धारा नेपालगन्ज म्याराथन तयारी अन्तिममा

नेपालगन्जमा मंसीर ६ गते आयोजना हुने धारा छैठौ नेपालगन्ज म्याराथनको तयारी अन्तिममा पुगेको छ ।
आयोजक क्रियटिभ ह्याण्ड्सले बुधवार सम्बद्ध निकायहरुसँग छुट्टा छुट्टै छलफल र समन्वय बैठक गरिएको जानकारी दिंदै तयारी तिब्रगतिमा अघि बढेको जनाएको छ ।


समन्वय बैठकमा शहरका प्रतिष्ठित व्यक्तित्वहरुले नेपालगन्ज म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । ‘हामीले सरोकारवाला सबैसँग समन्वयमा जोड दिएका छौं,’ आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगन्ज म्याराथनमा सबैको अपनत्व प्रयास गरिएको जानकारी दिंदै भने, ‘प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने भएकोले पनि यो आयोजना ऐतिहासिक महत्वको हुनेछ ।’ यसपाली दुई वटामात्रै इभेन्ट हुने आयोजनामा म्याराथन र हाफ म्याराथनमात्रै हुनेछ । आयोजकका अनुसार, शहरका प्रतिष्ठित व्यक्तिलाई सहभागी गराएर कर्पोरेट फन रन गराइनेछ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, नेपाल उद्योग बाणिज्य महासंघका कृष्णप्रसाद श्रेष्ठ, क्यान इन्फोटेकका सञ्जय थापा, लायन्सका सेम शाक्य, होटल व्यवसायी महासंघका भाष्कर काफ्ले, हिसानका डा. अवनिन्द्रदत्त मिश्र, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वली, स्कूल सञ्चालक शशि स्वाँर, नेपाल बाल संगठनका दत्तप्रसाद आचार्य, मेरो टुकीका भोजराज शर्मा, रेडक्रसका प्रल्हाद विश्वकर्मालगायतले नेपालगन्ज म्याराथनले नेपालगन्जको गौरव बढाएकाले यसलाई सफलतापूर्वक आयोजनामा सहयोगको प्रतिबद्धता जनाए ।
आयोजकले बुधबार नै सुरक्षा अधिकारीसँग छलफल गरेको जनाएको छ । नेपालगन्जको वीपीचोकदेखि शुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः वीपीचोकमा आइपुग्ने म्याराथनलाई व्यवस्थित गराउन सुरक्षा अधिकारीसँग छलफल गरिएको हो । वीपीचोकदेखि दौड शुरु भएपछि सडकको एउटा रुट खाली गराउने सुरक्षा अधिकारीले तयारी गरेका छन् । त्यसक्रममा ठाउँ ठाउँमा प्रहरी राखिने छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कार्यक्रम गर्न सुझाव दिएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी सुवास खड्काले रुट क्लियर गरेर ठाउँ ठाउँमा प्रहरी राखिने जानकारी दिए ।


वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज डिल्ली खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायव निरीक्षक ईश्वर देवकोटा, ट्राफिक प्रहरी युनिट नेपालगञ्जका प्रहरी नायव निरीक्षक सिद्धिगणेश शाहले सडकको एउटा रुट खाली गराएर ठाउँ ठाउँमा प्रहरी राखेर अघि बढ्ने जानकारी बैठकमा दिएका थिए । ‘कोरोना कहरले सबै क्षेत्र थला परेका बेला खेलमा जीवन दिन खोजिएको छ,’ आयोजनाका टिम लिडर ठकुरीले भने, ‘यो बेला सबैको साथ र हौसलालेनै आयोजना सफल र भव्यता पाउने छ ।’ आज विहीवार पत्रकार सम्मेलन गरि आयोजकले सम्पूर्ण तयारी र समन्वय बारे जानकारी सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया