लगानी थप्दै मेडिकल कलेज

कोरोना महामारीपछि स्तरीय उपचारका लागि सरकारले छनोट गरेको पश्चिम क्षेत्रमै एकमात्र निजी अस्पताल, नेपालगन्ज मेडिकल कलेजले स्तरीय सेवाका लागि लगानी थपेको छ ।


शिक्षण अस्पताल कोहलपुरमा छुट्टै कोभिड आइसोलेसन तयार गरी सेवा प्रवाह गरिरहेको मेडिकल कलेजले नेपालगन्जमा समेत लगानी वृद्धि गरेको हो । कोहलपुरमा ५ सय ५० र नेपालगन्जमा २ सय ५० शैय्यामा उपचार सेवा प्रदान गरिरहेको मेडिकल कलेजले दुवै ठाउँमा भेन्टिलेटर सेवाका लागि लगानी थप गरेको छ ।

‘ल्याबदेखि विशेषज्ञ सेवासम्म थप गरेर सेवा सञ्चालन भैरहेको छ’, नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले दैनिक नेपालगन्जसँग भने, ‘कोभिड र ननकोभिड सेक्सन, सर्भिस र इक्युपमेन्टले उपचार समेत महंगो बनायो ।’

अस्पतालका सहनिर्देशक डा. नितेश कनोडियाका अनुसार, नेपालगन्जका ४६ शैय्या आइसोलेसन पुर्याइँदै छ । ‘आइसीयुको संख्या दोब्बर बनाउन लागिएको हो’, डा. कनोडियाले कोहलपुरमा ३२ शैय्या आइसीयु रहेको जानकारी दिंदै नेपालगन्जमा १० र कोहलपुरमा ४ भेन्टिलेटर जडान भैरहेको बताए ।

‘थप भेन्टिलेटर पनि आउँदैछ’, स्तरीय सेवासँगै विशेषज्ञ सेवासमेत दिन लागिएको जानकारी दिंदै डा. कनोडियाले भने, ‘केही दिनमै सबै सेवा औपचारिक रुपमा जानकारी गराइनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया