अहिले यो कोरोनाको महा संत्रासको बिगबिगी बनइएको छ । रोग त रोग हुन्छ चाहे जुनसुकै होस । हरेक रोग लाग्दा त्यसलाई नियन्त्रण गर्न वा त्यस रोगबाट आफु निको र परिवारलाई सुरक्षित राख्न बिभिन्न खाले विधीहरु अपनाउनु पर्ने नै हुन्छ । कुनै पनि कुरालाई कति ठूलो संत्रास बनाउने र मानिसहरुसँग कस्तो ब्यवहार गर्ने भन्ने कुरा त्यो समस्यालाई सम्बन्धित सरोकारवालाहरुले र सरकारले कसरी लिएको छ र कसरी त्यसको प्रचार गरेको छ त्यसमा निकै हदसम्म भर पर्छ । अहिलेको समाज भनेको विज्ञापन, प्याकिङ्क, प्रचार प्रसार आदीमा बढि नै बिश्वास गर्ने किसिमको छ । आधुनिक प्रबिधि र विज्ञानले गर्दा त झन यसको असर बढि छ । अर्कोतिर मानिसहरुमा साहस र क्षमता आन्तरिक शक्ति क्षीण पनि हुँदै गएको पनि छ । शासकहरु समेत आफैमा विश्वास गर्न नसकेको अवस्थामा त्यस्तो मनस्थितिमा रहेकाहरुबाट शासितहरुमा पनि कमोबेश त्यहि मानसिकता आउँछ ।
कोरोनाको मामिलामा नेपालमा निकै हौवा पिट्ने काम शासकहरुबाटै भयो । जनताको मनमा हौसला भर्ने र नआत्तिन अपिल गर्ने भन्दा पनि अब यसपछि संसार नै रहनेछैन भने तिमी त कसरी रहने छौ र भने झैं गरि राज्यले नै प्रचार गर्यो । बिहान उठे देखि नसुतुञ्जेलसम्म त्यहि कुरा हरेक माध्यमबाट एकोहोरो नै सात सात महिनासम्म कोरोना कोरोना मात्रै प्रचार गर्दा मानिसहरु निकै आतंकित भए । कति सहासी र विज्ञापनको विश्वास गरि नहाल्नेहरु, यसका बारेमा अन्य विबिध अध्ययन पनि गरेर मुटु थाम्नेहरु र रोगलाई भोकले जितेकाहरु भने केहि अनि शान्त देखिएका छन् ।
कोरोनाको चाहिने भन्दा बढि फैलाइएको संत्रासले हाम्रो समाजमा विभिन्न खाले दिर्घकालिन समस्या आउँदै छन् । ती समस्याहरुले सृजना गरेका असरहरुको क्षतिपूर्ति त्यति सजिले हुनेवाला छैन । मर्नेहरु भन्दा यी समस्यालाई भोग्नेहरुको दशा अझ भयाभह हुने छ । यसले निकै लामो समयसम्म समाज र राज्यको स्वास्थ्यमा पनि हान्ने छ । हामीहरुको जीवन निकै ठूलो एकाङ्किपना ल्याउँदै छ । यसका कारण मानिसहरु डिप्रेशनमा जान त शुरु भै सकेको छ अझ बढी मानिसहरु डिप्रेशनका शिकार हुनेछन् । हामीहरुको पारिवारिक जिवनहरुमा धेरै चिरा पर्ने सम्भावना पनि उत्तिकै छ । समाजिक संरचनामा निकै ठूलो फेरबदल आउने छ । आफ्नो र आफ्ना बीचमा पनि पराइ बीचको सम्बन्धका गन्धहरु आउने छन् । सहृदयतामा आएको यो कमिले अपनत्व, भातृत्व नै धरापमा पर्ने सम्भावनाहरु बढेर गएका छन् ।
मानिसलाई सहज र सरल अवस्थामा कोहि कसैको पनि न त खासै आवश्यकता पर्छ न कुनै आड र भरोसाको नै आवश्यकता पर्छ । मानिसलाई मानिसको अत्याधिक आवश्यकता पर्ने भनेको जब उ कुनै अप्ठेरोमा पर्छ । उसलाई दुःख या पीर मर्का पर्छ । रोग ब्याथिका कारण ग्रस्त हुन पुग्छ । समाजको आवश्यकता त्यतिखेर अझ बढि हुन्छ ।
म आफै कोरोना संक्रमित भएर चौध दिन एकान्तबासमा बस्दा मेरो जीवनमा कथाका रुपमा सुनेका कुराहरु पनि यथार्थमा भोग्ने र अनुभूति गर्ने मौका पाएँ । यो मेरो जीवनको लागि अति नै महत्वपूर्ण शिक्षा रह्यो । यसले मेरा भोलिका दिनहरुमा कसरी अगाडी बढ्नु पर्छ र यो समाजमा को कससँग कस्तो सम्बन्ध बनाउने हो भन्ने पनि तय गरेको छ ।
कुनै बेला बुढा पुरानाहरुले भनेको कुरा सुनेको थिएँ कि कोढ आएर ओढारमा बसेको मान्छे ओढारको ओढार मै मर्यो । समाजबाट बहिष्करणमा परेको मान्छे मर्यो या उ हरायो या अर्को कुनै अनजान ठाउँमा गएर बस्यो । आदी इत्यादी । तर आज ठ्याक्कै यहि हविगत कोरोनाको संक्रमणमा भएको छ भन्नेहरुसँग घटेको छ भन्ने मैले पनि अनुभूति गरें । अस्पतालमा उपचारका लागि होइन उल्टो एकाङ्गिपनमा बाँच्न, बष्किरणमा पर्नका लागि भर्ना भएका छन् मानिसहरु भन्ने पनि प्रमाणित भएको छ । कतिपय पहुँच नभएकाहरु त त्यहाँ भएको बेवारिसेपन र छूवाछूतको व्यवहारकै कारण मरेका छन् । कतिपय संक्रमितहरुले बरु घरमा मर्नु अस्पताल नआउनु या बरु जाँच नै नगराउनु भन्ने सुझाव पनि दिए मलाई । उनीहरुको त्यो पीडाका कारणहरु पनि मैले बुझ्ने प्रयास गरेको छु । त्यसको कारण पनि यस्तै अपहेलना र बेवारिसेपनाका कारण हो भन्ने नै मेरो ठहर छ ।
घरमा एकान्तबास बस्दा समेत मसँग पनि कतिपय घटना घट्यो । मलाई अहिलेको सञ्जालबाट शीघ्र स्वाथ्यलाभको कामना गर्नेहरु आधा हजार जति भएता पनि गाउँ घरमै भएर पनि नजिक रहेका, बर्षै देखि साझेदारीमा काम गरेका, सँगै लगानी गरेका, अघिपछि आफ्नै झैं ब्यवहार गरेकाहरु देखि आफ्ना घरपरिवार भित्रका सम्मले यहाँ आएर कस्तो छ, या के को आवश्यकता छ भनेर सोध्न आवश्यक ठानेनन् । घर नजिकैको बाटोबाटै भए पनि बोलाउने सम्म जमर्को गरेनन् । जो कम्तिमा फोन सम्म त गर्नु पर्ने भन्ने लागेकाहरु समेत कतिले फोन सम्म पनि गर्न जरुरी ठानेनन् । छर छिमेक र समाजको ब्यवहारको कुरा मैले बिगत सात महिनामा धेरै सुनेको थिएँ, यसलाई नियाल्दै थिएँ । कोरोन्टनइनमा बस्नेहरु देखि, संक्रमणको शंकामा परेकाहरु प्रति भै रहेको व्यवहार र उनका परिवारलाई पसलमा जाँदा समान किन्न समेत नदिएका कुरा सुनेको मात्रै थिएँ तर आज यसलाई प्रमाणिक तरिकाले नै अनुभूति गरेकोमा यो समाज प्रति, मेरा आफन्तहरु प्रति कुनै गुनासो छैन तर यसलाई आतंक र मनोवैज्ञानिक त्रास बनाउनेहरु पक्कै पनि नित्कृष्टहरु नै हुन भन्ने लागेको छ ।
मानिस जब असक्षम हुन्छ, बिमार हुन्छ त्यतिखेर उसलाई सबैको साथ र सहयोगको आवश्यकता पर्छ । बाहिर देखावटी रुपमा प्रकट गरिएको सान्त्वना देखि हृदय देखि नै गरिएको मायाको खाँचो पर्छ । उसलाई एकाङ्किी बनाएर, एक्लाएर त उसको बिमारीमा अझ संक्रमणले गाँज्ने वातावरण बनाइन्छ । उसलाई यो र यस्ता रोगहरु त केहि होइनन्, यसले उसलाई केहि गर्न सक्दैन, उसँग त सबै आफन्तजन, परिवार, शुभचिन्तक देखि सिँङ्गो समाज छ भन्ने भावना जगाउने, हिम्मत र हौसला बढाउने कामगर्नु पर्ने बेलामा उसलाई आइसोलेट गरेर उसको भएको हौसला पनि निराशामा बदलिदिने काम कसैले पनि गर्नु हुँदैन । मैले एक जना संक्रमितलाई हालचाल सोध्न र भेट्न जाँदा उनमा पलाएको हौंसला र छरछिमेकीले त्यसपछि बल्ल सोधपूछ गरेको घटनाले मलाई पक्कै पनि शिक्षा सिकाएको छ । सबैलाई यो समाजलाई पनि मेरो अनुरोध छ कि कुनै पनि कोरोना बिमारीलाई एकान्तबासमा राख्नुस तर एकान्तबासमा उसको मनोबल नतोड्नुस । भेट्न जानुस, आवश्यकताको बारेमा सोध्नुस बुझ्नुस । निश्चित दूरीबाट भेट्दैमा तपाइँहरुलाई सर्दैन र सोध्दैमा तपाइँले आफ्नो घरखेत बेचेर उसलाई दिनु पर्दैन । देखापटी नाटक भोलिबाट कसैले पनि नगर्नुस । तपाइँको नाटकले समाजमा न नैतिकता आउने छ न सहृदयता पलाउने छ ।
म दुइ हप्ता पुरा एकान्तबासबाट आज निस्किँदै गर्दा फेरिपनि भन्दैछु कि यो कोरोना भनेको रोग होला तर रोग कम मनोवैज्ञानिक त्रास र आतंक नै बढि हो । मेरो वरकतको साथ र सहयोगको लागि म हरेक कोरोना संक्रमितसँग रहने छ । जुनसुकै रोगबाट बच्न सावधानी आफै अपनाउनुस । कोरोनासँग डराउनु पर्ने र हतोत्सायी भै हाल्न पर्ने केहि पनि छैन । संक्रमण भै हालेमा पनि हौसला कम नगर्नुस । अरु रोगबाट भन्दा यसबाट मान्छेहरु कम नै मरेको कुरा जगजाहेर नै छ । तर कोरोनाको नाममा मनोवैज्ञानिक त्रास र आतंक सृजना गर्नेहरु सधैं टाढा रहनुस, यस्ताबाट अवश्य बच्नुस । यो रोगले तपाइँलाई त लैजादैन तर तपाईँलाई यो रोगको नाममा मनोवैज्ञानिक त्रास र आतंक दिनेहरुले तपाइँको जीवनमा सधैंका लागि हौंसला तोडिदिनेछन् ।
तपाइँको स्वास्थ्यको चिन्ता न यो समाजले गर्छ, न त यी मनोवैज्ञानिक त्रास र आतंक मच्चाउनेहरुले गर्छन न कुनै अस्पतालले गर्छ । ढुक्क हुनुस कसैले पनि तपाइँको स्वास्थ्यको चिन्ता र चासो गर्दैन । तपाइँको आफ्नो स्वास्थ्यको चिन्ता र चासो तपाइँ आफैले हो गर्ने । कोरोनाको मनोवैज्ञानिक त्रासबाट बाहिर निस्केर जीवनलाई सामान्य बनाउनुस् ।