दैनिक सयौं नेपाली भारत जाँदै
गत चैत्र ११ मा नेपालमा कोरोनाको जोखिमका कारण भएको लकडाउनको करिब अन्त्य भएको छ । भारतमा पनि चैत्र महिनामा लगाइएको लकडाउनको अन्त्य गरिएको छ । तर, दुवै देशमा कोरोना भने नियन्त्रणमा आएका छैनन् । भारतमा दैनिक झण्डै १ लाखसम्म कोरोना संक्रमित फेला परिरहेका छन् । नेपालमा १ हजारदेखि २ हजारसम्म दैनिक कोरोना संक्रमित थपिंदैछन् ।
भारतमा कोरोनाको कहर बढ्दै जाँदा लाखौं नेपाली अनेकौं दुःख र कष्ट सहँदै नेपाल फर्किए । कतिपय नेपाली सयौं किलोमिटर हिडेरै नेपाली सीमासम्म आए । भारतमा कोरोनाका कारण आर्थिक क्षेत्र ठप्प भएपछि रोग र भोकसँग जोगिन नेपाल फर्किएका नेपाली भारतमा लकडाउनको अन्त्य हुँदै आर्थिक क्षेत्र सञ्चालनमा आएपछि रोजगारीका लागि फर्किन लागेका छन् । भारतमा कोरोनाको अत्याधिक जोखिम रहेको, संक्रमित बढ्दै गएको र कोरोनाका कारण मृत्युहुनेहरुको संख्या बढ्दै जाँदा पनि भारत जाने नेपालीहरु सीमामा लामबद्ध देखिन्छन् । उनीहरुको एउटै भनाई पाइन्छ, ‘कोरोना त लागेपछि मेरिएला, यहाँ त भोकै मर्ने अवस्था आइपरिसकेको छ ।’ कोरोनाका कारण आर्थिक क्षेत्र ठप्प हुँदा देशभित्रै रोजगारीमा रहेका पनि बेरोजगार बनेका छन् । त्यसमाथि वैदेशिक रोजगारीमा गएकाहरु फर्किएपछि बेरोजगारीको अवस्था विकराल बन्दै गएको छ । विदेशबाट फर्किएको जनशक्तिलाई रोजगारीका लागि तीन वटै तहका सरकारले रोजगारमूलक कार्यक्रम ल्याएको दाबी गर्दै आएपनि त्यसले लाखौं बेरोजगारहरुलाई सम्बोधन गर्न सक्ने अवस्था छैन । त्यसैले पनि कोरोना सँग निडर हुँदै कामका लागि भारत जानेहरु दैनिक थपिन थालेका छन् ।
नेपाल–भारत सीमाको नेपालगन्ज स्थित जमुनाह नाका मात्रै नभएर खुला रहेका सबै नाकाहरुबाट भारत जान नेपालीहरु पुग्ने गरेका छन् । त्यसबाहेक सीमावर्ती क्षेत्रका बासिन्दा पनि खरिददारीका लागि भारत पुग्ने गरेको पाइन्छ ।
कोरोना कहरबाट स्वदेश फर्किएकाहरु काम नपाएपछि भारत जान लागेका हुन् । ‘गाउँमा काम छैन, जीवनयापन गर्नै धौ पर्यो के गर्ने बाध्य भएर भारत जानु परिरहेको छ’, भारत फर्किनेहरु भन्छन्, ‘विदेशबाट फर्किएका युवा तनावमा रहेका छन्, कोही जुवा तास त कोही माद्यक पदार्थ जस्तो कुलतमा फसेर समय बिताइरहेका छन् ।’
आइतबार जमुनाह नाकामा भारत जान लागेका दैलेख नौमुले गगन राना सहितको समूहले कोरोना भन्दा भोकको त्रासले भारत फर्किन लागेको बताए । ‘बेरोजारीले आफु र परिवार नै भोकले मर्ने स्थिति आएपछि भारत फर्कन तयार भए’, रानाले भने । उनीसँगै रहेका हरि विक र श्याम विक पनि रोजगारी अभावमा भारत फर्कन लागेको बताए । उनीहरु भारतको हिमाञ्चल प्रदेश जान लागेका हुन् । ‘स्याउ टिप्ने सिजन छ, सोही कामका लागि भारत जान लागेका हौं’, श्याम बिकले भने ।
‘ज्यानको माया र परिवार संग बस्ने मन त कसलाई हुँदैन र तर भोकले परिवार नै मर्ने स्थिति आयो त्यसैले हामी संग भारत फर्कनुको कुनै विकल्प नै रहेन’, अछामका पूर्ण साउदले भने । पश्चिम नेपालको पहाडि जिल्लाका नेपालीमा सुदूरपश्चिम कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट, नेपालगन्ज र भैरहवा नाकाबाट भारत जाने गर्दछन् । कोरोना कहरका बेला बेरोजगार भएर घरमा बस्नेहरु जस्तै बाध्यताले मुग्लान पस्नेहरु पनि तनावकैबीच घर छाडिरहेका छन् । कोरोना भाइरस संक्रमणको चिन्ताले गत चैत वैशाखमा स्वदेश फर्किनेहरु अहिले फर्किरहेका हुन् ।
लामो समय लकडाउन हुँदा बिहान बेलुका हातमुख जोर्न पनि समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्तनगरपालिका–१३ का सन्त सुनारले बताउँछन् ।
‘सरकारले घरमै बसेर सुरक्षित रहनुस भन्छ तर हामीसँग छाक टार्ने अन्न नै छैन, अब के खाएर बाँच्नु ?,’ लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भने, ‘यतिखेर महामारी छ र हामी सर्वसाधारणहरुका लागि झन् ठूलो कष्ट छ, यस्तो समयमा जाने कि नजाने भन्ने दुविधा भए पनि आखिर जानैपर्ने हाम्रो बाध्यता हो ।’ उनले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीयहरु विदेशिन बाध्य रहेको बताए ।
‘भारत कोरोनाको चपेटमा राम्ररी परेको समचार त सुन्यौँ तर के गर्नु हामीलाई त्यतै जानुपर्ने पनि बाध्यता आइलाग्यो,’ यहाँको कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले दुखेसो पोख्दै भने, ‘रोगले भन्दा भोकले मर्ने स्थिति आउनुभन्दा जेसुकै पर्ला भनेर मजदुरीका लागि हिडेको हुँ ।’ उनले लकडाउनमा परिवार पाल्न निकै नै समस्या भएकाले भारत जान लागेको जानकारी दिए । ‘चैतमा कोरोना त्रासले घरबाट फोन गरेर बोलाएर आइहालेँ,’ उहाँले भने, ‘भारतमा मजदुरी गरेन भने परिवार पाल्नै मुस्किल पर्छ ।’
यही क्रममा गड्डाचौकी नाका हुँदै भारत गइरहेका भीमदत्तनगरपालिका–१३ का इन्द्र सुनारले पनि आफू बाध्यताले परिवारसहित भारत जान लागेको बताए । ‘धेरै समय महाकाली नदीमा बालुवा छानेर पनि परिवारको खर्च चलाएँ,’ सुनारले भने, ‘पाँच वर्षदेखि भारत गएर मजदुरी गर्दैछु ।’ उनले पनि स्वदेशमा रोजगारीका अवसर नहुँदा विपत्का बेला पनि मुलुक छोडुन परेको बताए ।
साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन् । धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । ‘छोराले विदेशमा कमाएर एउटा ओतबस्ने घरसम्म त बनाउँला भन्ने सोचेको थिएँ,’ सीतारामले दुखेसो पोख्दै भने, ‘छोरो केही दिनअघि रित्तो हात घर फर्कियो, अब दैनिक जिवीकाको त कुरै भएन ऋण कसरी तिर्ने भन्ने भएको छ ।’ सीताराम पनि पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया काम गरेर केही वर्षअघि फर्किएका थिए ।
‘छोरा कमाउला र म घरको रेखदेख गरौँला भन्ने सोचेर बसिरहेको थिएँ,’ उनले भने, ‘बरु अब यहीँ केही काम पाइन्छ कि भनेर खोज्नुपर्ने भएको छ, तर हामीलाई रोजगारी पनि कसले देला र ?’ उनले दैनिकी चलाउन गाउँमा मजदुरी पाउन समेत गाह्रो भइरहेको बताए । ‘आफूसँग भएको जग्गामा केही आयमूलक व्यवसाय गरौँ छाडा गोरुले सखाप पार्छन्,’ उनले भने, ‘मजदुरी गर्न भारत जाऔँ त्यहाँ कोरोना बढेको समाचार दिनदिनै सुन्दा जानै मन लाग्दैन, मनभरि डर मात्र छ ।’ उहाँको पाँच जनाको परिवार छ । उनीहरुलाई खर्च जुटाउन पनि जारी बन्दाबन्दीका कारण निकै नै समस्या भइरहेको उनले बताए ।
कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका जितसिंह बडायकको परिवार पनि यतिबेला आर्थिक समस्याले ग्रसित छ । रोजगारी गर्ने छोरो घरमा थन्किएर कामविहीन रुपमा बस्नु परेपछि चिन्ता र तनाव बढेको छ । ‘म भारतको गुजरातमा होटलमा मजदुरी गर्न थालेको ८ वर्ष भयो,’ कोरोनाको डरले दुई महिनाअघि घर फर्किएका बडायकले भने, ‘अहिले यहाँ घरमा साबुन किन्ने खर्च समेत छैन, सरकार साबुन पानीले हात धुनु भन्छ त्यही साबुन कसरी जुटाउने भन्नेसम्मको समस्या आएको छ ।’
होटलमा मजदुरी गरेर मासिक रु २५ हजार कमाउने गरेका बडाउकले गाउँ फर्किएपछि बेरोजगारी फारम भरे पनि कुनै कार्यक्रम नआएको बताए ।
होटल बन्द भएपछि केही समय भारतमा बेरोजगार बसेका बडायक नेपाल–भारत सीमा खुल्ला भएपछि घर फर्किएका थिए । ‘दश जनाको परिवार छ कमाउने कोही छैन,’ उनले भने, ‘म कामविहीन हुँदा घरका अरु सदस्य पनि खर्च कहाँबाट चलाउने भनेर चिन्तामा छन् ।’ कोरोनाको डरले आफू तीन वर्ष पछि भारतबाट फर्किएको उनको भनाई छ । ‘कमाएर ल्याएको सकिसक्यो । फेरि भारत जाने विचारमा छु,’ उनले भने, ‘न हातमा त सीप छ नत यहाँ केही गर्न लगानी नै ।’