बाँकेको जानकी गाउँपालिकाको बनियाँ गाउँमा सोमबार स्थानीय दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो । गुरुवा गाउँमा भएको मेलामा सुरु भएको विवाद घरसम्म पुग्यो । एक जनाको ज्यान नै गयो भने आधा दर्जन घाइते भए । मेलामा झडप भएपछि तीन दिने मेला सोमबार नै भताभुंग भएको छ ।
झडपमा एक जनाको ज्यान गएपछि गाउँ तनाव ग्रस्त भयो । थप क्षति हुन नदिन सोमबार नै व्यापक प्रहरी परिचालन गरिएको थियो । ‘बनिया गाउँ प्रहरी घेरामा रहेको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानाले भने, ‘२५ सशस्त्र र ५० प्रहरी गाउँमै शान्ति सुरक्षा कायम गर्न खटिएको छ ।’
दुई समुदाय बीचको विवाद भने नयाँ होइन । विगतमा स्थानीय निर्वाचन अघि देखिको विवादको परिणाम स्थानीय धनीराम यादवको हत्यामा परिणत भएको हो । स्थानीयबासी भन्छन्, ‘पुरानो काँदु र यादव बीचको पुराना झगडा थियो, पछि यादव, यादव बीच नै झगडा भयो, बेतहनीमा रहेको काँदु समुदायले यादवको एउटा पक्षलाई साथ दिंदै आएको छ ।’
यज्ञ यादव र दिनेश यादव बीचको निर्वाचन देखिको झगडा भएको स्थानीय बताउँछन् । दुवै एउटै पार्टी र पक्षका हुन् । निर्वाचनमा दिनेशले टिकट पाए । त्यो मनमुटाव थियो । काँदु र यादव बीचको झगडा त सकियो । तर, यादव, यादव बीचको झगडा सुरु भयो । यादवको एउटा पक्षलाई काँदु पक्षको सपोर्ट थियो । विगतमा तिहारका बेला देउसी, भैलोका बेला समेत विवाद थियो । बनिया गाउँमा यादवको टोलमा दुई बर्ष अघि काँदु र यादव पक्षका भैली खेल्न गए । त्यही बेला झगडा भयो । गाउँमा मारपीट भयो । साम्य भयो । दुई बर्ष अघि तिहारकै बेला भएको मारपीट शान्त भएपनि मनमा त्यसको द्वेष थियो । यादवको एउटा पक्षले काँदु पक्षलाई आफ्नो तर्फ मिलाएको थियो । बेतहनीमा एक सय भन्दा बढी घरपरिवार काँदु पक्षको रहेको छ ।
तिहार पछि पनि धनीराम र यज्ञ यादव बीच त्यसपछि पनि विवाद भयो । केस प्रहरीमा पुग्यो । दुवै पक्षका घाइते भएको उक्त घटना शान्त भयो ।
स्थानीयबासीका अनुसार, सोमबार झडपमा क्रममा बनियागाउँमा मृत्यु भएका धनीराम यादवका छोरा लगायतका केही व्यक्ति गुरुवागाउँ पुगेका थिए । स्थानीय भन्छन्, ‘नरेशमाथि गुरुवागाउँ मेलामा आक्रमण भयो, जब नरेशको होस आयो प्रत्यक्षदर्शीले भनिदिएकी धनीरामका छोरा लगायतले आक्रमण गरेका हुन्, त्यसपछि मेलाको झडप गाउँसम्म पुग्यो ।’ प्रत्यक्षदर्शीका अनुसार, धनीरामका छोरा लगायतले नै नरेश काँदु माथि आक्रमण गरेका थिए ।
नरेशमाथि आक्रमण भएपछि यादव र काँदु सहितका समर्थक अर्को यादव पक्षलाई कुट्न बनिया गाउँमा पुगे । धनिरामका छोरालाई खोजीखोजी कुटे । भैसी चराएर आएका धनीराम पनि भेटिए । उनीमाथि पनि कुटपिट भयो, जसका कारण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राना गाउँको सुरक्षा अवस्था शान्त रहेको बताउँछन् । घटनामा एक जनाको ज्यान गएको छ । मृतक धनिराम पक्षबाट उजुरी परेको छ । अर्को घाइते भएका पक्षबाट पनि उजुरीको सम्भावना रहेको छ ।