बाँकेमा होम आइसोलेसन, निषेधाज्ञा हट्यो

बाँकेमा प्रत्येक साता शुक्रवार र शनिवार लगाइदै आएको निषेधाज्ञा हटाइएको छ । आज बुधबार बसेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले जिल्लामा होम आइसोलेसनको व्यवस्था सहित निषेधाज्ञा हटाउन जिल्ला प्रशासनलाई सिफारिस गरेको हो । अहिलेसम्म धेरै जिल्लामा होम आइसोलेसन कार्यान्वयनमा आइसकेपनि बाँकेमा लागु हुन सकेको थिएन । अवस्था हेरेर अब संक्रमित आफ्नै घरमा निश्चित मापदण्ड पालना गरेर बस्न सक्नेछ । त्यसको अनुगमन सरकारी संयन्त्रले गर्नेछ ।
निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा बसेको बैठकमा निषेधाज्ञा हटाइरहँदा मापदण्ड पालनामा थप कडाइ गर्ने र त्यसको अनुगमन गर्ने निर्णय पनि गरेको छ । (हेर्नुस् निर्णय)


बुधवारमात्रै थप १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ५ जना महिलासहित १० जना डिस्चार्ज भएको जानकारी दिए । मंगलबार ४३ जना नयाँ कोरोनाका संक्रमित थपिएका थिए भने संक्रमित भइ उपचार गराइरहेका ४२ जना भने निको भएका घर फर्किए ।
यो सङ्गै बाँकेमा ४ सय १६ जना सक्रिय संक्रमित पुगेका छन् । कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय १२ पुगेको छ । जसमध्ये, ८ जनाको मृत्यु भइसकेको छ भने १ हजार ८८ जना कोरोना मुक्त भइ डिस्चार्ज भइसकेका छन् । ४ सय १६ जना सक्रिय संक्रमितहरु विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँके जिल्लामा मंगलबार ४२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २४ पुरुष र १८ महिला रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया