अझै खुलेन सवारी लाइन्सेन्स, विभागको सूचनाले भ्रम !

कोरोनाको जोखिमका कारण गत बर्ष चैत्र ९ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अपनाउनु पर्ने प्रक्रिया अवरुद्ध भयो । अझै पनि लाइसेन्सका लागि कहिले देखि प्रक्रिया सुरु हुन्छ भन्ने निश्चित छैन । कोरोना फैलनबाट रोक्न लकडाउन गरिएका कारण करिब नौ महिनादेखि लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षा लिने काम रोकिएको छ ।
लामो समयदेखि लाइसेन्स लिनका लागि अपनाउनु पर्ने प्रक्रियाहरु बन्द रहेपछि यातायात व्यवस्था विभाग ‘प्रेसर’मा पर्यो । यातायात व्यवस्था विभागले हालै सवारी चालक अनुमतिपत्रको अनलाइन फराम सम्बन्धी सूचना प्रकाशन गर्दै प्रदेश कार्यालयमा सम्पर्क गर्न आव्हान गर्यो । जसले गर्दा आम सर्वसाधारणमा लाइसेन्सका लागि प्रक्रिया सुरु भएको भ्रम परेको छ ।


खासगरी संघीय सरकार अन्तर्गत यातायात व्यवस्था विभाग रहेको छ । लाइसेन्सको प्रक्रियाका लागि आवश्यक सफ्टवयर विभाग मार्फत नै हुनेछ । तर, यातायात व्यवस्था कार्यालय भने प्रदेश कार्यालय अन्तर्गत रहेका छन् । विभागले प्रदेशलाई लाइसेन्स प्रक्रियाका लागि आवश्यक समन्वय र सहजीकरणका लागि जारी सूचना बाहिरिए पछि लाइसेन्सका लागि अनलाइन फाराम खुलेको भ्रम परेको हो ।


‘लाइसेन्सका लागि नयाँ फाराम खुलेको होइन’, यातायात व्यवस्था कार्यालयका नेपालगन्ज प्रमुख पुर्ण बहादुर खत्रीले भने, ‘लामो समय भएकाले खुल्ने सम्भावना भने छ ।’ उनले विभागले प्रदेश कार्यालयलाई समन्वयका लागि पत्र लेखेपनि सो अनुसार प्रक्रिया भने सुरु भै नसकेको जानकारी दिएका छन् ।

यातायात व्यवस्था विभागले लाइसेन्स सम्बन्धित प्रदेशको यातायात कार्यालयहरुको माग बमोजिम खुल्ने हुँदा सो को जानकारीका लागि प्रदेश कार्यालयमा सम्पर्क गर्न सूचित गरेको छ । तर, प्रदेश कार्यालयबाट लाइसेन्सका लागि प्रक्रिया भने खुलिसकेको होइन । ‘आन्तरिक रुपमा जारी हुनुपर्ने सूचना सम्पर्क नम्बर सहित बाहिरिएपछि भ्रम सिर्जना भएको छ’, यातायात व्यवस्था कार्यालयका कर्मचारी भन्छन् । यद्यपि, गत बर्ष फाराम भरेर परीक्षा रोकिएकाहरुको हकमा भने परीक्षाको प्रक्रिया अगाडि बढेको छ ।


यातायात कार्यालय यतिबेला सवारी दर्ता र नवीकरण लगायतका अरु नै कामले व्यस्त रहेको छ । लाइसेन्सको प्रक्रिया नियमित हुँदा देशभरीमा दैनिक ६/७ हजार जनाले ट्रायल दिने गरेका थिए । दैनिक ट्रायल पास र नवीकरण गरि लाइसेन्सको माग दैनिक ५ हजार हाराहारी छ ।
लाइसेन्सको प्रक्रिया सुचारु नहुँदा त्यसको प्रतिक्षामा रहेका भने समस्यामा रहेका छन् । चालक लाइसेन्सका लागि परीक्षा दिन चाहनेहरु यातायात कार्यालय कहिले खुल्छ भन्ने प्रश्न लिएर पुग्ने गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया