स्वदेश फर्किएका युवाका लागि स्वरोजगार

राप्तीसोनारी गाउँपालिका बाँकेमात्रै होइन नेपालकै सबैभन्दा ठूलो गाउँपालिका हो । प्राकृतिक श्रोत र साधनले भरिभराउ तथा निकै सम्भावना बोकेको राप्तीसोनारी गाउँपालिकाको समग्र विकास, योजना र कार्यक्रमका विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतसँग दैनिक नेपालगन्जका लागि पत्रकार सौरभ गिरीले गरेको संवाद आजको विशेषमा ।

कृषिमा सुपरजोन कार्यक्रम, अनुदानका कार्यक्रमहरु, स्थानीय उत्पादन बढोत्तरी गर्ने कार्यक्रमहरु कार्यान्वयन गरेर विद्यमान समस्याको समाधान गरिनेछ । अघिल्लो आर्थिक बर्षमा समेत कोरोनाका कारण स्वदेश फर्किएका युवाहरुको लागि स्वरोजगारमूलक कार्यक्रम संचालन भएको थियो ।

राप्तीसोनारी गाउँपालिकाले अहिले कस्ता योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?
गाउँपालिकाले अहिले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विद्युतजस्ता योजना तथा कार्यक्रम प्राथमिकतामा राखेर काम गरिरहेको छ । यस्ता योजनाहरुले राप्तीसोनारी गाउँपालिका समृद्ध बन्नेछ भन्ने हाम्रो विश्वास हो ।

जनताका आकांक्षा धेरै छन्, योजना पनि त्यही किसिमले माग भइराखेको हुन्छ, गाउँपालिकाको सिमित बजेटले सबै कुरा एकैपटक गर्न सम्भव नि हुँदैन, यो कुरालाई कसरी व्यवस्थापन गरिराख्नु भएको छ ?
हामीकहाँ जनताबाटै योजना तथा कार्यक्रमहरुको माग हुने र त्यसलाई बजेट मार्फत सम्बोधन गर्ने परिपाटी भएकाले एकैसाथ धेरै योजना तथा कार्यक्रमहरुको माग भएको हुन्छ । त्यसलाई विकासको राष्ट्रिय लक्ष्य, उद्देश्य तथा नीति कार्यक्रम, योजना कार्यक्रमको आवश्यकता, लाभ हानी विष्लेषण गरेर प्राथमिकीकरण गरी जनताका आकांंक्षालाई सम्बोधन गर्ने गरिएको छ ।
जनअपेक्षा अनुरुप काम हुन नसकेको जस्तो लाग्दैन ?

जनअपेक्षा हामीबाट धेरै नै छ । त्यसैले सबै जनअपेक्षालाई एकैचोटी एकै समयमा पूरा गर्न त नसकिएला तथापि अधिकतमरुपमा नागरिकलाई सन्तुष्टि दिन हर प्रयास गरिरहेका छौं ।
नदीजन्य पदार्थबाट कत्तिको राजश्व उठिरहेको छ ?
गत आर्थिक बर्ष ०७६र०७७ मा ४ पटक ठेक्का खुल्दा समेत विभिन्न कारणले ठेक्का लाग्न नसकेकोले लक्ष्य अनुरुप राजश्व उठ्न सकेन । यस आर्थिक बर्षमा नदीजन्य पदार्थबाट २० करोड भन्दा बढी राजश्व उठाउने लक्ष्यका साथ अगाडि बढेका छौं । यसको लागि हालै बोलपत्र समेत आह्वान भइसकेको छ ।
नदी दोहनका कुरा पनि बेला बेला आउँछन्, राजश्व छलि पनि भइराखेको सुनिन्छ, यसमा गाउँपालिकाले कस्तो भूमिका निभाइरहेको छ ?
नदीजन्य पदार्थ उत्खनन् भनेकै प्राकृतिक श्रोतको दोहन नै हो । तथापि यसको पनि सीमा हुन्छ । वातावरणीय अध्ययन प्रतिबेदन प्रतिकूल नहुने गरी नियम कानुनको दायरामा बसेर उत्खननको काम हुन्छ । एकाध चोरीका घटना पनि देखिन्छन्, त्यसमा गाउँपालिकाको आफ्नै सुरक्षा संंयन्त्र नहुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोग लिएर नियन्त्रणमा लिई जरिवाना गर्ने गरिएको छ । यसमा यहाँहरु जस्ता संचार जगतको पनि सहयोग चाहिन्छ । नजिकको सरकार स्थानीय तह भएपनि तिनै तहका सरकारको आपसी सहयोगमा नदीजन्य श्रोतको संरक्षण र ब्यबस्थापन भएको छ ।
जिल्लाकै सबैभन्दा सम्भावना बोकेको गाउँपालिका भनिन्छ, राप्तीसोनारीको आन्तरिक आयको अवस्था कस्तो छ ?
यस गाउँपालिकामा रहेको राप्ती नदी तथा अन्य खोला नालाहरु, बाँके राष्ट्रिय निकुञ्ज, प्रचुर प्राकृतिक श्रोतहरु, कृषियोग्य भूमि र बिस्तारै बढ्दै गएका स–साना बजार केन्द्रहरुको कारण र क्षेत्रफलको आधारमा पनि ठूलो बाँके जिल्लाको आधा भाग ओगटेकोले राप्तीसोनारी गाउँपालिका सम्भावनायुक्त स्थानीय तह हो ।
पहुँच र चिनजानका आधारमा काम गरिन्छ भन्ने जनगुनासो आएको पाइयो, त्यस्तो हो र ?
पहुँच र चिनजानका आधारमा काम हुन्छ भन्ने कुरा सरासर गलत हो । त्यस्तो कदापि भएको छैन र हुन पनि सक्दैन । राज्यले सबै नागरिक बराबर भनिसकेपछि कसैलाई काखापाखा गर्न मिल्दैन । गाउँपालिकाबासी सबैलाई हामीबाट समान व्यवहार हुन्छ । त्यस्मा कुनै कन्जुस्याइँ हुँदैन ।

कोरोना कहरले सबैतिर गाँजेको अवस्था छ, यस्तोमा यतातिर कस्तो प्रभाव परेको छ ?
कोरोना कहरले अन्य क्षेत्र जस्तै यो क्षेत्र पनि ग्रसित थियो र अहिले पनि छ । राहत वितरण, क्वारेन्टाइन र आइसोलेसन ब्यबस्थापन लगायत अनपेक्षित काम गर्नुपरेको र यसले विकासका अन्य गतिविधिलाई समेत प्रभावित पारेकोमा हाल कोरोनासंगै अगाडि बढ्ने परिस्थिति बन्दैछ ।
कोभिड महामारीकै बीच चालू आर्थिक बर्षको बजेट आएको छ । कोरोनाले सबैतिर प्रभाव पारेको छ । ठूलो संख्यामा मानिसहरु बेरोजगार भएका छन् । भारत लगायत बाहिरी देशबाट मानिसहरु फर्केका छन् । अब उनीहरुलाई समेट्ने गरी कसरी अगाडि बढ्ने सोंच छ ?
कोरोनाले अन्य रोजगारीको क्षेत्रमा असर परेको भएतापनि कृषि क्षेत्रमा चाहिँ नयाँ अवसर पनि ल्याएर आएको छ । यहाँको मुख्य उत्पादन र रोजगारीको क्षेत्र भनेको कृषि नै हो । त्यसैले अन्य क्षेत्रको रोजगारी गुमाएका वा बिदेशबाट फर्केका युवाहरूलाई लक्षित गरि कृषि, पशुपालन, स्थानीय परम्परागत उत्पादनका क्षेत्रमा परिचालन गरेर बेरोजगार न्यूनीकरण गर्ने सोच छ । यसको लागि कृषिमा सुपरजोन कार्यक्रम, अनुदानका कार्यक्रमहरु, स्थानीय उत्पादन बढोत्तरी गर्ने कार्यक्रमहरु कार्यान्वयन गरेर विद्यमान समस्याको समाधान गरिनेछ । अघिल्लो आर्थिक बर्षमा समेत कोरोनाका कारण स्वदेश फर्किएका युवाहरुको लागि स्वरोजगारमुलक कार्यक्रम संचालन भएको थियो । यसमा त्यसलाई अझै भब्यरुपमा अगाडि बढाइनेछ ।
जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय चाहिं कस्तो छ ?
समग्र नेपालमा जनप्रतिनिधि र कर्मचारी वीचमा हालको अवस्थामा सम्बन्धमा त्यति न्यानोपन नभएको जस्तो बुझिन्छ । बेलाबखतमा द्वन्दका घटनाहरु पनि तपाईं हामीले देखे सुनेकै हो । तथापि यस गाउँपालिकामा हालसम्म सब ठिकठाक चलिरहेको छ । जनप्रतिनिधि र कर्मचारी मिलेर अगाडि बढिरहेका छौं ।
अन्त्यमा थप केही ?
राप्तीसोनारी गाउँपालिका बहुत सम्भावनायुक्त गाउँपालिका हो । यहाँ निकुञ्ज, राप्ती नदी लगायतका अन्य नदीनाला र कृषियोग्य भूमिका अलावा राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना समेत यहीँ छ। तसर्थ यिनको सदुपयोग गरेर पर्यटन, कृषि र निर्माण सामग्री उत्पादनको हबकोरुपमा यस गाउँपालिकालाई अगाडि बढाउन सकेमा समृद्ध राप्तीसोनारीको गन्तव्यमा पुग्न सकिन्छ । विकासको शास्त्रले पनि जहाँ जे छ त्यसको सदुपयोग गर भन्छ ।
यिनै ३ वटा क्षेत्र अगाडी बढाउन म यहाँका जनप्रतिनिधि र गाउँपालिकाबासीलाई अनुरोध गर्न चाहन्छु । गाउँपालिकाले प्रदान गर्ने सेवा सुबिधामा कुनै गुनासो भएमा तत्काल जानकारी गराई सुधारको मौका दिन आम गाउँपालिकाबासीमा अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया

प्रतिक्रिया