नेपालगन्जलाई महानगर बनाउने अवधारणा कार्यान्वयनका लागि औपचारिक प्रक्रिया अगाडि बढाएको नेपालगन्ज उपमहानगरपालिकाले त्यसका लागि कन्सल्टेन्ट नियुक्त गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपालगन्जलाई महानगर बनाउनका लागि कन्सल्टेन्डलाई डिपिआर बनाउने जिम्मेवारी दिइसकिएको जानकारी दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको २०७५ साल साउन महिनामा भएको बोर्ड बैठकले नेपालगन्ज–कोहलपुर–खजुरालाई एकीकृत गरी महानगर बनाउन औपचारिक प्रक्रिया अगाडि बढाएको थियो ।
‘त्यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न कन्सल्टेन्टलाई जिम्मेवारी दिइएको छ’, नेपालगन्जका नगर प्रमुख डा. राणाले भने, ‘महानगरका लागि औपचारिक प्रक्रिया अगाडि बढिसकेको छ ।’
नगर प्रमुख डा. राणाका अनुसार, डिपिआरका लागि २५ लाख रुपैयाँ पनि छुट्याइएको छ । नेपालगन्ज आसपासका सबै स्थानीय तहसँग समन्वय गरी कुन–कुन भुगोललाई महानगरपालिका भित्र गाभ्ने भन्ने स्थलगत अध्ययन गर्न कन्सल्टेन्ट हायर गरिएको नगर प्रमुख डा. राणाले जानकारी दिएका छन् । महानगरको एजेन्डामा उपमहानगरपालिकाले संघ र प्रदेश सरकारसँग छलफल यसअघि नै छलफल गरिसकेको छ ।
प्रदेश ५ मा तीन वटा महानगरको परिकल्पना गरिएकोमा कार्यान्वयनका लागि औपचारिक प्रक्रिया अगाडि बढाउने नेपालगन्ज पहिलो हो । प्रदेश सरकारले नेपालगन्ज–कोहलपुर, दाङ्गको घोराही–तुल्सीपुर र रुपन्देहीको बुटवल–भैरहवा एकीकरण गरी तीन वटा महानगर परिकल्पना गरेको छ । प्रदेश सरकारले पनि नेपालगन्जलाई महानगरपालिका बनाउने आफ्नो नीतिमा समावेश गरेको थियो । तर, औपचारिक प्रक्रिया भने अmभै अगाडि बढाएको छैन । ‘प्रदेशबाट महानगरका लागि औपचारिक प्रक्रियाका बारेमा हामीसँग छलफल र समन्वय भएको छैन’, नगर प्रमुख डा. राणाले भने, ‘प्रदेश सरकारले नीतिमा महानगर बनाउने भनेपछि समन्वय नगरेपछि उपमहानगरपालिका आफै अग्रसर भएको हो ।’