व्यवसायी भन्छन्, यात्रु छैनन्, यात्रु भन्छन्, ‘सिटनै पाइँदैन’
आइतवार साँझ कोहलपुरका लागि बस चढ्न पुष्पलाल चोक पुगेका चिसापानीका गणेश विष्ट तीन छक परे । ‘बस चढौं, भरिभराउ खुट्टा राख्ने ठाउँ छैन, न चढौं घर जाने अर्काे विकल्प पाइएला नपाइएला ?’
बाध्य भएका उनी कोचाकोच बसमैं ४५ मिनेटमा गन्तव्य पुगे । ‘ सिटमा बस्न पाइएन, पैसा भने अरु बेलाभन्दा निकै बढी तिरियो,’ विष्टले असामान्य अवस्थामा यसरी यात्रा गर्नुपर्ने बाध्यतालाई पनि हेक्का नराखिएको टिप्पणी गर्दै भने, ‘यसको अनुगमन गरिएन भने बरबाद हुन्छ ।’
सार्वजनिक यातायातको अनुगमन पटक्कै भएको छैन । यातायात मजदूर आफैपनि जोखिममा पर्ने गरि मापदण्डको पटक्कै पालना गरिएको छैन । ‘उनीहरु चेैत्र अघिको सामान्य अवस्थामा जस्तै काममा फर्किएको देख्न सकिन्छ,’ विष्ट भन्छन्, ‘बरु झन् धेरै पैसा असुल्न सकिने मौका पो बुझिएको हो कि ?’
छ महिनापछि सुचारु भएको सार्वजनिक यातायात सेवाको चौथो दिननै व्यवसायीहरुले यात्रु नपाएको गुनासो गरिरहेका छन् । यात्रुहरु भने सिट नपाइएका गुनासा गरिरहेका छन् । विमान सेवालाई दिइएको सहुलियत माग गरेका व्यवसायीहरु सिट क्षमता अनुसार यात्रु राख्न पाउनुपर्ने माग पनि गरिरहेका छन् ।
‘यात्रु पाउँदा मापदण्डका चक्करमा छाडेर, खाली हुँदा के गर्ने ?’ आइतवार अपरान्ह धम्बोझीमा कोचाकोच यात्रु ओसार्दै गरेका म्याजिक भ्यानका चालकले चिउँडोमा रहेको मास्क अझै तल सार्दै भने, ‘नियम बनाउनेले यात्रु पनि सधैं ५० प्रतिशत सुनिश्चित गरिदिन्छन् ?’ उनको तर्क थियो यात्रु जुनसुकै बेला पाइँदैन, हुने बेला सकेजति हाल्ने हो ।
उपभोक्ता हित संरक्षण मञ्चले यसलाई सरासर ठगी भनेको छ । ‘यो उपभोक्ता ठगी हो, नियमनकारी निकायले हेर्नु पर्छ,’ कानुन व्यवसायी समेत रहेका मञ्चका अध्यक्ष बसन्त गौतमले दैनिक नेपालगन्जसँग भने, ‘भाडा पनि बढी लिने, यात्रुपनि कोच्ने ?’
आज सोमवार छ महिनादेखि अवरुद्ध नेपाली विमानहरु आन्तरिक उडान भर्दैछन् । सिट क्षमताको ५० प्रतिशत यात्रु उडानको सरकारी मापदण्डलाई उल्ट्याएर पुरै क्षमतामा उडान भर्न पाउने गरि सहमति जुटाउन सफल विमान सेवा जस्तै आफुहरुलाई पनि सहुलियत दिइनुपर्ने माग यातायात व्यवसायीहरुको छ । ‘यसबारे यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग पुनःविचारका लागि कुरा गरिरहेको छ,’ महासंघका उपमहासचिव डेकनाथ गौतमले भने ।
गाडीमामात्रै होइन, सडकमैं यात्रु तान्ने संस्कार पनि उस्तै छ । नेपालगन्ज बसपार्कमा प्रवेश गर्दा अपनाइनुपर्ने कुनै मापदण्ड छैन । नत भौतिक दुरी नत सेनिटाइजरको पर्याप्त उपयोगिता । अधिकाँश विना मास्ककै देखिन्छन्, मास्क लगाएकाहरु अल्पमतमा परेको जस्तो मानेर होला कतिपय भित्र पसेपछि चिउँडोमा झार्छन् ।
किन हो यतिविघ्न लापरबाही ? दैनिक नेपालगन्जको जिज्ञासामा यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव गौतमले लामो फेहरिस्त सुनाए । सार थियो, ‘हामी एकाध कम्पनि बाहेक सबैको जिम्मा लिन सक्ने अवस्था छैन ।’ उनले बसपार्कदेखि सडक यात्राभित्रको अव्यवस्थाप्रति जानकार देखिए । ‘यही अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयमैं गएर अनुगमन गर्न र दोषी पाइए ठाउँका ठाउँ कारबाही गर्न ध्यानाकर्षण गराइएको छ,’ जिल्लाकै पुराना व्यवसायीहरुको भेरी बस व्यवसायी प्रालिका अध्यक्ष समेत रहेका गौतमले भने ।
बाँकेमामात्रै २१ वटा सार्वजनिक यातायात सञ्चालन इजाजत सहितका कम्पनि छन् । ‘झोले र दलाल कम्पनिलाई सरकारले तह नलगाएसम्म यो व्यवस्थापन हुँदैन,’ व्यवसायी अगुवाहरु भन्छन् । यात्रु तान्नेदेखि मनपरि भाडा असुल्नेसम्मका बेथिति बढेको व्यवसायीहरुनै स्वीकार गर्छन् । ‘प्रहरी–प्रशासन गम्भीर हुनैपर्छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता गौतमले भने, ‘कानुन बमोजिम नचल्नेलाई कारबाही गरेर दण्डहीनताको अवस्थालाई तत्काल नियमन गर्नुपर्छ ।’