नेपालगन्ज आयो ‘न्याथम टिम’, काम शुरु

नेपालगन्जमा स्वागत, कार्यालय स्थापनासँगै प्रशिक्षण शुुरु गर्ने प्रतिबद्धता


होटल तथा पर्यटन क्षेत्रलाई सहयोग पुग्ने गरि नेपाल होटल तथा पर्यटन प्रतिष्ठान (न्याथम)को शाखा नेपालगन्जमा विस्तार भएको छ । नेपालगन्जबाट सरकारी कार्यालय एकपछि अर्को गर्दै अन्यत्र सार्ने काम भइरहेका बेला पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी उच्चशिक्षा पढाई हुुने त्रिभुवनन बिश्वबिद्यालयबाट मान्यताप्राप्त कलेज सञ्चालनका लागि न्याथम विस्तार भएको हो ।
प्रदेश ५ सँगै कर्णाली र सुदूरपश्चिमका विद्यार्थीका लागि बिएचएम, बिटिएम पढाउने गरी शाखा बिस्तार गरेको न्थाथमले होटल म्यानेजमेन्ट र टुरिज्म म्यानेजमेन्टका दक्ष जनशक्ति उत्पादनका लागि नेपालगन्जमा उच्च शिक्षाका कक्षा सञ्चालन गर्नेछ ।
नेपाल होटल तथा पर्यटन प्रतिष्ठान (न्याथम)को शाखा विस्तारका लागि बनेका सम्भाव्यता अध्ययन समितिले बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीको अध्ययनपछि दिएको सुझावका आधारमा दुईसाता अघि नेपालगन्जमा शाखा राख्ने निर्णय लिइएको थियो । सोही अनुसार, कार्यालय प्रमुख सहितको टिम मंगलवार नेपालगन्ज आइपुगेको हो ।

न्याथम टिमलाई स्वागत गर्न गरिएको कार्यक्रममा नेपालगन्जका नगर प्रमुख डा. धवल शम्सेर राणाले पश्चिमकै उत्कृष्ट जनशक्ति उत्पादन गर्ने बिश्वास गर्दै कलेजको पूर्वाधार निर्माणदेखि जग्गा दिन समेत नेपालगन्ज उपमहानगरपालिका तयार रहेको बताए । उनले नेपालगन्जको विकासका लागि हरसम्भव हातेमालो गरेर अगाडी बढिने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, न्याथम नेपालगन्ज प्रमुख बिपिन नेपाल, नेकपा नेता रत्न खत्री, नाटा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देल, हस्पिटालिटी विज्ञ भरत विष्ट लगायतले न्याथमको आगमनले होटल र पर्यटन क्षेत्रको जनशक्ति उत्पादनमा नेपालगन्ज पश्चिम नेपालकैहब बन्ने बिश्वास व्यक्त गरे । ‘यो नयाँ प्रयोग पनि हो,’ नेपालले भने, ‘यसको सफलताले मुलुकका सबै प्रदेशमा न्याथम विस्तार हुनसक्छ ।’
‘न्याथमले नेपालगन्जमा कलेज खोल्नु ठूलो उपलब्धी हो,’ रोजगारीदेखि दक्ष जनशक्ति उत्पानद सम्मका सम्भावना औल्याउँदै नाटा अध्यक्ष सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘सबैको सहकार्यमा यसलाई सफल बनाउनेतर्फ लाग्नुपर्छ ।’
पर्यटन तथा होटल विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ विसं २०२९ मा स्थापित न्याथमले सो क्षेत्रमा विभिन्न तहमा अध्ययन अध्यापन तथा तालिम सञ्चालन गर्दै आएको छ । हालसम्म न्याथमले सो क्षेत्रमा करीव ४५ हजार भन्दा बढि जनशक्ति उत्पादन गरिसकेको छ । ‘सरकारी भएपनि हामी निकै प्रोएक्टीभ ढंगले काम गर्छाैं,’ पहल थालिएको तीन महिनामा मंगलवारबाट कार्यालयनै स्थापना हुन लागेको जानकारी दिंदै न्याथम नेपालगन्जका प्रमुख नेपालले भने, ‘औपचारिक प्रक्रिया सकिनासाथ हामी प्रशिक्षणनै शुरु गर्छांै ।’

प्रतिक्रिया

प्रतिक्रिया