‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ लंैगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वर गरी १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध ऐक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । यस वर्ष नेपालगन्ज उपमहानगरपालिकाले कोभिडको जोखिमलाई ध्यानमा राख्दै प्रविधिको प्रयोग गरेर र सन्चारमाध्याम मार्फत विविध कार्यक्रम सन्चालन गर्ने जनाएको छ । १६ दिनसम्म हरेक दिन दिँउसो ३ वजे जुमकलमा जिल्लाको एक जना सरोकालवालासंग यहि विषयमा छलफल जारी छ । प्रस्तुत छ, पहिलो दिनमा उपमेयर उमा थापा मगरसंग गरिएको कुराकानी ः

१. कोभिडका कारण उपमहानगरपालीकालिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यो वर्ष अघिल्ला वर्षहरुभन्दा फरक तरीकाले मनाउँदैछ । के के गरेर मनाउँदैछ ?


– उपमहानगरपालिकाले १६ दिनसम्म सरोकारवालासंग समन्वय गरी विविध कार्यक्रम गर्दैछ । पहिलो दिन महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाबाट सेतो रीवन वितरण भयो । विभिन्न चोकहरुमा व्यानर प्रर्दशन, दिप प्रज्वलन, हस्ताक्षर संकलनका कामहरु भए । जनचेतना मूलक सन्देश रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिकामा प्रकाशन÷प्रशारण सुरु गरेका छौ । लैंगिक हिंसा न्यूनिकरणका लागि गर्नका कस्को कस्तो खालको भूमिका हुनुपर्छ भन्ने विषयमा सरोकारवालाहरुलाई जिम्मेवार वनाउने कोशिश छ । यो अभियानलाई निरन्तरता दिन उपमहानगरको एक्लो प्रयासले सम्भव छैन । त्यसैले प्रदेशका मन्त्रीदेखि स्थानीय तहमा काम गर्ने सरोकारवालासंग छलफल गरिरहेका छौ । महिला, बालबालिका, किशोरीहरुको विषयमा आवाज उठिरहेको छ । तर यति मात्रै पर्याप्त छैन । हरेक १ सयमा ३ जना महिलाहरु आफ्नैबाट हिंसामा परेको तथ्यांक छ । त्यसैले हामीले गरिरहेको यो अभियानमा परिवार, समाज सबै सरोकारवाला सहभागी हुनुहुनेछ भन्ने अपेक्षा छ ।

२. सन् १९८१ मा अमेरिकाको ल्याटिनमा सुरु भएको यो अभियान नेपालमा सन् १९९७ देखि सुरु भएको मानिन्छ । नेपालमा अभियानको दुई दशकपछि पनि उही तरिकाले नै कार्यक्रम भइरहेका छन् । अव यो अभियान मनाउने शैली फेर्नुपर्ने वेला भएको हो ? के यहि शैलीले प्रतिफल दिन सक्ला ?


हामीले यो विषयमा १६ दिन मात्र नभएर ३ सय ६५ दिन नै सक्रिय हुनुपर्ने हो । यो अभियान चाहि विशेष हो । विश्वभर मनाइने हुनाले यो समयमा जानकारी नभएकालाई जानकारी दिने र यस्ता खालका कार्यक्रमलाई बल दिने अभियान हो । यो अभियानले हिंसा हुन नदिनका लागि केही वल पुग्छ । यो समयमा हिंसा पीडित तर केही गरेका उदाहरणीय व्यक्तिहरुलाई अगाडि ल्याउन मद्दत पुग्छ । यस्ता कार्यक्रमलाई थप वल प्रदान गर्न, धेरैलाई जानकारी दिन, यस्ता घटना घट्न नदिनका लागि जिम्मेवार बनाउनका लागि पनि यो अभियान आवश्यक छ ।

३. यो अभियानको नेपालमै २ दशक पार भइसक्दा पनि एउटै तरिकाले अभियान सञ्चालन भइरहेको छ । अब महिला हिंसाका कारणहरु के के हुन् भनेर निष्कर्षमा आउने वेला भएनर भनेर यतातिर इङ्गित गर्न खोजेको ?


हामी विकासका कुरा धेरै गर्छौ । तर विकास भनेपछि भौतिक निर्माण मात्रै बुझिन्छ । त्यसमा आज गरेको कामको रिजल्ट भोलि देखिन्छ । तर हिंसाको विषय यस्तो संवेदनशिल हो जसमा परीवर्तन तत्काल देखिदैन । केही वर्ष पहिले महिलाहरुले हिंसा सहिरहेको अवस्था थियो । उनीहरुलाई आफूमाथि हिंसा भइरहेको छ भन्ने थाहा हुन्थेन, भएपनि वाहिर आउथेनन्, अव बाहिर आउन सक्ने भएको छ । अझ यस्ता घटनाहरु न्यूनिकरण हुने क्रममा छ । हिंसा समाप्त त हुदैन किनकि हाम्रो समाजको संरचना नै त्यस्तै छ । अमेरीका जस्तो विकसित देशमा त हिंसाका घटना सुनिन्छन् भने यहाँ नहुने कुरा भएन । यसलाई सुन्यमा झार्न अहिले नै सम्भव छैन तर कोशिश गर्ने हो । हाम्रो लक्ष्य पनि यही हो ।

४. अब उपमहानगरपालिकाको कुरा गरौँ । निष्र्कषमा यहाँ लैंगिक हिंसाको कारण के के हो ? यहाँ पनि जनप्रतिनिधि भएर आएको पनि ३ वर्ष भइसक्यो । धेरै कार्यानुभव पनि वटुलिसक्नुभएको छ ।


यो क्षेत्रमा जुन समुदायको वसोवास छ । यहाँको सोचाई, यहाँको हुर्काइ अन्य भन्दा जटिल छ । यहाँ महिलाहरु खुलेर वाहिर निस्कन सक्ने अवस्था अझै पनि छैन । त्यसमाथि कोभिडको समयमा लैंगिक हिंसाका घटना बढे । धेरैको रोजगारी भएन, घरमै हुँदै धेरै घरेलु हिंसाका घटना पनि भए । महिलाहरु थप प्रभावित भए । त्यस्तै अशिक्षा, वेरोजगारी, गरीवि, जनचेतना नहुनु लगायतका कारणले पनि महिलाहरु हिंसामा परेका छन् । त्यसमाथि महिलाहरु आफै पनि म काम गर्न सक्छु, बोल्न सक्छु भन्ने आत्मविश्वासको कमी भएका कारण पनि हिंसामा परेको पाइन्छ ।

५. जस्तो यहाँले अशिक्षा, गरिबी, जनचेतनाका कारणले हिंसाका घटना घटिरहेको बताउनुभयो । यीनै कार्यक्रमलाई लक्षित गरेर स्थानीय तहमा हरेक वर्ष वजेट आउँछ । नेपालगन्ज उपमहानगरपालिकाको महिला शाखामा आर्थिक वर्ष २०७५/०७६ मा ६५ लाख, ०७६/०७७ मा २८ लाख ६८ हजार ७७७ रुपैयाँ र चालु आर्थिक वर्ष ०७७/०७८ मा २३ लाख २६ हजार महिला लक्षित वजेट छ । किन वजेट घटेको सन्दर्भमा पछि कुरा जोडौला । महिलाहरुका लागि आएको यो वजेटले कस्ता कस्ता कार्यक्रम सन्चालन गरिन्छन् त ? के केमा खर्च हुन्छ ?


यहाँका अधिकांश महिलाहरु शिक्षाबाट वन्चित छन् । त्यसैलाई ध्यानमा राखेर हामीले २ वटा महत्वकांक्षी योजना सञ्चालन गरिरहेका छौ । एउटा सल्यानिवागमा कन्या स्कुल गएको वर्षदेखि सञ्चालनमा छ । जहाँ ६० जना रहेकोमा बढेर हाल ३ सय जना अध्ययन गरिरहेका छन् । यसलाई हामीले नमुना वनाउने कोशिश गरिरहेका छौँ । माविसम्म अध्ययन गरेका ती महिलाहरुलाई लक्षित गरेर कलेजको भवन निर्माण भइरहेको छ । यसमा १० करोड खर्च भइसकेको छ । व्यवसाय गर्ने महिलाहरुलाई लक्षित गरेर कोशली घर सञ्चालनमा छ । त्यस्तै, महिलाहरुलाई लक्षित गरेर नै नगर साझेदारी कार्यक्रम सन्चालन गरेका छौ । यसमा २ प्रकारले लगानी गरिरहेका छौ । न्यून व्याजमा विना धितो ऋण र अर्को विभिन्न खालका तालीमहरु निशुल्क सञ्चालन गरेर । त्यसका लागि हामीले ट्रेनिङ सेन्टर भर्खर निर्माण गरिसकेका छौ । चालु आर्थिक वर्षदेखि सञ्चालन गर्दैछौ । यो साझेदारी कार्यक्रमका लागि हामीसंग ५ करोड वजेट छ । अघि तपाईले प्रस्तुत गरेको वजेट महिला शाखाको मात्र हो । उपमहानगरपालीकाका २३ वडामा महिला तथा बालबालिका लक्षित वजेट छ । वडामा छुट्टै कार्यक्रम सञ्चालन हुन्छ । हो, अहिले वजेट घटिरहेको छ । यो वर्ष कोभिडका कारण सबै वजेट घटेको हो । समग्रमा उपमहानगरमा २० करोड भन्दा बढि महिला तथा बालबालीका लागि भनेर बजेट छ ।

६. म वजेटकै विषयमा अझ घोत्लिन चाहन्छु । किनकि महिला सशक्तिकरणमा महत्वपूर्ण पाटो हो वजेट । बजेटबाट आत्मनिर्भरका र सिपमुलक कार्यक्रमहरु सन्चालन हुन्छन् । तपाई जनप्रतिनिधिका रुपमा आइसकेपछि हालसम्म कति महिलाहरु यो बजेटबाट आत्मनिर्भर भए ? केहि तथ्यांक छ ?


यति नै डाटा भनेर हामीले निकाल्न सकेका छैनौ । यद्यपी वार्षिक १ सय जनालाई तालिम दिने गरेका छौँ । गतवर्ष ड्राइभिङ तालिम, प्याड वनाउने, सिलाईकटाई, चिप्स वनाउने लगायतका तालिम सञ्चालन गरेका थियौ । महिलाको आवश्यकता के हो त्यसलाई वुझ्ने र उनीहरुको मागका आधारमा यो वर्ष पनि तालिम राखेका छौ । पहिला माग के छ लिन्छौ । त्यसपछि मागको आधारमा उनिहरुलाई आवश्यक तालिम सञ्चालन गर्ने तयारीमा छौ ।

७ .तालिमको कुरा गरेपछि उपलव्धी र प्रभावकारीताको कुरा पनि आउँछ । वार्षिक १ सय जना महिलाले तालिम लिएकोमा कति जना आत्मनिर्भर हुन्छन् ? तालिम पछि यहाँहरुले फलोअप गर्नुभएको छ कि छैन ? तालिम लिएपछि काम गरिरहेका छन् त्यस्तो केही उदाहरण छ ?


हामीकहाँ मुख्यतया २ तरीकाले महिलाहरु तालिम लिन आउँछन् । एउटा आत्मनिर्भर हुन र अर्को आफ्नो लागि सिप सिक्न । ड्राइभिङको कुरा भनेको एउटा ब्यक्ति आफैमा सक्षम हुनका लागि प्रयोग हुने पेशा रहेछ । कोही गरिब परिवारको आर्थिक अवस्थाको सुधारका लागि आउनुहुन्छ । अटो रिक्साको तालिम हामीले एउटा संस्थासंग मिलेर दिएका थियौ ।

८. ड्राइभिङको सिकाईको कुरा निकालि हाल्नुभयो । नगरवस ठेक्कामा गयो । ती वसमा काम गर्ने महिलाहरुले के गरिरहनुभएको छ ?


यो अहिलेको भन्दा फरक विषय हो । ७ वटा नगर बसको छुट्टै योजना थियो । गतवर्ष हामीले ३०/३५ जनालाई अटो रिक्साको तालिम दियौँ । तर महिलाहरु अशिक्षित भएकाले लाइसेन्सको लिखित परीक्षामा पास हुनुभएन । ६/७ जनाले मात्रै अहिले अटो चलाइरहेछन् । केही रोजगारी गर्न वाहिर पनि गएका छन् । केही साना व्यवसायीहरु किराना पसल, व्युटिपालर चलाइरहनुभएको छ । तालिम दिएका मध्ये ८० प्रतिशतले काम गरिरहेका छन् । यहाँ आफै पनि फिल्डमा जानुभयो भने देख्न सक्नुहुन्छ । हामीले साझेदार संस्थासंग मिलेर लगानी गरिरहेका छौ । केहीले व्यवसाय गरिरहनुभएको छ । तालिमले मात्रै पुग्दैन रहेछ । लगानी पनि चाहिन्छ । लगानीको समस्या पनि छ । यो विषय सोचनीय छ । यसमा हामी आगामी दिनमा पनि काम गर्ने छौ ।

९. तालिम पश्चात महिलाहरुसंग लगानीको समस्या छ भनेर कुरा गर्नुभयो । सुरुवातमा पालिकाबाटै ऋण दिने व्यवस्था छ पनि भन्नुभएको थियो । सामान्य नागरिकले वुझ्ने गरी विस्तृतमा त्यसको बारेमा बताइदिनुस् न ।

उपमहानगरमा हामी जनप्रतिनिधि भएर आएपछि साझेदारी कार्यक्रम भनेर सञ्चालनमा छ । पहिले यूएनडिपिको सहयोगमा सञ्चालनमा थियो । फेजआउट भएपछि हामीले उपमहानगरबाट त्यो कार्यक्रमलाई निरन्तरता दिएका छौ । यसमा गरीव, विपन्न र महिलालाई लक्षित गरेर व्यवसाय गर्न चाहने महिलालाई लगानी गर्छौ । वडामा समुह निर्माण गर्ने, धितो विना ऋण लगानी गर्ने भएकाले समुहमा वसेकालाई जमानीमा राखेर बढीमा एक लाख रुपैयाँसम्म ऋण दिने गरेका छौ । ऋण लिएपछि प्रत्येक महिना किस्ता तिर्नुपर्छ । वार्षिक १० प्रतिशत व्याज दिने र यो रकमबाट उनीहरुका लागि आवश्यक तालिम सञ्चालन गर्छौ । यो ऋण लिनका लागि उपमहानगरको स्थायीबासी हुनुपर्छ, नेपाली नागरिकता र वडामा वसेको सिफारिस सहित समुहमा आवद्ध हुनुपर्छ । उक्त समुहले यो व्यक्तिलाई ऋण दिनुपर्छ भनेर सिफारिस गरेमा उसले ऋण पाउँछ ।

१०. यो एकदम राम्रो प्रयास रहेछ । तर यसमा पनि जसलाई ऋणको धेरै आवश्यकता छ उसले नपाउने हो कि भनेर आशंका गर्न सकिन्छ । पहुँचमा भएकाहरुले मात्र पाए भन्ने नहोस् भन्नका लागि के गर्नुभाछ ?

यो गरीव, विपन्न र महिलाहरुका लागि भएकाले त्यस्तो समस्या आउदैन । किनकी वडा समुहले नै कसलाई ऋण दिने हो भनेर सिफारिस गर्छ । यसमा वडाले अनुगमन गर्छ । हामीले यसलाई दिनुपर्छ, यसलाई दिनुहुँदैन भनेर हुँदैन । यो त्यहि समुदाय र समुहले नै निर्णय गर्ने हो । त्यो भएकाले पँहुचमा भएकाले मात्रै पायो भन्ने समस्या हुँदैन ।

११. कन्या स्कुल नेपालगन्ज उपमहानगरको राम्रो प्रयास हो । तर यहाँ एउटै समुदायका व्यक्तिहरु अध्यनरत हुने भएकाले अर्को समुदायको बारेमा जान्ने मौका हुँदैन । सामाजिक रुपमा ती केटिहरुले केटाहरुलाई वुझ्न पाउदैनन् । यसरी शिक्षित भइसकेका महिलाहरु विवाहपछि पनि हिंसामा पर्न सक्ने सम्भावना रहन्छ कि ?

समाज विकास भइरहेको छ । विस्तारै परिवर्तन हुँदैछ । आजको परिवेश अनुसार यो अवधारणा अघि सारिएको हो । यसको अर्थ पुरुषसंग बोल्नै हँुदैन भन्ने होइन । आजको मानसिकतालाई परीवर्तन गर्न कन्या स्कुल खुलेको हो । यहाँ अन्य समुदायका महिलाहरुको पनि सहभागिता पनि छ । आवश्यक परेको खण्डमा ती महिलाहरुलाई हिंसाको विषयमा छुट्टै तालिम दिन पनि सकिन्छ ।

१२. महिला पुरुषविच सहअस्तित्वको भावना कसरी विकास गर्न सकिन्छ भन्ने जिज्ञासा थियो यो । अब लैंगिक कुरा गर्दा छुटाउनै नहुने नेपालगन्जको अर्को विषय तेश्रोलिंगीको पनि हो । उपमहानगरका कार्यक्रममा उनीहरुको सहभागिता कस्तो छ ?

यो गम्भीर प्रश्न हो । पहिला उनीहरुलाई ठाउँ दिइन्थेन । उनीहरु आफै पनि पहिचान खोल्न सक्ने अवस्थामा थिएनन् । अहिले विस्तारै विकास हँुदै गएको छ । हामीले उनीहरुलाई लक्षित गरेर पनि तालिम सञ्चालन गरेका थियौ । धेरै तेश्रोलिंगी साथीहरु यौन व्यवसायमा हुनुहुन्छ । हुन त उहाँहरुको व्यक्तिगत स्वतन्त्रताको कुरा पनि होला । तर हामीले उहाँहरुलाई यो पेशाबाट सम्मानीत पेशामा लैजानका लागि कोशिश गरेका हौ । तर सिप, क्षमता, दक्षता लगायत अभावको कारणले समस्या देखियो । यो विषयमा उहाँलाई वसालेर छलफल गरेका छौ । अझैपनि पहिचानको समस्या छ । नागरिकता पाउने कानुनमा भएपनि पाउन नसकेको अवस्था छ । गएको वर्ष हामीले उनीहरुलाई लक्षित गरेर वजेट विनियोजन गरेका थियौँ । कोभिडले प्रभावित भयो । यो वर्ष छलफल गर्दैछौ । तेश्रोलिंगी साथीहरुलाई मेरो अनुरोध के छ भने आउनुस् हामी संगै सहयात्रा गरौ । तपाईलाई के आवश्यक छ ? छलफल गरौँ । अग्रसरता पनि लिनुस् ।

१३. अन्त्यमा, लैंगिक हिंसा न्युनीकरणका लागि उपमहानगरपालीकाको नीति÷रणनीति के छ ? संक्षिप्त रुपमा बताइदिनुहोला ।

हामी निर्वाचत भएर आएपछि कार्यविधिहरु बनायौ । लैंगिक हिंसा निवारण रणनीति र वालविवाह उन्मुलन कार्ययोजना २०७५ देखि ०८० सम्म भनेर वोर्डबाटै पास गरेका छौँ । महिला विकासका कार्यविधि पनि वनेका छन् । महिला हिंसा घट्दा आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरेर लैंगिक हिंसा निवारण कोष छ । मुद्दा लड्न नसक्ने र अवस्था हेरेर सहयोग गर्न यो कोषको उपयोग भइरहेको छ । सम्वन्धित निर्देशिका वनाएका छौ । ४÷५ वटा कार्यविधि वनाएका छौ ।

१४. कानुनको कुरा गरिरहँदा छुटाउनै नहुने आवधिक योजनाको कुरा पनि जोडौ । यसले सबै क्षेत्र समेट्ने भएकाले र हरेक योजनाहरु पारदर्शी रुपमा देखाउने भएकाले आवधिक योजना महत्वपूर्ण छ । छिमेकी गाउँपालिका खजुराले वृहत योजना सहितको आवधिक योजना वनाइसकेको छ । उपमहानगरमा किन ढिलाई ?

हामी जनप्रतिनिधि भएर आएको ३ वर्ष भयो । कानुन निर्माण र कार्यान्वयन गर्नुपर्ने काममा यो समय वित्यो । हो आवधिक योजना आवश्यक छ । गतवर्ष नै वनाउने योजना थियो तर कसैको पनि प्रस्ताव आएन । यो वर्ष वनाउने सोच छ । भेग विषय भएकाले सबैको सहयोग विना आवधिक योजना निर्माण गर्न गाह्रो रहेछ । यो वर्ष हुन्छ ।

१५. अन्त्यमा
समग्रमा धेरै कुरा आयो । यसरी जुमबाट उपमहानगरले गरेको यो पहिलो प्रयास हो । यो विषय एक्लैले गरेर हुने विषय पनि होइन । सरोकारको विषय भएकाले पनि लैंगिक हिंसा न्यूनीकरणमा सबैको साथको जरुरी छ । यो विषय मेरो पनि हो, तपाईको पनि हो, समाजको पनि हो । त्यसैले एक्लो प्रयास भन्दा पनि सबैको साथको आवश्यकता छ । ३ सय ६५ दिन गर्नुपर्ने काम यो १६ दिनमा मात्रै गरिनु पर्याप्त होइन । तर यो कामका लागि थप बल हो । सरोकारवाला सबैले लैंगीक मैत्रि उपमहानगरपालिका वनाउन सहयोग गर्नुहुनेछ भन्ने आशा छ ।

प्रतिक्रिया

प्रतिक्रिया