कोरोना कहरका कारण अति प्रभावित भएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्डले आवश्यक अध्ययन अघि बढाएको छ । त्यसका लागि प्रदेश स्तरीय अध्ययन कार्यदल बनाएको बोर्डले लुम्बिनी प्रदेशका लागि पनि अध्ययन गर्न आन्तरिक पर्यटन पुनरुत्थान समिति गठन गरेको हो ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल आन्तरिक पर्यटन पुनरुत्थान समिति, लुम्विनी प्रदेशको सह–संयोजक चयन भएका छन् । ‘यसले नेपालगन्ज र सेरोफेरोको पर्यटकीय सम्भावना र कोरोना कहरको क्षति पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्डले प्राथमिकतामा राखेको छ भन्ने कुरा देखाउँछ,’ मनोनयनको पत्र बुझेपछि सिग्देलले दैनिक नेपालगन्जसँग भने । नेपाल पर्यटन बोर्डले सिग्देललाई उक्त जिम्मेवारी दिएको हो ।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीका अनुसार, कोभिडबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्देश्य सहित सात वटै प्रदेशमा यस्तो समिति निर्माण गर्न थालिएको हो । सरोकारवाला निकायसंगको सहकार्यमा आन्तरिक पर्यटन प्रवद्र्धनको काम हुने छ । ‘हामीले अनौपचारिक रुपमा काम सुरु गरिसकेका छौं’, सिग्देलले भने ।
पत्रकारितामा लामो समयदेखि सक्रिय सिग्देल ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका छन् । कोरोनाका कारण पर्यटन व्यवसाय धराशयी भएपछि सिग्देलले नेपालगन्जमै कोल्टे नामको भान्छा घर सञ्चालनमा ल्याएका छन् ।