गत आ.व.मा कोरोनाका कारण विकास खर्च सन्तोषजनक हुन सकेन । संघ र प्रदेशले छुट्याएको अर्बौ विकास बजेट खर्च नभएर फर्कियो । चालु आ.व. बर्षको सुरुवात पनि कोरोनाबाट अछुतो रहेन । अहिले पनि कोरोना संक्रमणको जोखिम रहेको छ ।
गत बर्ष खर्च हुन नसकेका योजनाहरु क्रमागत चालु आ.व.मा सरेर आएका छन् । तर, क्रमागत योजनाले पनि दु्रत रुपमा अघि बढ्न सकेका छैनन् भने नयाँ योजनाका काम अझै सुरु भएका छैनन् ।
बाँकेमा चालु आ.व.को पहिलो चौमासिकको विकास खर्च हेर्ने हो भने अत्यन्त न्यून रहेको छ । संघ तर्फ १५ प्रतिशत त प्रदेश तर्फ ७ प्रतिशत भन्दा कम विकास खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार, संघले चालु आ.व. ०७७÷०७८ का लागि चालु र पूँजीगत गरेर कुल १४ अर्ब ८१ करोड १४ लाख २० हजार ७ सय ६० रुपैयाँ विनियोजन गरेको छ । चालु आ.व.का लागि पूँजीगत (विकास) खर्च ६ अर्ब ५ करोड ३२ लाख ७८ हजार रुपैयाँ र चालु तर्फ ८ अर्ब ७५ करोड ८१ लाख ४२ हजार ७ सय ६० रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये प्रथम चौमासिकमा पूँजीगत तर्फ ९१ करोड ७४ लाख ९ हजार २ सय ६७ रुपैयाँ अर्थात् १५.१६ प्रतिशत खर्च भएको छ । संघ तर्फ चालु आ.व. को प्रथम चौमासिकमा बार्षिक बजेटको ३३.१३ प्रतिशत अर्थात् २ अर्ब ९० करोड ११ लाख ८८ हजार १७ रुपैयाँ खर्च भएको छ । चालु र पूँजीगत गरी कुल २५.८७ प्रतिशत बजेट खर्च भएको छ । चालु तर्फको खर्च कर्मचारी तथा प्रशासनिक खर्च हो ।
प्रदेश सरकारले बाँकेका लागि कुल २ अर्ब ९८ करोड १७ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चालु तर्फ १ अर्ब ३६ करोड ६४ लाख ६६ हजार र पूँजीगत तर्फ १ अर्ब ६१ करोड ५२ लाख ७४ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारको चालु र पूँजीगत गरी प्रथम चौमासिकमा ११.७९ प्रतिशत रकम मात्रै खर्च भएको छ । चालु आ.व.को प्रथम चौमासिकमा पूँजीगत तर्फ १० करोड ३५ लाख ९७ हजार ६ सय १८ अर्थात् ६.४१ प्रतिशत तथा चालु तर्फ २४ करोड ८० लाख ९४ हजार ५ सय २५ अर्थात् १८.१६ प्रतिशत मात्रै खर्च भएको छ ।