बजेट कार्यान्वयनमा जुटे स्थानीय तह

बाँकेका स्थानीय तह पूँजीगत बजेट कार्यान्वयनमा जुटेका छन् । भौतिक पूर्वाधार निर्माण सम्बन्धी बजेट कार्यान्वयनका लागि टेण्डर आव्हानदेखि उपभोक्ता समिति मार्फत हुने कार्यहरुका लागि उपभोक्ता समितिमा जुटेका हुन् ।

गत बर्ष कोरोना संक्रमणको जोखिमका कारण बजेट फ्रिज हुने तथा समयमै काम सम्पन्न हुन सकेको थिएन । ढिलो गरी विकास निर्माणका काम अगाडि बढेको गत बर्ष चैत्रमा लकडाउनपछि काम ठप्प भएको थियो ।

बाँकेका कतिपय स्थानीय तहले टेण्डरबाट हुने ठूला योजनाका लागि प्रथम चरणको टेण्डर आव्हान गरिसकेका छन् भने दोस्रो चरणको टेण्डरको प्रक्रिया सुरु गरेका छन् । स्थानीय तहहरुले साना ५ लाख भन्दा कमका आयोजनाका लागि उपभोक्ता समितिको गठनको प्रक्रिया सुरु गरेका छन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले विकास निर्माणका कार्यका लागि टेण्डर लगायतका प्रक्रिया पालिकाले यसअघि नै सुरु गरेको जानकारी दिएका छन् । ‘पहिलो चरणको टेण्डर भएर निर्माण कम्पनीसँग सम्झौता गरिसकेका छौं’, अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘टेण्डरको दोस्रो चरणको प्रक्रियामा छ ।’

खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले साना उपभोक्ता समितिमार्फत हुने योजनाका प्रक्रिया पनि अगाडि बढिरहेको जानकारी दिए । ‘गाउँपालिका र वडाबाट उपभोक्ता समिति गठन गरी हुने कार्यहरु पनि अगाडि बढिरहेको छ’, उनले भने, ‘तिहार लगत्तै उपभोक्ता समिति गठन गरी उनीहरुमार्फत हुने काम पनि अगाडि बढ्छ ।’

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले ठूला योजनाहरुको टेण्डर भैसकेको जानकारी दिएका छन् । ‘कोहलपुरमा आयोजना हुने ठूला योजनाहरुको टेण्डर गरिसकेका छौं’, नगर प्रमुख रावतले भने, ‘पर्व लगत्तै एग्रिमेन्ट गरी कार्य सुरु हुनेछ ।’

नगर प्रमुख रावतले नगर तथा वडाबाट उपभोक्ता समितिमार्फत हुने कार्यहरु पनि अगाडि बढिरहेको जानकारी दिएका छन् । ‘उपभोक्ता समिति गठन गरी निर्माण कार्यहरु समयमै अगाडि बढाउन पहल लिइसकेका छौं’, उनले भने ।

नगर प्रमुख रावतले लामो दुरीको बसपार्क निर्माणका लागि कोहलपुरमा ४६ करोडको डिपियार तयार भैसकेको जानकारी दिएका छन् । नगर विकास कोषमार्फत लामो दुरीको कोहलपुर चौराह पूर्व दक्षिणमा ५ विगाह क्षेत्रफलमा अत्याधुनिक बसपार्कको काम पनि अगाडि बढ्ने नगर प्रमुख रावतले जानकारी दिएका छन् । त्यसका लागि टेण्डरका तयारी भैरहेको उनले बताए ।
कोहलपुरमा अत्याधुनिक वधशाला निर्माणका लागि साढे २२ करोडको टेण्डर पनि भैरहेको नगर प्रमुख रावतले जानकारी दिए । प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान नजिक लामो दुरीको बसपार्क निर्माण गर्न लागेको उनले बताए । भ्युटावर र घण्टाघर पनि साढे ६ करोड लागतमा कोहलपुरमा बनिरहेको नगर प्रमुख रावतले बताए ।

नगर प्रमुख रावतले कोभिड विरुद्धको अभियानमा कोहलपुर अझै पनि सक्रियतापूर्वक लागेको बताए । चालु आ.व.मा पनि कोभिड विरुद्ध सञ्चालित एक आइसोलेसनको खर्च कोहलपुरले धानिरहेको उनले बताए । यसअघि लक्षण विनाका कोभिड संक्रमितलाई स्थानीय तहको खर्चमा होटलमा राखेको जानकारी दिंदै नगर प्रमुख रावतले अब आफ्नै आइसोलेसन तयार गरेको जानकारी दिएका छन् । ‘३५ लाख लगानीमा योग एवं प्राकृतिक चिकित्सालय वडा नं. २ मा आइसोलेसन तयार छ’, उनले भने । आइसोलेसनको खर्च कोहलपुरले विपद् व्यवस्थापन कोषबाट छुट्याएको जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भौतिक पूर्वाधार निर्माण समयमै सकियोस् भन्नेमा उपमहानगरपालिकाको ध्यान केन्द्रित रहेको जानकारी दिइन् । ‘विकासको बजेट समयमै काम सकेर खर्च होस् भन्ने उद्देश्यले काम गरिरहेका छौं, यद्यपि, कोभिड तथा बजेटका समस्या यथावत नै रहेका छन्’, उनले भनिन् । उनले संघ र प्रदेशबाट छुट्याइएको बजेट समयमै आइनपुगेकाले काम गर्न अप्ठ्यारो भैरहेको जानकारी दिइन् । नेपालगन्ज उपमहानगरपालिकाले गत बर्ष चैत्र सम्म नै उपभोक्ता समिति मार्फतको काम सक्ने गरी योजनाहरुलाई दु्रत अगाडि बढाएपनि कोभिडका कारण सफल हुन सकेको थिएन ।

प्रतिक्रिया

प्रतिक्रिया