क्रान्ति फरक फरक हुन्छ । तीनै मध्ये एक पाइडल क्रान्ति शान्तिपुर्ण रूपमा नेपालगन्ज शहरमा देखा परेको छ । ५० को दशकमा नेपालगन्जमा बेजोड हुन्थ्यो पेडलिङ्ग, ६० को दशकपछि त्यो गति रोकियो अहिले आएर फेरि शहरमा ‘साइलेन्ट रिभोल्युसन’ देखा पर्दै गएको छ । यो आफैं होइन , यसमा नेपालगन्जमा कृयाशिल नेपालगन्ज साइक्लिङ्ग क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । क्लब र क्लब आबद्ध साइक्लिस्टहरुको कृयाशिलताले आज नेपालगन्जमा ठुलो क्रान्ति ल्याएको छ साइक्लिङ्गमा। क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वारा होस् वा नेपालगन्ज कोरा वा मेयर कप साइक्लिङ्ग प्रतियोगिता यी सबै कार्यक्रमले शहरमा साइकललाई स्थापित गर्न कोशेढुङ्गा साबित भएका छन् ।


क्लबको संयोजनमा नियमित रूपमा प्रत्येक बिहान साइक्लिङ्गमा निस्कनेहरुको संख्या बढ्दो छ । क्लबमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आउनुभएका क्लब उपाध्यक्ष रमेश कुमार मल्ल, अध्यक्ष गगन थापा, क्लबका बरिष्ठ उपाध्यक्ष लवराज श्रेष्ठ, सदस्य प्रेम केसि, सचीव सुरेन्द्र दीप कार्की, कोषाध्यक्ष शालिक सुवेदी, सन्चारकर्मी कृष्ण खनाल, युवा ब्यबसायी बुद्धि अधिकारी, बयबसायी अगुवा कृष्ण प्रसाद श्रेष्ठ लगायतको प्रत्येक बिहानीको सक्रियता लोभलाग्दो छ, धेरै साइक्लिस्टहरु नेपालगन्जको बिपि चोक वा धम्वोजी चोकमा जम्मा भएर विभिन्न ठाउँमा पेडलिङ्गका लागि निस्कन्छन् ।


क्लबमा थोरै मात्र साइक्लिस्ट हुँदा प्राय सबै एकठाउँ जम्मा भएर एउटा गन्तव्यमा नै हिड्ने गरिएको थियो । तर, पछिल्लो समय नेपालगन्ज मा ह्वात्तै बढेको संख्या सङ्गै थुप्रै स–साना समूह भएका छन् । हरेक बिहान १०÷१२ वटा भन्दा बढी समुहमा १०० बढि साइक्लिस्ट नियमित दौडिन्छन् । २०७४ सालमा औपचारिक रूपमा गठन भएको नेपालगन्ज साइक्लिङ्ग क्लबले साँच्चै नै साइकल संस्कृति त बढाएको छ नै साथमा क्रान्ती नै ल्याइदिएको छ ।

अहिले कोहलपुरमा नियमित साइक्लिङ्गमा निस्कने साइक्लिस्टहरुले ‘स्वर्गद्वारी साइक्लिङ्ग क्लब’को गठन गरि साइक्लिङ्ग अभियान तेज गतिमा अगाडि बढेको छ भने नेपालगन्जमा पनि “नेवा साइक्लिङ्ग ग्रुप’ अनौपचारिक रूपमा गठन भै साइक्लिङ्गमा कृयाशिलता बढेको छ भने डाक्टर शुरेस कनोडिया अधिकारकर्मी भोला महत,लगायतको अगुवाईमा रहेको मल्हमपट्टी मर्निङवाक ग्रुप समेत साइक्लिङ्गमा सक्रिय छ । यसरी बाँके जिल्ला भरी कोहलपुर, नेपालगन्ज र खजुरा गरेर माउन्टेन बाइकमा रमाउनेहरुको संख्या छोटो समयमा नै झन्डै २०० को हाराहारी मा पुगेको छ ।


अहिले साइक्लिङ्गमा डाक्टर, वकिल, पत्रकार, मेयर, राजनीतिककर्मी, सामाजिक अभियन्ता, अधिकारवादी, बिद्यार्थी, ब्यबसायी, स्वास्थ्यकर्मी, कर्मचारी सहित समाजको सबै तप्का जोडिएको छ ।

अहिले नेपालगन्जमा साइकलको माहोल यस्तो बन्दै छ कि साइक्लिङ्ग ननिस्कनेहरु र साइक्लिङ्गमा आबद्ध नभएकाहरु आफुले समाजको एउटा महत्वपूर्ण अभियानलाई मिसगरिरहेको सम्झिन थालेका छन् र आफ्नो निकटवर्ती साइक्लिस्ट भेटिनासाथ आफू साइक्लिङ्गका लागि इच्छुक भएको र छिट्टै साइक्लिङ्ग ग्रुपमा जोडिने प्रतिबद्धता गर्न चुक्दैनन्, साइकलमा बिहान हिड्नेका पोस्टले नेपालगन्ज, खजुरा र कोहलपुरलाई मात्र होइन यसले आसपासका छिमेकी जिल्लामा समेत प्रभाव छोडिरहेको छ ।

नेपालगन्जको साइक्लिङ्गको सक्रियताले र यहाँ भएका गतिविधिले नेपालगन्ज बाहिर धनगढी , सुर्खेत , दाङ , बुटवल , कपिलवस्तु , हेटौंडा , नारायणगढ, उदयपुर , काठमाडौ देखिपूर्वको झापा र धरान सम्म पनि सकारात्मक सन्देश सहित पर्यापर्यटन र वातावरण मैत्री अभियानलाई पनि टेवा पुर्याएको छ । नेपालगन्ज सङ्ग, ब्यबसायिक, पारिवारिक र जागिरे वा अन्य कुनै प्रकारको सम्बन्ध नभएकाहरुलाइ पनि नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको “टुर दि ठाकुरद्वारा“ कार्यक्रमले नेपालगन्ज ल्याइपुर्याएर घुमाएको छ अर्थात नेपालगन्ज सङ्ग अन्य शहर र ठाउँको नयाँ सम्बन्ध निर्माणमा साइकल एउटा कडि बनेको छ यसर्थ पनि साइक्लिङ्ग क्लब ले पेडलिङ्ग मा क्रान्ति गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया