सिक्टामा प्याकेजमै काम : मन्त्री पुन

जनशक्ति र बजेटको कमी हुन नदिने सिंचाई मन्त्रीको प्रतिबद्धता

राष्ट्रिय गौरवको आयोजनामा सरकारको ध्यान संवेदनशील ढंगले रहेकाले सिक्टा सिंचाई आयोजनाको काममा गतिरोध उत्पन्न नहुने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले प्रतिबद्धता जनाएका छन् । शनिबार सिक्टाबारे आयोजित सरोकारवालाहरु बीचको अन्तरक्रियात्मक कार्यक्रममा मन्त्री पुनले प्रधानमन्त्रीको समेत गम्भीर चासो रहेकाले सिक्टा बिना गतिरोध अगाडि बढ्ने बचन दिए ।


‘राष्ट्रिय गौरवका आयोजनाहरु सरकारको उच्च प्राथमिकतामा छन्’, मुलुकभरका विभिन्न नमूना आयोजनाको चर्चा गर्दै मन्त्री पुनले भने, ‘पटकपटक सिक्टासँग जोडिएर धेरै महत्वपूर्ण समय बिताएकाले म यसप्रति गम्भीर छु ।’ मन्त्री पुनले संघीयता कार्यान्वयनका चरणमा कर्मचारी चुनौति बनिरहेको र त्यसको मार सिक्टामा पनि परेको प्रसंग उठाउँदै भने, ‘बजेट र कर्मचारीको अभाव हुन दिइने छैन ।’ उनले करारमै भएपनि कर्मचारी व्यवस्थापन गरेर सिक्टालाई निरन्तर अगाडि बढाउने र यसै बैशाखमा मूल नहरमा पूर्ण क्षमतामा तयार गर्ने योजना सुनाए । ‘अर्को बैशाखसम्म सिक्टालाई पूर्ण क्षमतामा सञ्चालन गरिसक्ने गरी काम अगाडि बढाउन प्रतिबद्ध छौं’, मन्त्री पुनले भने ।

सिचाईका आयोजनाहरु परम्परागत ढंगले निर्माण गरिंदा लागत बढी लाग्ने र प्रतिफल आउन ढिलो हुने गरेको विश्लेषण सुनाउँदै सिंचाई मन्त्री पुनले अब नयाँ ढंगबाट सोच्न लागिएको सुनाए । ‘मूल नहर, शाखा र प्रशाखा तयार भएपछि किसानका खेतमा पानी सिंचाई गर्ने विधि नै गलत छ’, मन्त्री पुनले आफ्नो योजना सुनाउँदै भने, ‘अब मूल नहर किसानको खेत नजिक पुगेपछि शाखा र प्रशाखा पनि तयार गर्दै किसानलाई पानी दिन सुरु गर्नुपर्छ ।’ त्यही योजना अनुरुप सिक्टाले आंशिक रुपमा सिंचाई सुरु गरिसकेको जानकारी दिंदै मन्त्री पुनले सिक्टाको सफलता सुरु भैसकेको बताए ।


बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले सहजीकरण गरेको अन्तरक्रियात्मक कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरुले नहर बनिसकेपनि किसानका खेतमा पानी कहिले पुग्छ भन्ने प्रश्न मन्त्री समक्ष राखेका थिए । ‘मूल नहर बन्यो, शाखा नहर कहिले बन्छ र किसानले निरन्तर पानी प्राप्त गर्छन् ?’, पत्रकार कृष्ण अधिकारी, पत्रकार दुर्गा रोकाय लगायतले योजना ढिलाई हुँदा लागत बढ्दै गएर राज्यलाई ठूलो आर्थिक भार बढेको टिप्पणी गरे ।
प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय, महेश्वर गहतराज, सिक्टा सिंचाई जल उपभोक्ता महासंघका जिल्ला अध्यक्ष शालिकराम डाँगी लगायतले सिक्टा समयमा पूरा गर्न दबाब दिनुका साथै समेट्न नसकिएका क्षेत्रका किसानका लागि विकल्पको व्यवस्था गर्न मन्त्री पुनको ध्यानाकर्षण गरे ।


मन्त्री पुन सहित सरोकारवालाहरु बीच आयोजनाको प्रगति आयोजना निर्देशक लोक बहादुर थापाले प्रस्तुतिकरण मार्फत जानकारी गराएका थिए । आयोजनाका विभिन्न चुनौतिबारे प्रस्तुतिपछि बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्याम कुमार शाहले सिक्टासँगका समस्या र सम्भावना बारे टिप्पणी गरेका थिए ।

बर्दियामा विद्युत सब स्टेशन उद्घाटनका लागि आएका मन्त्री पुन सहितको टोली सिक्टाबारे जानकारी लिएपछि आज आइतबार दाङ जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया