कोरोनाः बाँकेमा थप एकको मृत्यु

बाँकेमा शनिबार थप एक जना संक्रमितको मृत्यु भएको छ । कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्ज २१ पुरैनीका ५९ वर्षीय पुरुषको शनिवार राती ११ः३० बजे मृत्यु भएको हो ।( हेर्नुस् विवरण) यो संगै बाँकेमा संक्रमित मृत्युको संख्या १० पुगेको छ ।


थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० महिला सहित ४३ जनामा संक्रमण पुष्टि भएको मध्ये भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ३३, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ८ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा २ जनाको नतिजा पोजेटिभ आएको हो ।
जिल्ला जनस्वास्थ्यका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, योसंगै जिल्लामा संक्रमितको संख्या एक हजार पाँच सय ९० पुगेको छ । कोरोना निको हुने एक हजार दुई सय तीन छन् । आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या तीन सय ७८ छ भने कोरोनाबाट ९ जनाको ज्यान गएको छ ।
मुलुकभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ११ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिए । संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया