बाँके : नदीजन्य पदार्थको तस्करी रोक्न सशस्त्र

झण्डै ३ करोड मूल्य पर्ने ढुंगा अहिले पनि अवैध रुपमा थुप्राइएको पाइयो
राम बहादुर कुरुम्वाङ्ग
प्रमुख जिल्ला अधिकारी

नदीजन्य पदार्थको अवैध दोहन र चोरी निकासी रोक्न बाँके प्रशासनले सशस्त्र प्रहरीको सहयोग लिने भएको छ । राप्तीसोनारी स्थित विभिन्न खोलानालाबाट टेण्डर बिना नै अवैध निकासी बढेपछि सशस्त्रको सहयोग लिन थालिएको हो ।


‘नेपाल प्रहरी एक्लैले नसकेपछि सशस्त्रको सहयोग खोजिएको हो’, एक सुरक्षा अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘राप्तीसोनारीका विभिन्न खोलाबाट टेण्डर आव्हान गरिंदा तस्करको धम्कीले कतिपय टेण्डर नै लाग्न नसकेको अवस्था छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले सशस्त्र प्रहरीको सम्शेरगन्ज स्थित यूनिटलाई त्यस क्षेत्रको अवैध दोहन निगरानीका लागि परिचालित हुन निर्देशन गरिएको बताए । ‘हो, त्यस क्षेत्रमा नदीजन्य पदार्थको अवैध दोहन बढेकाले राप्तीसोनारी गाउँपालिकासँग समन्वय गरेर दोहन रोक्न कडि कडाउ गर्न भनिएको छ’, सोमबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरेपछि प्रजिअ कुरुम्वाङले भने, ‘सशस्त्रले सहयोग गर्नेछ ।’


सोमबार स्थलगत अनुगमनका लागि सुरक्षा अधिकारी सहित मुगुवा खोला पुगेका प्रजिअ कुरुम्वाङ्गले ठेक्का लाग्न नसकेका ठाउँहरुमा अझैपनि करोडौंको ढुंगा थुप्राइएको अवस्थामा भेटेका छन् । ‘झण्डै ३ करोड मूल्य पर्ने ढुंगा अहिले पनि अवैध रुपमा थुप्राइएको पाइयो’, ठेक्का नलाग्ने तर निकासी चाहीँ भैरहने अवस्था बढेपछि प्रशासन जागेको हो ? दैनिक नेपालगन्जको प्रश्नमा प्रजिअ कुरुम्वाङले भने, ‘नदीजन्य पदार्थको अवैध दोहन रोक्न प्रशासन निरन्तर क्रियाशिल रहेको छ ।’


शुक्रबार प्रजिअ कुरुम्वाङ्ग सशस्त्र प्रहरी उपरीक्षक प्रकाश सुवेदी, अनुसन्धानका प्रहरी उपरीक्षक नरेन्द्र गिरी लगायतका सुरक्षा अधिकारी सहित मुगुवा खोला पुगेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया