बाँकेमा ७० बालक बलात्कार मुद्दामा, सुधार गृह जस्तो छैन बालसुधार गृह

बसन्त गौतम

देशै भरि यौनजन्य हिंसाका घटना बढेसंगै बलात्कारका घटनामा बालकहरुको संलग्नता पनि बढेको पाइएको छ । बाँके स्थित बालसुधार गृहमा रहेका १०९ जना रहेको बाँके स्थित बालसुधार गृहमा ७० जना बालक बलात्कार मुद्दाका रहेको पाइएको छ । जस अनुसार जवरजस्ती करणी मुद्दाका ६७, बालबिवाह तथा जवरजस्ती करणीका २ र जवरजस्ती करणी उद्योग मुद्दामा परेका १ बालक रहेका छन् ।


बलात्कार पछि चोरीमा १४, लागु औषधमा १०, कर्तब्य ज्यानमा ६, कर्तब्य ज्यान उद्योगमा ४, सवारी ज्यानमा २, साइबर क्राइममा १, शरिर बन्धक १ र गोवधको सम्बन्धी मुद्दाको कानूनी बिवाद परेका १ बालक बालसुधार गृहमा रहेका छन् । बाँके स्थित बालसुधार गृहमा ५० जना बालकहरु अदालतले दोषि ठहर भएका र बाँकी ५९ जना फैसला अपराध अनुसन्धानको क्रममा पुर्पक्षका क्रममा सुधार गृहमा बसेका बालक रहेको सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले जानकारी दिइन् ।


बालकहरु जिज्ञासु र उत्सुक हुने भएकाले यौनका बिषयमा पनि सहि शिक्षा पाउन नसक्दा यौन अपराधमा मुछिने गरेको जानकारहरु बताउँछन् । मोवाईल इन्टरनेट लगायतका प्रबिधिको दुरुपयोग, घरायसी र वारिवारिक वातावरण, गलत संकतका कारण पनि बालकहरु यौनजन्य अपराधमा लाग्ने गरेको पाईएको छ ।

कतिपय त अभिभावकले बालबालिकाको सामुन्नेमा अमर्यादित यौनजन्य क्रियाकलप गर्ने, अश्लील भिडियो र साइडमा सहज पहुच दिने, छोराको गलत क्रियाकलाप रोक्नमा ध्यान नपु¥याउने गर्नाले पनि बालकहरु यौन अपराधमा सामेल हुने गरेको कतिपय घटना क्रमले देखाएको छ ।


सुधार गृह जस्तो छैन बालसुधार गृह

बालसुधार गृह साँच्चिकै सुधार गृह जस्तो रहनु पर्ने हो तर बाँकेको बालसुधार गृह त्यस्तो छैन । ७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १०९ जना बालकहरु कोचाकोचा रुपमा बस्नु परेको छ । ५ कोठा मध्ये २ वटा ठुला हलमा क्रममा ४८ र ४२ जना बालक बस्न बाध्य छन् । कोरोना संक्रमणको समयमा ति हलको भुइमा एउटामा १८ र अर्को कोठामा २४ जना बालकहरु भुईमा लस्करै सुत्न बाध्य छन् । यसरी कोचिएर बस्नु पर्दा बालकमा कोरोना संक्रमण आशंका उत्तिकै रहेको छ ।


जिवनउपयोगी शिप सिक्ने, ज्ञान आर्जन गर्ने लगायतका सुधारका कुनै पुर्वाधान सुधार गृहमा छैनन । जसमा कारण बालकहरु त्यतिकै बसेर दिन बिताउन बाध्य छन् । सरसफाईको कमी र छाला रोगको संक्रमणले बालकहरु हैरान छन् । खेलकुद र मनोरञ्जनको पनि राम्रो ब्यवस्था छैन ।


कानूनी बिवादमा रहेका बालबालिकाहरुले आफुले गरेको गल्तीको महसुस गरि असल नागरिक बनाउने ध्येय बाल न्यायले लिए पनि सुधारका पुर्वाधार बालसुधार गृहमा छैनन । यहाँसम्मकी बालसुधार गृहका बालक बस्ने कोठामा पानी चुहिने समस्या रहेको छ भने झ्याल ढोका जिर्ण भइसकेको छ । खानेपानीको समस्या छ । ५ कोठामा बस्ने बालकहरु एकै कोठामा ४८ जनासम्म कोचिएर बस्नु पर्दछ । बालसुधार गृहमा तारबारको राम्रो ब्यवस्थापन छैन । सरकारले सुधार गृहमा रहेका बालकहरुको लागि स्वास्थ्य उपचारको ब्यवस्था गर्न नसक्दा उपचारमा समस्या हुने गरेको सुधार गृह इन्चार्ज बिमला काउचाले गुनासो गरिन ।

सुधार गृह भने पछि बालसुधार गृहमा पर्याप्त पुर्वाधार हुनु पर्नेमा पढाई लेखाई मनोरञ्जनको राम्रो ब्यवस्था बालसुधार गृहमा छैन । जिवनउपयोगी शिप सिक्ने र बाल्यकालमा आफुले जानेर नजानेर गरेको गल्तीको महसुस गराई सुधारको बातालरण हुनु पर्नेमा त्यसो नहुँदा बालकहरु त्यतिकै जिवन बिताउनु परेको छ ।


जग्गा दाता जयकेश सिंहले कानूनी बिवादमा रहेका बालकहरुको राम्रो सुधारको ब्यवस्थापन होस भनेर आफुले जग्गा दान गरेको बताए । ‘कानूनी बिवादमा परेका बालकहरुलाई सुधार्न सहयोग पुगोस भनेर ४ बिगाहा बढी जग्गा दिए तर जग्गा र त्यहाँ रहेको फलफुल बगैचाको राम्रो स्याहार सुसार नभएकोमा सिंहले दिक्क मानेका छन्,’ भन्छन् ‘बालकलाई सुधार्न जिवन उपयोगी शिव र यसको लागि उपयुक्त वातावरण नबनेको देख्दा दिक्क लाग्छ ।’ उनले बताउँदै जग्गाको उचित ब्यवस्थापन हुन नसकेकोमा चिन्ता लागेको बताए । बालसुधार गृह वास्तवमै सुधारगृह जस्तो हुनु पर्ने र यसमा सबै लाग्नु पर्ने सिंहले बताए ।

सुधार गृहमा रहेका बालकहका लागी एडभोकेसी फोरम, औषधी ब्यवसायी, नेपाल रेडक्रस सोसाईटी, बागेश्वरी टेलिभिज, हेल्थ पेज लगायतका संघ सस्थाले समय समयमा स्वास्थ्य लगायतका अत्यावश्यकीय सामाग्री बितरण गरेको छन् । महान्यायाधीवक्ताले कार्यालयले पछिल्लो समय पुस्तक बितरण गरेको छ । तर केहि निकायले दिएको सहयोग सुधार गृहका लागि पर्याप्त छैन । राज्यले बालसुधार गृहमा रहेका बालकहरुकोे सुधारका लागी जिवनउपयोगी ज्ञान र शिपमुलक कार्यको ब्यवस्थामा मिलाउन अति जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया