त्रासमा बनिया गाउँ, पुरुष भागे, कृषि प्रभावित

देबेन्द्रराज पौडेल

बनिया गाउँको प्रवेश गर्दा नै प्रहरीको गाडि भेटियो । दुई÷तीन जना प्रहरी आसपासमा थिए । अलिकति अगाडि पुग्ने बित्तिकै करिब एक सयको हाराहारीमा मोटरसाइकल सडकको छेउछाउ पार्किङ्ग गरिएको देखिन्थ्यो । केही इरिक्सा र ट्याक्टर पनि बनिया गाउँ छिर्ने बित्तिकै रोकिएको अवस्थामा देखिन्थ्ये ।

सयको हारहारीमा रहेका मोटरसाइकलको लाम सोमबार गाउँमै दुई समूहमा मारिएका धनिराम यादवको घरसम्म रहेको थियो । गाउँ भित्र सशस्त्र र जनपद प्रहरीको ठूलो संख्यामा उपस्थिति देखिन्थ्यो । सोमबार एउटा समूहको आक्रमणमा धनिराम यादवको गाउँमै मृत्यु भएको थियो । गुरुवाउँ मेलामा भएको विवाद गाउँ पुगेर हिंसात्मक भएको थियो ।

बनिया गाउँ झडप पछि त्रास र शोकमा रहेको छ । बुधबार बनिया गाउँ पुग्दा मृतक धनीरामको घरसम्म मोटरसाइकल पार्किङ्ग थिए भने ३० को हाराहारीमा महिलाहरु समूहमा देखिन्थ्ये ।
मृतक धनीरामको घर भन्दा अगाडि भने सन्नाटा थियो । लाग्थ्यो गाउँमा कफ्र्यु छ । मध्य दिनमा पनि गाउँका बाटोहरुमा मानिस देखिदैन्थ्ये । कुनै कोलाहल थिएन । चराचुरुङ्गी कराएको स्पष्ट सुन्न सकिन्थ्यो । प्रहरी गाउँ भित्र पनि गस्ती गरिरहेका थिए । फाट्टफुट्ट केटाकेटी देखिन्थ्ये । घर अघि भने महिलाहरु थिए । गाउँले बीच मनमुटाव छ, कतिको घरमा चुलो समेत बलेको छैन ।


घटना पछि बनिया गाउँका १७ जना पक्राउ परिसकेका छन् । मृतक धनीराम पक्षले १० काँदु र ७ जना यादव जातिका विरुद्ध जाहेरी दिएको हो । पुरुषहरु भने कानुनी कारवाही र पुनः झडपको आशंकामा गाउँ छाडेका छन् । महिला तथा ज्येष्ठ नागरिक शोकमा छन् । एउटा समूहका व्यक्तिको ज्यान गएको छ भने अर्को समूहका पनि घाइते छन् । पुनः झडपको आशंका गाउँलेमा रहेको छ ।

‘प्रहरी पहराले गाउँ शान्त छ, तर पुनः झडपको त्रास कायमै छ’, बनिया गाउँका ७५ बर्षीय रामफेरन भुजुवाले भने, ‘प्रहरी गएपछि पुनः झडप हुनसक्छ ।’ ‘मान्छे एक अर्कालाई मार्नका लागि आक्रोशित थिए,’ उनले झडपको दिन सम्झदै भने, ‘अब पनि त्यो अवस्था आउन सक्छ ।’ ज्येष्ठ नागरिक भुजुवाले प्रहरी, प्रशासन तथा बुद्धिजीविले गाउँमा शान्ति कायम गर्न सबैको भेला गराएर पुनः झगडा नगर्न सम्झाउनु पर्ने बताउँछन् । ‘झडपको दिन देखि गाउँ शोकमा छ, खाना खान पनि मन छैन’, उनले भने, ‘कतिको घरमा पशु भोकै छन् ।’

गाउँमा कतिपय घरमा पुरुष भागिसकेकाले पशुको हेरचाह तथा कृषि कार्य प्रभावित भएको हो । गाउँमा घरका पुरुष भागेपछि पशुको हेरचाहमा महिलाहरुलाई सास्ती भएको छ । कन्हई चमार पुरानो विवाद हत्यासम्म पुगेकाले पुनः झडपको त्रासमा गाउँ रहेको बताउँछन् । ‘सबै त्रासमा छौं’, उनले भने ।

सोमबार गुरुवागाउँ मेलामा नरेश काँदु माथि एक्कासी आक्रमण भयो । आक्रमणपछि उठेका नरेशलाई धनीरामका छोरा लगायतले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । नरेशलाई मेलामा मरणासन्न हुने गरि कुटिएको खबर बनिया गाउँ पुग्यो । बनिया गाउँमा नरेश र धनिरामको घरको दुरी सय मिटर जति मात्रै छ । नरेशमाथि आक्रमण भएको खबर पछि अर्को समूहले धनीराम र उनका छोरालाई खोज्न थाल्यो । भैसी चराएर फर्किदै गरेका धनिरामलाई अर्को आक्रोशित समूहले देखेपछि रिस थाम्न सकेनन् । धनिरामलाई लखेट्न थाले, धनिराम भाग्दै घर जाने कोशिश गर्दै थिए । तर, तोरीबारीमै धनिराम माथि सांघातिक आक्रमण भयो, उनले अस्पतालमा प्राण त्यागे ।

धनिरामको ज्यान जोगाउनका लागि बीच बचाउ गर्न पुगेकी कन्है खटिककी श्रीमति माथि पनि सांघातिक आक्रमण भयो । टाउको र गालामा गम्भीर चोट लागेकी उनको मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको उपचारमा १ लाख १५ हजार खर्च हुने श्रीमान्ले जानकारी दिएका छन् ।

मेलाबाट विवाद सुरु भएको भनिएपछि विवाद भने पुरानै थियो । बनिया गाउँमा यादव र काँदु बीचको विवाद पुरानो हो । निर्वाचनमा टिकटको विवादपछि यादव समूहमा फाटो पर्यो । एउटा यादव समूहलाई काँदु समूहले सपोर्ट गर्दै आएको छ ।

मृतक धनिराम यादव र अर्को पक्ष भनिएका आज्ञाराम यादव एकै पार्टीका हुन् । विगतमा तिहारका बेला समेत देउसीभैलोका क्रममा यादव र काँदुको एउटा समूह तथा यादवको अर्को समूह आपसमा भिडेको थियो । त्यही रिस अहिले हत्यामा परिणत भएको स्थानीय बताउँछन् । दिनेश काँदुले आज्ञाराम यादव तर्फ मिलेको छन् भने धनिराम अर्को पक्ष भएको गाउँले बताउँछन् ।

गाउँले अब गाउँको विवाद सधैकालागि समाप्त गर्न सबै पक्षले पहल गर्नुपर्ने बताउँछन् । ‘जे भयो, भयो अब दोषीलाई कारवाही र बाँकी मिल्नुको विकल्प छैन, त्यसको वातावरण प्रहरी, प्रशासनले बनाइदिनु पर्यो,’ रामफेरन भुजुवा भन्छन् ।

धनिरामको अन्तिम संस्कारबाट फर्किएका टिका यादव विवादलाई त्यसै छाडिदिने हो भने भोलिका दिनमा झन् अप्रिय घटना हुने आशंका गर्छन् । ‘दोषीलाई कारवाही र बाँकी मिलेर बस्नुको विकल्प छैन’, उनी भन्छन् ।

तीन दिनसम्म गुरुवागाउँमा मेला लाग्ने गरेको छ । पहिलो दिनको विवादका कारण एकको ज्यान गएपछि परम्परागत मेला पनि बिथोलिएको छ । मेलामा सामान बिक्रीका लागि राखिएका पसल अहिले गाउँको बाटोमा राखिएको छ । ‘विवादपछि मेला पनि भताभुंग भयो’, गुरुवागाउँका स्थानीय भन्छन्, ‘यस्तो अप्रिय घटना यसअघि भएको थिएन ।’

प्रतिक्रिया

प्रतिक्रिया