कोरोनाविरुद्ध अस्तव्यस्त नेपालगन्जः अस्पतालमा क्षमता बढाउ

मापदण्डको पालना र स्वास्थ्य सतर्कताको अटेरी बढेपछि अस्पतालमा क्षमता बढाउन पहल थालिएको हो



भेरी अस्पतालमा रहेको कोभिड–१९ विशेष (कोरोना अस्पताल) को क्षमता बढाउन पहल थालिएको छ । दिनहुँजसो संक्रमणको संख्या बढ्दै गैरहँदा अस्पतालमा शैय्या (बेड) संख्या अभाव हुन थालेपछि क्षमता बढाउन पहल थालिएको हो ।
‘विकल्प नै देखिएन’, जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले दैनिक नेपालगन्जसँग भने, ‘कम्तिमा सय बेड तत्काल थप्नु पर्ने अवश्यकता देखिएको छ ।’
सवारीसाधनमा जोरबिजोर देखि साप्ताहिक दुई दिन कडा लकडाउनको व्यवस्था पूर्ण रुपमा खारेज गरिएपछि बजारमा अस्तव्यस्त अवस्था रहेको छ । नियमित अनुगमन समेत नहुँदा मापदण्डको धज्जी उडाइएको छ भने स्वास्थ्य सतर्कताका सामान्य उपायहरु पनि अपनाइएको छैन । होटल, रेष्टुरेन्ट मात्रै होइन ब्यूटिपार्लर र शैलुनहरु समेत सञ्चालनमा आएका देखिन्छन् ।
‘अनुगमन गरिसाध्य नै छैन’, न जनशक्ति न हिम्मत नै रहेको तर्क गर्दै सम्बन्धित अधिकारी भन्छन्, ‘मास्क लगाउ भन्यो भने उल्टो मजाक गरेर उडाइदिन्छन्, मापदण्ड पालना गरेनौं भनेर कारवाही गरे आक्रमण हुने जोखिम बढ्यो ।’ नियमित अनुगमनमा खटिएका सम्बन्धित निकायका व्यक्ति नै अनुगमनको औचित्य नदेखिएको तर्क गर्न थालेका छन् । ‘सम्पूर्ण रुपमा बजार खुलिसकेपछि अनुगमनको के अर्थ ?’, अधिकारीको तर्क छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले पनि अनुगमन प्रभावकारी बनाउन खोजिएका प्रयासमा जनताको पर्याप्त साथ नपाइएको टिप्पणी गर्छन् । ‘यो हाम्रो स्वास्थ्यका लागि हो भन्ने कुराको चेतना प्रत्येक व्यक्तिलाई नहुँदासम्म सरकारले डण्डा चलाएर मात्रै हुँदैन’, प्रजिअ कुरुम्वाङले दैनिक नेपालगन्जसँग भने, ‘यस्तो अवस्थामा अस्पतालमा बेड संख्या बढाउने, स्वास्थ्यकर्मी थप्ने र शव व्यवस्थापन गर्ने उपाय नै अन्तिम हो ।’ जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरमा बजारमा बढ्दो जोखिम बारे नियमित छलफल भैरहे पनि निष्कर्षमा पुग्न नसकेपछि अस्पतालको बेड थप्ने र सुविधा बढाउँदै जाने विकल्पलाई नै चुनिएको छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।
‘आइतबार मात्रै भेरी अस्पतालमा क्षमता वृद्धिबारे छलफल गरिएको छ’, कुरुम्वाङले पहल थालिसकिएको जानकारी दिंदै भने, ‘अब स्वास्थ्य सतर्कतामा जनताको चेतना वृद्धिसँगै अस्पतालमा क्षमता वृद्धिमा जोड दिइएको छ ।’
भेरी अस्पतालको कोभिड विशेष (कोरोना अस्पताल) व्यवस्थापन समितिका संयोजक डा. श्याम सुन्दर यादवले अस्पताल परिसर भित्रै क्षमता बिस्तारका लागि प्रस्ताव गरिएको जानकारी दिए । ‘छुट्टै भवन खोजेर कोभिड अस्पताल सञ्चालन गर्दाको खर्च र झन्झट भन्दा अस्पताल भित्रै व्यवस्थापन मिलाउनु पर्छ भन्ने मेरो प्रस्ताव हो’, डा. यादवले दैनिक नेपालगन्जसँग भने, ‘तर, जिल्ला भित्र कम्तिमा ५ सय शैय्याको कोभिड विशेष अस्पताल जरुरी रहेको छ ।’ डा. यादवले यथासम्भव भेरी अस्पताल भित्र र बाँकी नेपालगन्ज मेडिकल कलेज लगायत निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकारलाई सुझाव दिए ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा कोरोनाले थलिएर आफै आइसोलेसनमा रहेका छन् । अस्पतालका झण्डै दर्जन चिकित्सक कोरोनाको संक्रमणको जोखिमबाट गुज्रिसकेका छन् । ‘लक्षण सहितका बिरामी बढ्दै गएकाले नै अक्सिजन सहितको बेड थप्नु अहिलेको प्राथमिकता हो’, डा. यादवले भने, ‘त्यसतर्फ सरकारको ध्यान पुग्न ढिलो हुनु हुँदैन ।’  

आइसोलेसनका लागि संवाद


भेरी अस्पताल नेपालगन्जमा थप बेडसहितको आइसोलेसन सञ्चालन गर्न पहल गरिएको छ । सम्वाद समूह बाँकेको संयोजनमा कोरोनाको बढ्दो संक्रमण, सहज र प्रभावकारी उपचार तथा आइसोलेसनको आवश्यकताका सन्दर्भमा आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित अन्तरसम्वादमा सरोकारवालाले सामुहिक प्रतिवद्धता गरेका हुन् ।
भेरी अस्पतालमा अक्सिजन सुविधा सहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भिर विरामीहरुको संख्या बढ्दै गएपछि थप आइसोलेसन सहितको सेवा अनिवार्य देखिएको हो ।  भेन्टिलेटर सहितको सुविधायुक्त आइसोलेसन व्यवस्थापन तथा सञ्चालनको माग बढदै गइरहेका बेला सार्वजनिक सरोकारका सावालमा क्रियाशिल समूहले सरोकारवालावीच थप  समन्वय र सहकार्यका लागि सम्वाद सहजीकरण गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङको विशेष उपस्थितिमा जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवाबीच कोरोना संक्रमितको प्रभावकारी उपचारका लागि गर्न सकिने पहल बारे अन्तर सम्वाद गरिएको थियो ।
कार्यक्रममा सहभागि सम्वद्ध विज्ञले बाँकेमा दैनिक ३० जनामा (औसतमा) कोरोना पोजेटिभ देखिइरहेको स्थितिमा अब थप संक्रमितलाई राख्न सक्ने अवस्था नभएको भन्दै तत्काल भेरी अस्पतालमै थप बेड व्यवस्थापन नै सर्वोत्तम विकल्प भएको औंल्याए ।
भेरी अस्पताल कोरोना विशेष अष्पतालका कोभिड कमाण्डर डा. श्याम सुन्दर यादवले भेरी अस्पताल भित्रै थप आइसोलेसन सञ्चालन गर्नु नै उत्तम हुने दाबी गर्दै थप बेड राख्न सकिने ठाउँ पनि रहेको बताए । उनले त्यसको व्यवस्थापनका लागि सामुहिक इच्छाशक्तिको आवश्यकता पनि औल्याए । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालभित्रै थप डेढ सय बेड राख्न सकिने स्थानहरुको व्यवस्थापनका लागि सहयोगको अपिल गरेका थिए ।
बाँकेका प्रमख जिल्ला अधिकारी अधिकारी एवं जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्र प्रमुख कुरुम्वाङले भेरी अस्पतालमै आइसोलेसन व्यवस्थापन र सञ्चालनको लागि हर सम्भव प्रयास गरिएको भन्दै सबै पक्षको सहयोगको खाँचो रहेको बताए ।
नेपालगन्ज उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख उमा थापा मगरले आइसोलेसनको आवश्यकतालाई मध्यनजर गरेर निजी अस्पताल र होटेललाई पनि उपयोग गर्न सकिन्छ की भन्ने आशय व्यक्त गरे । भेरी अस्पतालको निर्माणाधिन ५ तले भवनमै आइसोलेसन सञ्चालन गर्ने की भन्ने वहस भइरहेका बेला शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगन्जका इन्जिनियर होमनाथ भुषालले भवन निर्माणको कार्य जारी रहेकाले प्राविधिकीय मापदण्डमा अवरोध हुने भएकाले तत्काल नयाँ भवनमा भने सञ्चालनको सम्भावना नरहेको स्पष्ट पारे ।
भेरी अस्पतालका निमित्त मेसु डा. सुमन अर्यालले कोरोना उपचार गरिरहँदा अन्य सेवा प्रभावित नहोस् भन्ने तर्फ ध्यान दिन जरुरी रहेको बताए । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका वरिष्ठ स्वास्थ्य प्रशासक धिरजंग शाहले कोरोनाबाट संक्रमित हुनै नदिने तर्फ सचेतना बढाउनु पर्ने सुझाए ।  
खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले स्थानीय तहमा पनि कोरोनो विशेष अष्पतालको आवश्यक्ता औल्याए । नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेश कनोडियाले सीमीत स्रोत साधनका वावजुद कोरोना संक्रमीतको उपचार गरिदै आइएको र थप आवश्यक सहकार्यका लागि पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
विकासका लागि नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी वली लगायतले आइसोलेसन सञ्चालनका लागि सबैको सामुहिक सहकार्यमा जोड दिएका थिए ।
सम्वाद समूह बाँकेका सहजकर्ता शुक्तऋषि चौलागाइले सहजीकरण गरेको कार्यक्रमको सहजीकरण समूहका सदस्य अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पारेका थिए । स्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता, कोभीड १९ फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेमा हाल सम्म २५ हजार पाँच सय ६ जनाले कोरोना परिक्षण गराएकोमा एक हजार ८ सय २१ जनामा पोजेटिभ देखिएको छ भने एक जार चार सय ३४ जना डिस्चार्ज भएका छन् । बाँकेमा १९ जनाको मृत्यू भएकोमा १३ जना बाँकेका र ६ जना बाहिरी जिल्लाका रहेका छन् । यस्तै २१ जना होम आइसोलेसन र ५० जना हाटेलमा रहेका छन् ।
यसैबीच समूहको सहजीकरण लगत्तै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ नेतृत्वको टोलीले अस्पतालमा थप बेडसहितको आइसोलेसनको सम्भाव्यता बारे अवलोकन समेत गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष धिताल, सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यन्वयन इकाई नेपालगन्जका इन्जिनियर विजय केशर खनाल लगायत रहेका थिए । हालै मन्त्रीपरिषद् वैठकले जिल्ला समन्वय समिति बाँकेमा रहेको ४ करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतीका लागि खर्च गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया