वैश्विक महामारीको यो बेलामा ‘चन्दा उठाएर’ अस्पताल निर्माण गर्नुपर्ने वाध्यता र लाजको समेत जस लिन तछाँड मछाड छ यहाँ । प्रवृत्ति वा घटनाका विश्लेषण हैन, कामका फेहरिस्त हैन, प्रतिवद्धताको पुर्णता हैन, ‘म’ विना हुनै सक्दैन भन्ने दम्भी बहादुरहरु नै वास्तविक ‘जस’ बहादुरहरु हुन् ।
उहिले मेरो गाउँमा एक जना जस बहादुर अंकल हुनुहुन्थ्यो । छोरा डिभी परेपछि अंकल सपरिवार अमेरिका बस्नुहुन्छ । गाउँमा समाजसेवी र मृदुभाषी अंकलका बारेमा म लेखिरहेको छैन । मेरो गाउँको अंकलको नाम जस्तो नामधारी जस बहादुरहरुको बारेमा हैन यो आलेख । व्यवहारको बारेमा हो ।
‘जस‘ बहादुर नाम हैन । प्रवृत्ति हो । ‘जस‘ लिनेहरुको विगविगी छ यहाँ । म यहि ‘जस’ बहादुरहरुको प्रवृत्ति माथि कथा हाल्दैछु ।
हाम्रा समाजमा यत्रतत्र सर्वत्र छन् । ‘जस’ बहादुरहरु खुबै कराउँछन् । कोरोना महामारीले सार्वजनिक कार्यक्रम नभएकाले भाषण कम सुनिएका छन् । तर यसको अर्थ जस बहादुरहरु नसुनिएका पक्कै हैनन् । आम संचारका माध्यमहरुमा सहज पहुँचले काम गर्छ नै । यतिले नपुगे सामाजिक संजालका आफ्ना र आसेपासेका अकाउन्ट छँदै छन् । जस लिने प्रवृत्ति एक घातक रोग हो कोरोना भन्दा पनि घातक । दुखको कुरा यो अहिले राज्यका हर निकायमा सल्केको छ ।
प्रवृत्ति वा घटनाका विश्लेषण हैन, कामका फेहरिस्त हैन, प्रतिवद्धताको पुर्णता हैन, ‘म’ विना हुनै सक्दैन भन्ने दम्भी बहादुरहरु नै वास्तविक ‘जस’ बहादुरहरु हुन् । म नै राज्य हुँ भन्ने लुई चौधौंका नयाँ अनुयायी हुन अग्रसर माक्र्सका चेला ‘जस’ बहादुरहरुलाई देखेर बाजे माक्र्स नि मरि मरि हाँस्थे होलान् ।
‘जस’ बहादुरहरुले सडकमा सिंघम स्टायलमा फोटो शेसन गरेर कोरोना छु मन्तर पक्कै हुने हैन । जसरी कोरोना संक्रमणका लागि भाइरस जिम्मेवार छ, त्यसरी नै यसको समूल नष्टका लागि भ्याक्सिन वा औषधि आवश्यक छ ।
उहिले एक जना सांसद थिए । गाउँमा भाषण गर्नु अगाडि जिल्ला विकास समिति जान्थे । जिल्ला विकास समितिमा योजना पढ्थे । भाषणमा ती योजनाहरु सबै मैले मेरो कारणले बनेको हो भन्थे । अर्का एक जन प्रतिनिधि छन्, उनी भन्छन्, म मन्त्री भइरहेको भए सबै हुन्थ्यो । हुन चाहि के भो उनलाई बाहेक कसैलाई थाहा छैन ।
स्थानीय तहका जनप्रतिनिधिहरु जस लिने काममा एक कदम अगाडि छन् । अब यो क्रम अझै बढ्ने निश्चित छ । हामीले धेरै जस’ बहादुरहरुका कुरा सुन्ने छौं । ‘जस’ बहादुरहरुलाई चुनाव लाग्ने छ । चुनावी मौसममा टिकटको गलफत्तीमा अव्वल हुन ‘जस’ बहादुरहरु मैले गरेको भन्ने छन् ।
कुनै सन्तले संकल्प गरेर समूदायले अगुवाइ गरेर बनाएको क्यान्सर अस्पताल खजुरा र भेरी विशेष कोभिड अस्पतालमा आन र तानको फरक छ । र, फरक देख्नुपर्छ । वैश्विक महामारीको यो बेलामा ‘चन्दा उठाएर’ अस्पताल निर्माण गर्नुपर्ने वाध्यता र लाजको समेत जस लिन तँछाड मछाड छ यहाँ । नागरिकले सहयोगको प्रचार गर्न पाउँछ । किनकी उसले छाक काटेर सहयोग गरेको हो । तर राज्यका नेतृत्वदायी व्यक्ति र प्रशासकले पाउँदैन । किनकी त्यो उसको जिम्मेवारी हो ।
जिम्मेवारी र जवाफदेहीता नबुझे पछि ‘जस’ बहादुर प्रवृत्ति हुर्किन्छ । संगठन र एकतालाई नबुझे पछि ‘जस बहादुरहरु फुक्का फाल हुन्छन् ।
नागरिकले तिरेको तिरोको सहि सदुपयोग गर्दै तिनको सेवा गर्नुलाई कर्तव्य सम्झने जो कोहि पनि मेरो कारणले भएको भन्ने कुरा गर्दैन । गर्न सक्दैन । यसैले त एशियाली विकास बैंकको सहयोगमा बनेको जमुनाहा–कोहलपुर सडक खण्डका बारेमा एशियाली विकास बैंकसंग परियोजनामा हस्ताक्षर गर्ने मन्त्रीमण्डलका प्रमुख तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले जस लिने काम कहिल्यै गरेनन् ।
‘जस’ बहादुरहरुले हेक्का के राख्न जरुरी छ भने जस बहादुरहरु नभए नि विकास हुन्छ नै । नाली बन्छ नै । सडक वा गाउँमा बत्ती बाल्न अमूक ‘जस’ बहादुर चाहिंदैन । बरु त्यसको नियमित मर्मत सम्भारका लागि कुशल व्यवस्थापकीय क्षमता आवश्यक पर्छ ।
नेता हुनु भनेको समाजको अगुवाइ गर्नु हो । अगुवा हुनु भनेको समाजको विश्वास जित्नु हो । नागरिकको विश्वासमा खरो उत्रिसकेको जन प्रतिनिधिले तिनीहरुको भलाइमा काम नगरेर के गर्ने हो ? विकास कसैको कृपाले नागरिकले पाउने त्याज्य वस्तु हैन । त्यो उनीहरुको अधिकारको कुरा हो । त्यहि अधिकार प्राप्तीको आन्दोलनमा खारिएकाहरु नै अहिले नागरिकलाई रैती सम्झिदै मैले, मेरो कारणले भन्ने भ्रममा छन् ।
र अन्तमा, नागरिकको आत्मसम्मानपुर्ण जिउन पाउनुपर्ने नैसर्गिक अधिकारको संरक्षणमा आफ्नो ध्यान केन्द्रित गर्दै जिम्मेवारी निभाइदिए पुग्छ । जवाफदेही भैदिए पुग्छ । यसका लागि आफुले प्रतिवद्धता व्यक्त गरेको घोषणापत्र पढेर कार्यान्वयन गरिदिए पुग्छ । आखिर जन्मिने बेला देखि कात्रोमा बेरिएर घाटमा जल्दासम्म नागरिकले राज्यलाई कर तिरिरहेका छन् । बस् नागरिकका पक्षमा तिनको सदुपयोग गरिदिए पुग्छ । जय ‘जस’ बहादुर ।
प्रवृत्ति वा घटनाका विश्लेषण हैन, कामका फेहरिस्त हैन, प्रतिवद्धताको पूर्णता हैन, ‘म’ विना हुनै सक्दैन भन्ने दम्भी म बहादुरहरु नै वास्तविक ‘जस’ बहादुरहरु हुन् ।