पालिकाले निर्णय गरेर विद्यालय सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।
गत चैत्र ११ गतेदेखि कोरोनाको जोखिमका कारण देश लकडाउन भयो । असारमा लकडाउन खुकुलो गर्दै साउनदेखि अन्त्य गरियो । लकडाउन अन्त्य गर्दा सार्वजनिक सवारी साधन भने चलेनन् । असोजदेखि सार्वजनिक सवारी पनि सञ्चालनमा आए । तर, विद्यालय भने अझै सञ्चालनमा आउन सकेको छैन ।
ज्येष्ठ नागरिक र बालबालिका कोरोनाको अत्याधिक जोखिम रहने भएकाले पनि विद्यालय तत्कालै सञ्चालनमा नआएका हुन् । सरकारले गत असारदेखि अनलाइन विधिबाट पठनपाठन गराउने विधि खोलेको थियो । विद्यालय खुल्ने अनिश्चित भएपछि संस्थागत विद्यालयहरुले वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन भने भैरहेको छन् । यद्यपि, त्यस्ता कक्षाहरुमा सबै विद्यार्थी भने सहभागी हुन सकेका छैनन् ।
विद्यार्थीहरु समूहमा रहने भएकाले एकजनालाई संक्रमण भैहाले ठूलो संख्यामा बालबालिका कोरोना संक्रमित हुने जोखिम रहेकाले बाँकेमा पनि विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।
शैक्षिक सत्र बैशाखदेखि सुरु हुने गर्दछ । तर, विद्यालयमा पढाई सुरु हुन सकेको छैन । शैक्षिक सत्रको सात महिना बितिसकेको छ । तर, चालु शैक्षिक सत्र कसरी अगाडि बढाउने भन्ने ठोस निर्णय हुन सकेको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै विद्यालय सञ्चालनको मापदण्ड बनाएको छ । विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ जारी गर्दै मन्त्रायले विद्यालय सञ्चालनका लागि सरसफाइका सामग्रीको व्यवस्था गरी पर्याप्त प्रकाश र हावा आवत जावत गर्ने कक्षाकोठा हुनुपर्ने बताएको छ । विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले मन्त्रालयको स्वीकृत विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा जारी भएकाले सोही अनुसार गर्न बाँकेका स्थानीय तहलाई पत्राचार गरेको छ । इकाइ प्रमुख राम सुरेश यादवले स्थानीय तहहरुलाई विद्यालय सञ्चालनका लागि कार्यढाँचा अनुसार गर्न बुधबार पत्राचार गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापाले विद्यालय सञ्चालनका सम्बन्धमा छलफल गरिने बताएका छन् । ‘दुई÷तीन भित्र छलफल गरी हालको परिस्थितिमा विद्यालय खोल्ने वा नखोल्ने भन्ने निर्णय गर्ने छौं’, नगर शिक्षा अधिकारी थापाले भने ।
कोहलपुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अनन्त कुमार पौड्यालले सरकारले विद्यालय सञ्चालनको मापदण्ड बनाएकाले त्यस सम्बन्धमा छलफल पछि मात्रै निर्णय लिइने बताएका छन् । ‘पर्वपछि पालिका खुलेको छ, छलफल पछि निर्णय लिइनेछ’, उनले भने ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले विद्यार्थी बालबालिका सुरक्षित हुने सुनिश्चित भएपछि मात्रै विद्यालय सञ्चालनबारे छलफल हुने बताएका छन् । ‘कोरोनाको जोखिम रहेकाले विद्यालय के गर्ने भन्ने तर्फ प्रवेश गरिसकेका छैनौं’, उनले भने ।
मापदण्ड पढ्नका लागि तल क्लिक
नरैनापुरका विद्यालय खुल्दै
कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय खुल्ने भएका छन् । गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरी एक हप्ताभित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय गरेको जानकारी दिएका छन् । ‘विद्यालयमा प्रत्यक्ष सिकाई सहजीकरण गर्दा अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था स्वास्थ्य शाखाले गर्ने, मापदण्ड पूरा भए नभएको निक्र्यौल अनुगमन समितिले गर्ने तथा विद्यालय सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने निर्णय गरेका छौं’, थारुले भने ।
गाउँपालिका अध्यक्ष शाहले अनलाइन कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै लामो समयदेखि कोरोना नदेखिएकाले अब निश्चित मापदण्ड बनाएर विद्यालय सुचारु गर्ने निर्णयमा पुगेको बताए ।
विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि तयार गर्न प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही संयोजक रहेको सात सदस्यीय समिति बनाइएको छ । शाहीले कसरी विद्यालय सञ्चालन गर्दा कोभिडको जोखिम कम हुन सक्छ, त्यसै अनुरुप अगाडि बढ्ने बताए । उनले एकैसाथ सबै विद्यालय सञ्चालन नगरी तहगत रुपमा सुचारु गर्दै त्यसको प्रभाव हेरेर थप रणनीति अख्तियार गरिने बताए ।