” संगालोका ११ वटा आत्मपरक र वस्तुवादी निवन्धमा आफुले देखेका, जानेका,सुनेका,भोगेका उपक्रमको पूर्ववत आधारमा आर्थिक,सामाजिक, राजनैतिक, सांस्कृतिक, प्राकृतिक क्षेत्रका अनेकानेक परिक्रमा र परिदृश्यलाई निवन्धकारले छानेका छन् । साथै परिष्कृत भाषा शैली,वस्तुनिष्ठवाक्य,उपयुक्त शीर्षकका कारण सृजनामा यिनलाई औधी सफलता मिलेको छ ।
समग्रमा भन्न हो भने मणि अर्यालमा प्रसश्त उर्वर सिर्जनाको संभावना भएको प्रस्तुत निवन्धको अध्ययनवाट छर्लङ्ग हुन्छ । समसामयीक जीवन र भोगाइका विषयवस्तु बोकेको निवन्ध संग्रह “कुटी” मा जीवनको सशक्त पना र चेतना छ । मात्र उनको कलमले विश्राम लिनु हुँदैन । पूर्ण विरामको बिट मार्नु हुँदैन भन्ने आग्रह र कामना दुवै छ । समय सुहाउँदो मूल्य आकर्षक आवरण र शीर्षकको निवन्ध कुटी मर्मज्ञ, अनुरागी र साहित्य प्रेमिकाको लागि गतिलो खुराक भएको छ । यहि शैली र प्रवृतिलाई निरन्तरता दिइरहे लेखकबाट नेपाली साहित्यले धेरै आशा गर्न सक्दछ ।