देशै भरि लैगिक हिंसा बिरुद्धको अभियान सुरु भइरहँदा हिंसाका घटनाहरु पनि दिन प्रतिदिन सार्वजनिक भैरहेका छन् । महिलाहरु बलत्कार, बहुबिवाह, मानव बेचबिखन, घरेलु हिंसा, बालयौन दुराचार, लगायतका हिंसाका घटनाका शिकार भैरहेका छन । हिंसा पीडितको न्याय र पीडकको कारवाहीको लागि कानूनी ब्यवस्था रहे पीडितको न्यायमा सहज पहुच पुग्न सकेको छैन । बिभिन्न स्वरुपमा लिंगका आधारमा हिंसाका घटनाले निरन्तरता पाइरहेको सन्दर्भमा हिंसा रोकथाममा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी र सार्थक बनाउन जरुरी छ ।
लैगिक हिंसा भन्नाले लिंगका आधारमा हुने हिंसाका घटनालाई जनाउँछ । महिला भएकै कारण, पुरुष भएकै कारण वा तेश्रो लिंगि भएकै आधारमा कसैलाई शारिरीक वा मानसिक पीडा दिने कार्य गरिन्छ भने त्यो लैंगिक हिंसा हो । लैंगिक हिंसाका घटनामा बढी मात्रामा महिला हिंसाकै घटना हुने गरेकाले लैंगिक हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने आम बुझाई पनि रहने गरेको छ ।
महिला हिंसा भन्नाले महिला भएकै कारण महिला माथी हुने सामाजिक, साँस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसालार्ई बुझिन्छ । महिला हिंसाबाट जुनसुकै जातजाति समुदाय र वर्गहरू, ग्रामिण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य छन् ।
बिश्वमा यस्तो कुनै दिन छैन होला जुन दिन महिलाहरु कुनै न कुनै हिसावले हिंसामा नपरेका हुन । आजको एक्काईसौ सताब्दीमा पनि परापूर्वकाल देखि चलि आएका रुढिवादी सोच, गलत परम्परा, बिभेद लगायतका कारण महिलाहरु हिंसामा पर्ने क्रम रोकिएको छै्रन । यहि कुरालाई मध्यनजर राख्दै महिला समानता कायम राख्न र महिला बिरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि लैंगिक हिंसा बिरुद्धको अभियान संचालनमा ल्याइएको हो ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरि विश्वभर मनाउने गरिन्छ । यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जोडिएको छ । महामारीको समयमा विशेष गरि महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ । यो वर्ष अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियान ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ मनाईँदै छ ।
१६ दिने अन्तर्राष्ट्रिय अभियानको ऐतिहासिक पृष्ठभूमि
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ लैगिक हिंसा विरुद्ध अन्तराष्ट्रिय दिवसका रुपमा यो अभियान विश्वका अधिकांश देशहरुमा मनाउने गरिन्छ । १६ दिने अभियानका रुपमा परिचित यो दिवसको अवसर पारेर विश्वव्यापी रुपमै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिएको छ । यो दिवसको शुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको थियो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यति बेला महिला माथि हुने घरेलु हिंसा देखि लिएर राजनैतिक बन्दी र राजनैतिक हिंसा सम्मका बहसले स्थान पाएका थिए । यद्यपी हालसम्म पनि यस बहसले निरन्तरता पाइरहेको छ ।
नोभेम्बर २५ लाई लैंगिक माथि हुने हिंसा विरुद्धको दिवसको रुपमा मनाउनुको पछाडी यसको छुट्टै इतिहास छ । यसको सन्दर्भ डोमिनिकल गणराज्यका एकै परिवारका ३ दिदी बहिनीहरुको हत्यासँग जोडीएको छ । मिरावल परिवारमा जन्मीएका ३ दिदि बहिनी राजनितिक कार्यकर्ता थिए । तत्कालिन त्रुजिलो तानाशाहि सरकारले सन १९६० मा उनिहरुको निर्मम हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनितिक हिंसाको प्रतिरुप मानिन्छ । सन १९२४ मा पेट्रिय १९२७ मा मिनर्भा र १९३५ मा मारियाको जन्म भएको थियो । यी तिनै जना दिदि बहिनीहरु आफनो मुलुकमा शिक्षित र सचेत महिलाका रुपमा परिचित थिए । अन्याय नसहने स्वभावका यी दिदी बहिनी तत्कालिन त्रिजिलो तानाशाहीका विरुद्धमा थिए । तत्कालिन सरकारले ति तिनै दिदी बहिनी र उनको परिवालाई राजद्रोहको आरोप लगाइएको थियो । उनीहरु पटक पटक जेल परेका थिए । यसै क्रममा सन १९३७ मा निरकुश सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उदेश्यले डोमीनिकनको एउटा शहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन बेलामा पेट्रीय, मिनर्भा र मरिया तिनै जनाले सम्बोधन गर्ने कार्यक्रम थियो । राज्यको हस्तक्षेपको कारण उक्त कार्यक्रम सफल हुन सकेन र पक्राउ परेका थिए । १९६० को शुरुवातमा त्यहाँको सरकारले उनिहरुलाई राजद्रोहिका रुपमा घोषणा गरयो । यसरी घोषणा गरेको ११ महिना पछि नोभेम्बर २५ का दिन उनिहरुको हत्या भएको थियो । उक्त हत्या पछि त्रुजिलो सरकार विरुद्धको आन्दोलन अझ सशक्त बन्यो र एक बर्षमा नै तानाशाहि त्रुजिलो सरकारको अन्त्य भयो । ति तिन दिदी बहिनीहरुको हत्यालाई महिला माथि हुने हिंसाका रुपमा लिईयो र उनीहरुको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तराष्ट्रिय जगतमा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन थालीयो ।
नेपालमा महिला विरुद्ध.हुने हिंसाका स्वरुप
नेपालमा जुनसुकै वर्ग, जातजाति, सस्कृति र राजनितिमा संलग्न महिला उपर महिला विरुद्धको हिंसा हुने गरेको छ । महिला विरुद्धको हिंसा मुख्यत लैङ्गिक भिन्नताका कारणले हुने गरेको छ । अधिकांश महिलाहरु पुरुषबाट प्रताडित हुन्छन् । नेपालमा विद्यमान सामाजिक, राजनितिक, आर्थिक तथा सांस्कृतिक संस्कारका कारण महिलाले बलात्कार, यौन दुरव्र्यवहार, बालबिवाह, बहुबिवाह, कुप्रथाजन्य वादि, देउकी, छाउपडि, झुमा, बोक्सी आदिबाट पीडित हुन परेको अवस्था छ । यसरी महिला विरुद्ध हुने यस्ता हिंसाले देशव्यापी रुपमा जडा गाडेको छ । यस बाहेक महिलाहरु आर्थिक, सामाजिक, सास्कृतिक, राजैतिक लगायतका बिभिन्न स्वरुपमा हिंसामा पर्ने गरेको पाइन्छ ।
नेपालमा लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान
नेपालमा १६ दिने अभियान विशेष गरि १९९७ देखि विविध कार्यक्रमहरुको आयोजना गरि मनाउन थालिएको हो । सन २००६ मा महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघिय महासन्धी १९८९ को इच्छाधिन आलेखलाई अुनमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियान रहेको र सन २००८ मा महिला माथि हुने घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानुन पारित गर्ने विषयमा अभियान केन्द्रीत थियो । हाल महिला माथि हुने घरेलु हिंसा नियन्त्रण कसुर र सजाय ऐन २०६६ जारि भै सकेको छ । तर यसको प्रभावकारी कार्यान्वयनमा हुन सकेको छैन । नयाँ फौजदारी र मुलुकि अपराध संहिता लागु भै ति संहितामा उल्लेखित कानूनी ब्यवस्थाले महिला हिश्ाांको रोकथाम र पीडितको न्यायको ब्यवस्था गरेको गरेको भए पनि हिंसाका घटनाले निरन्तरता पाईरहेका छन् ।
महिला माथि हुने हिंसा विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको समन्वय, सहभागिता र सक्रियतामा बिगत केही बर्ष देखि बाँके जिल्लामा पनि महिला हिंसा बिरुद्धको अभियान संचालन गरिदै आएको छ ।
१६ दिने अभियानको प्रभाव
सन १९९७ देखि अहिले सम्म आईपुग्दा नेपालमा महिला माथि हुने हिंसाका सम्बन्ध व्यापक आवाज उठेका छन । यो अभियानले महिला माथि हुने हिंसाका विरुद्ध खुलेर आवाजहरु बुलन्द हुन थालेका छन । घर भित्र हुने हिंसालाई घर भित्र मात्र सिमित राख्न हुदैन भन्ने मान्यता विस्तारै स्थापित हुदै एको छ । हालसम्म मानव वेचविखन तथा ओसारपसार ऐन २०६४ तथा घरेलु हिंसा ऐन २०६६ समेत जारी भइसकेका छन् । नेपाल सरकारले सन २०१० लाई समेत महिला विरुद्धको हिंसा बर्ष रुपमा मनाउने घोषणा गरि सो बमोजिम दिवस मनाएको थियो । साथै महिला हिंसाबाट पिडीतहरुलाई उद्धार तथा सहयोग गर्ने सरकारी निकाय र महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरु विच समन्वय र सहकार्यको संस्कृति अगाडी बढदै गएको छ । पीडितलाई न्याय दिलाउने सवालमा पनि सरोकारवालाहरु सकारात्मक बन्दै गएको अवस्था छ ।
यति हुदा हुदै पनि महिला उपर हुने हिंसाका घटनाहरु नरोकिएको र महिलाहरु बिभिन्न बहानामा हिंसामा पर्ने गरेकाले महिला हिंसा बिरुद्धको १६ दिने अभियानलाई एउटा अवसरको रुपमा लिदै महिला बिरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि घरपरिवार, समाज लगायत सबै सरोकारवाला निकायहरु बिच आपसी समन्वय र सहकार्यमा महिला हिंशा रोकथाम गर्न जरुरी छ । महिला हिंसाको अन्त्यको लागि पहिले आफैबाट सुरुवात गरि अरु सरोकारवाला निकायलाई पनि जिम्मेवार र दायित्व वहन गराउन सकेमा महिला हिंशाका घटनामा निश्चय नै कमि आउने छन् ।
यसैले ‘घर शान्ती नै विश्व शान्ती, महिला र पुरुष बराबर रुपमा सक्षम छन र समान इज्जतका भागिदार छन, महिला विरुद्ध हुने हिंसा कुनै पनि अवस्था तथा परिस्थितिमा स्वीकार्य हुनेछैन, हिंसामुक्त घरपरिवार तथा समाज निर्माण गर्न चुनौती छ तर यो सम्भव तथा अत्यावश्यक छ, महिला विरुद्ध हुने हिंसाको रोकथाम गर्नु प्रत्येक व्यक्तीको जिम्मेवारी हो’ भन्ने जस्ता नारालाई साकार पार्न जरुरी छ । यस्तै लैगिक मैत्री न्याय प्रणालीको बिकाश गरि भएका ऐन कानूनको प्रभावकारी कार्यान्वय र पीडितको न्यायमा पुहच पु¥याउन प्रत्येक नागरिकले सहयोगी भूमिका खेल्न पनि उत्तिकै जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)