‘कहिलेसम्म खेल क्षेत्र ठप्प पार्ने ? त्यसैले सरकारी मापदण्डको पालनासहित समयमै धारा नेपालगन्ज म्याराधन गरिंदैछ ।’

धारा नेपालगन्ज म्याराथनको छैटौं संस्करण घोषणा गरिएको छ । विश्वव्यापी कोरोना महामारीको चपेटोमा थलिएको खेल क्षेत्रलाई ब्यूँझाउने गरि क्रिएटिभ ह्यान्ड्सको आयोजनामा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना हुने भएको हो ।
‘कोरोना भाइरस कोभिड १९ का कारण सबै क्षेत्रलाई असर परेको छ, कोराना संक्रमणलाई न्यूनिकरण गर्न सरकारले सुरुमा लकडाउन त्यसपछि निषेधाज्ञा गरेको थियो, संक्रमण अहिले पनि कम भइनसकेकोले देश भित्रको खेलकुद गतिविधि सुरु हुन सकेको छैन,’ क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरीले आयोजना घोषणाका लागि गरिएको पत्रकार सम्मेलनमा भने, ‘कहिलेसम्म खेल क्षेत्र ठप्प पार्ने ? त्यसैले समयमै धारा नेपालगन्ज म्याराधन गरिंदैछ ।’
मंसिर ६ गते शनिबार छैटौं धारा नेपालगन्ज म्याराथन आयोजना हुँने भएको हो । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना गरिंदै आएको छ । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
टाइटल स्पोन्सर केएल दुग्गड गु्रपका महाप्रवन्धक प्रदीप छाजेडले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउदै जाने प्रतिबद्धता जनाएका छन् भने सहप्रायोजक आशीर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिने जानकारी दिए ।
आयोजकका अनुसार, नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । यसका लागि एनओसीलाई आयोजकका तर्फबाट धन्यवाद दिन चाहन्छौं । नेपाल एथलेटिक्स संघले साथ दिएको नेपालगन्ज म्याराथन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा हुने अध्यक्ष ठकुरीले जानकारी दिए ।
यसअघि ५ वटा संस्करणको सफलतापूर्वक आयोजना भएको नेपालगन्ज म्याराथनलाई गत वर्षबाट धारा शुद्ध तोरीको तेलसँग सहकार्य गरिंदै आएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । आयोजकका अनुसार, केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ । ‘धाराको नारा मुटु चाहिन्छ मुटुसँग म्याराथनको कहीं न कहीं तालमेल हुन आउँछ,’ आयोजनाका टिम लिडर ठकुरीले पत्रकार सम्मेलनमा भने, ‘म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ ।’ म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहनेछ । खेल पोशाक उत्पादन कम्पनी साहस स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ । नेपालगन्ज म्याराथनमा हाम्रो खेलकुद डट कम मिडिया पार्टनर रहेको छ । दैनिक नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, निदान डाइग्नोष्टिक, होटल भ्यु सिद्धार्थ लगायत पार्टनर रहेका छन् । नीजि क्षेत्रको उत्साहजनक सहभागिता हुन नसकेपनि केही गैरसरकारी संस्थाहरुले अभिरुची दिएका छन् ।
‘राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र नेपालगन्ज उपमहानगरपालिका लगायत स्थानीय तहहरु हाम्रो साथमा छन्,’ आयोजकले भनेको छ, ‘यसले हामीलाई उर्जा थपिदिएको छ ।’ पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने आयोजनाको उद्देश्य रहेको भन्दै आयोजक क्रिएटिभ ह्यान्ड्सले भनेको छ, ‘यसै अनुसार हामीले विगत ५ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौं ।’
कोरानाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक सबैले मास्क अनिवार्य गरिएको छ । कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको आयोजकले जनाएको छ । गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो ।
कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिदैआएका छन् ।