बाँके : गहुँका लागि मल कुर्दै किसान

धान काटेर गहुँ छर्ने बेलामा बाँकेमा युरिया र डिएपी मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । धानका लागि समेत मल नपाएको किसानहरुले अब गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रनेमा चिन्ता गर्छन् ।


लुम्बिनी प्रदेशमा नै यूरिया र डिएपी मलको अभाव रहेको छ । बाँकेमा ६ हजार मेट्रिक टन यूरिया, ३ हजार मेट्रिक टन डिएपी र १ सय मेट्रिक टन पोटासको माग रहेको छ । प्रत्येक बर्ष मागका बेला मलको अभाव हुने गरेको छ । यस बर्ष कोरोनाका कारण गत बर्ष मलको अभाव चरम रहेको किसानहरु बताउँछन् ।

कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको हो । मुलुकमा लामो समय गरिएको लकडाउनले किसान एकपछि अर्को समस्यामा परिरहेका छन् । गहुँ छर्ने बेलामा रासायनिक मलका लागि उनीहरु भौंतारिन बाध्य छन् ।


धानमा समेत छर्न नपाएको मल धान काटेर गहुँ छर्ने बेलामा समेत नपाइएपछि यहाँका किसान थप चिन्तित बनेका हुन् । गहुँ छर्ने बेला हुँदा पनि मल नपाएपछि ढिलाइ भएको किसानहरु बताउँछन् । जानकी गाउँपालिकाका किसान गंगा प्रसाद काँदु भन्छन्, ‘धान पसाउने बेलामा पनि मल पाइएन र अहिले गहुँ छर्ने बेलामा पनि मालको अभाव भएको छ ।’

सम्बन्धित निकायले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको किसानको भनाइ छ । कृषि सामग्री कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेल जिल्लामा डिएपी र युरिया मलको अभाव रहेको स्वीकार गर्छन् । ‘रासायनिक मलको अभाव शुन्य छ’, उनी भन्छन्, ‘केही साता भित्र दुवै मल आउने आशामा रहेका छौं ।’ उनले डिएसपी मल एक साता भित्र र त्यसको केही सातामा यूरिया आइपुग्ने जानकारी दिएका छन् ।


कृषि सामग्री कम्पनी नेपालगन्जले यसअघि विभिन्न जिल्लामा मल आपूर्ति गर्दैै आएपछि अब भने बाँकेमा मात्रै गर्नेछ । सहकारी मार्फत मल कृषकको हातमा पुग्ने गरेको छ । ‘स्थानीय तहको सिफारिस अनुसार सहकारीलाई अनुदानको मल दिइनेछ’, कृषि सामग्री कम्पनी नेपालगन्जका प्रमुख पौडेल भन्छन् ।


कृषि सामग्री कम्पनी नेपालगन्जमा गत असारदेखि यूरिया र साउनदेखि डिएपी मलको स्टक शुन्य रहेको छ । कृषकहरुले खेतीका लागि आवश्यक परेका बेला जहिले पनि मलको अभाव व्यहोर्दै आएका छन् । गहुँका लागि सुरुमा डिएपछि र त्यसपछि यूरिया मलको आवश्यकता पर्दछ ।

न आउने भो त सापटी मल !

नेपाल सरकारले बंगलादेश सरकारसँग पैंचोको रुपमा लिने भनेको मल नआउने भएको छ । नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको सरकारी अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन् ।


दुई देशका प्रधानमन्त्री बीच पैँचो मल लिन दिन भदौ १६ गते भएको मौखिक समझदारीबाट बंगलादेश पछि हटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

रासायनिक मल अभाव भएका बेला सरकारले बंगलादेशसँग मल सापटीका रुपमा लिन खोजेको थियो । तर, अब बंगलादेशबाट मल नआउने हो भने तत्कालै मल खरिद गर्नुपर्ने आवश्यक रहेको छ ।


धान काटि सकिएको छ, अबको दुई सातापछि गहुँमा युरिया छर्नु पर्छ । किसानले मल पाउनु त परको कुरा सरकार अझै मल ल्याउने प्रक्रियामै रुमल्लिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया