सकिन्छ तत्काल यो समस्यालाई सम्बोधन गरी निकास दिनु पर्यो सकिन्न भने तत्काल कुर्सी त्याग्नु पर्यो। हरेक नेपालीले स्वदेश मै काम पाउनुपर्छ यो जिम्मेवारी सरकारको हो। नेपालको ईज्जत र नेपाली को स्वाभिमान जोगाउन सकिन्न भने कुन नैतिकताले कुर्सीमा बसिरहने ? सरोकारवाला निकायले गम्भिर भएर सोच्नु मात्र होइन अब केही गर्नुपर्ने बेला भएको छ। समस्त जनतालाई रोजगारीका प्रशस्त अवसरहरु देशभित्रै सिर्जित गर्नुको विकल्प छैन।
आर्थिक समृद्दिको सुचकांक हेर्ने हो भने हामी धेरै तल अर्थात पुछार तिरै छौँ। नेपाल र नेपाली भनेर गौरव गर्ने अरु धेरै कारणहरु होलान तर समृद्दिको सवालमा हामीहरुको अरुका अगाडि सामान्य कुरा सम्म गर्ने हैसियत छैन। कुरा गर्न त केही आधार या पुर्वाधार चाहिन्छ जुन हामी सँग छँदै छैन ।
कुनैपनि देश समृद्द हुन धेरै कुराहरुको संयोजन मिलेको हुनुपर्छ। शान्ति र अमन –चैन, व्यबहारिक र व्याबसायिक शिक्षा, उत्तम स्वास्थ्य सेवा, देशभित्रै योग्यता र रुची अनुसारको कामको उपलव्धताले मात्र समृद्दिको बाटो कोर्ने गर्छ। जनताहरु हरेक पक्षमा सन्तुष्ट र खुशी हुनु नै वास्तविक समृद्दि हो। आज समृद्दि का विबिध पाटा मध्ये ‘रोजगार’ को चर्चा गर्ने प्रयास रहनेछ।
समस्याः
नेपालको परिवेशमा ‘समृद्दि’ कुन चराको नाम हो ? भन्ने प्रश्नको जबाब जनतासँग हुने कुरै भएन किनकी उनिहरुको समृद्दिसँग कहिल्लै संगत र सामना भएकै छैन। सरकारसँग सोध्नुभयो भने चुनावताका घोकेको त हो त्यो ‘शब्द’ ठ्याक्कै अर्थ त थाहा भएन, सिंगापुर अनि स्विजरल्यान्ड तिर पाइन्छ रे ? त्यता जाने अवसर मिले आएर भनुँला भन्ने जबाब आएन भने मार्दिनु होला !
यो नेपालको वास्तविकता हो, यहाँ जनताहरु सचेत छैनन् या राजनैतिक चेतना जानकार छैनन भनौँ भने तेलको भाउ ५० पैसा बढ्दा सडक तताउछन्। तर सरकार जनता प्रति यति विघ्न अनुत्तरदायी हुँदा त्यसका विरुद्द कहिल्लै चुँक्क बोल्दैनन। यहाँ कुनै एक सरकारको कुरा छैन अहिलेसम्म उत्तरदायी र जबावदेही एउटा पनि सरकार मैले त देखे–सुनेको छैन। कान नचिरिएको जोगी देखिएको छैन।
राणा, राजा, बहुदल हुँदै देशले लोकतन्त्र सम्मको यात्रा तय गरिसकेको छ तर न देश चलाउनेको नियत बदलियो न देश र जनताको नियती नै बदलियो। देश र जनता उस्तै छन, अझ बरु जनताका कति सपना लुटिए बिना योजनाका दोहनले देशको प्राकृतिक सुन्दरता लुटियो। बदलियो त केवल सत्ताको ‘स्वाद’ लिनेहरुको हैसियत ! अनि देश समृद्द कसरी हुन्छ ?
पञ्चायतका कुरा छोडौं प्रजातन्त्र आएकै तीन दशक नाघ्यो, रोजगारीका क्षेत्रमा जनताले महशुश गर्नेगरी के के प्रयास भए ? गरिएका प्रयासले के के सकारात्मक परिवर्तन ल्यायो ? सरकार सँग छाती फुलाएर भन्न सक्ने केही तथ्यांक छ ?
विश्वास गर्नुस् त्यस्तो केही छैन, बरु पञ्चायत कालमा सरकारीस्तरमा खुलेर हजारौंलाई रोजगारी प्रदान गरेका सयौं उद्योग बन्द गरिए। नयाँ उद्योग खोलेर रोजगारीको अवसर बढाउने सोंच त परै जाओस भएका उद्योगलाई बन्दगरी उल्टो भएको रोजगारी खोसियो। प्रजातन्त्रबाट देश लोकतन्त्रमा गएको पनि दशक नाघी सक्यो तर रोजगारी क्षेत्र का समस्या ज्युं का त्युं छन्।
यस्तोमा राजनैतिक रुपमा शासन प्रणालीको परिवर्तनको के अर्थ ?
जनताका समस्या सम्बोधन हुँदैनन् भने ‘राजा’ को स्थानमा राष्ट्रपति आएको के अर्थ ? एउटा नेपालीलाई परिवार पाल्नकै लागि काम खोज्न परदेश जानुपर्छ भने के को लागि सरकार चाहियो ? जति पटक सरकार फेरिए उति पटक फरक–फरक नेताहरुको जिवनस्तर फेरियो। पढे–लेखेको युवाले कुनै काम पाउदैन तर २–४ कक्षा मात्र पढेकाहरु निती–निर्माणको तहमा पुग्छन अनि देश कसरी बदलिन्छ ?
समाधानः
रोजगारीका क्षेत्रमा देखिएका जटिल समस्या समाधानका बारेमा चर्चा निम्नानुसार गरौँ ।
क) स्व–रोजगारको वातावरण बनाउनेः मेरो बिचारमा विबिध रोजगारी मध्य स्व–रोजगार उत्तम विकल्प हो। यसका लागि ज्ञान, संस्कार, प्रेरणाका अलावा उचित वातावरण पनि चाहिन्छ।
ज्ञान स्वयम, संस्कार परिवारबाट, प्रेरणा समाजबाट र काम गर्ने वातावरण निती–निर्माताहरुले तयार गरिदिनु पर्छ। स्व–रोजगारको दायरा पनि निक्कै फराकिलो छ, जो कोहिलाई आत्म-निर्भर बनाउने यो उत्कृष्ट माध्यम हो।
प्राविधिक शिक्षा, शिपमुलक तालिम, कृषिक्षेत्रमा व्यापक अवसर, स–साना उद्यमका लागि आर्थिक सहयोग गर्ने जस्ता कुरामा नितिगत परिवर्तनले स्व–रोजगारलाई बढावा दिन सकिन्छ। यस्तो रोजगारीमा मालिक स्वयम आँफै हुने हो। स्व–रोजगार ! बेरोजगारी समस्या समाधानको सबैभन्दा दिगो र भरपर्दो माध्यम हो सरकारले यसलाई उच्च प्राथमिकतामा राखेर अघि बढनुपर्छ।
ख) आन्तरिक रोजगार सिर्जनाः यो रोजगारीको आम प्रकार हो, स्वदेशमैं भएका उद्योग-धन्दा, व्यबसायिक प्रतिष्ठान, स्कुल, कलेज, बैंक, कृषि पर्यटन, यातायात, अस्पताल, सरकारी, गैरसरकारी कार्यालय, निजीक्षेत्र आदी–इत्यादीबाट सिर्जित रोजगारीका अवसर यस अन्तर्गत पर्छन्।
यस्तो रोजगारीलाई सामान्य भाषामा नोकरी गर्नु भनिछ। मध्यम र निम्न बर्गका मानिसहरुको जिविकोपार्जनको प्रमुख माध्यम यही हो। प्रायः शिक्षितहरु राम्रो पदमा आसिन हुन्छन् क्षमतावानहरु लोकसेवा मार्फत सरकारी सेवामा प्रवेश गर्छन्। सरकारी नोकरीलाई सुरक्षित भविष्यको उपमा पनि दिइन्छ।
कम पढे-लेखेकाहरु निजी क्षेत्रका उद्योगहरुमा मजदूरका रुपमा काम गर्छन। बेरोजगारहरुको संख्या भन्दा कामको अवसर धेरै कम छ। तसर्थ सरकारले उद्योग-धन्दा लाई बढावा दिने निती ल्याउनै पर्छ। जती धेरै उद्योग खुल्लान त्यति धेरै रोजगारीको सिर्जना हुने हो। त्यसै गरी कृषि क्षेत्रमा पनि धेरै रोजगारीको सम्भावना छ यसको नतिजामुखी पहलकदमी सरकारबाट अविलम्व हुनुपर्छ।
ग) वैदेशिक रोजगारलाई दुरुत्साहित गर्नेः वैदेशिक रोजगारीको कहालीलाग्दो अवस्थालाई मध्यनजर गरी सरकारीस्तरबाटै तत्काल प्रभावकारी कदम ऊठाइनुपर्छ। आफ्ना देशका जनता अरु देशमा काम गरी जिविकोपार्जन गर्नु भनेको समग्र देशको लागि लाजमर्दो कुरा हो।
अहिले यस्तो महामारीको बेला पनि राज्यबाट सकभर काम नभए मामको अपेक्षा गरेका लाखौं बेरोजगार जनता भोकको अगाडि विवश भई कामको खोजिमा भारत जान सिमामा लामबद्द छन्।
निरिह, लाचार, देशभित्र राज्यबाटै अपहेलित भई मात्र आफ्नो र परिवारको भोक मेटन कै लागि परदेश जानुपर्ने यो कस्तो लज्जास्पद बाध्यताः सरकार त्यही दृष्य लाज पचाएर टुलुट्लु हेरिरहेको छ। यो घोर अपराध हो अविलम्व सीमाको यो परिदृष्य बन्द हुनुपर्छ। सकिन्छ तत्काल यो समस्यालाई सम्बोधन गरी निकास दिनु पर्यो सकिन्न भने तत्काल कुर्सी त्याग्नु पर्यो।
यसका अलावा कामका लागि तेस्रो मुलुक जानु पर्ने अवस्थाको पनि अन्त हुनुपर्छ। हरेक नेपालीले स्वदेश मै काम पाउनुपर्छ यो जिम्मेवारी सरकारको हो। नेपालको ईज्जत र नेपाली को स्वाभिमान जोगाउन सकिन्न भने कुन नैतिकताले कुर्सीमा बसिरहने ?
सरोकारवाला निकायले गम्भिर भएर सोच्नु मात्र होइन अब केही गर्नुपर्ने बेला भएको छ। समस्त जनतालाई रोजगारीका प्रशस्त अवसरहरु देशभित्रै सिर्जित गर्नुको विकल्प छैन।
यसतर्फ स्पस्ट र प्रभावकारी निती तत्काल ल्याएर हरेक क्षेत्रमा सरकारप्रती निराशावादी रहेका जनताको मुहारमा खुशी ल्याउनै पर्ने देखेको छु।