नेपाल–भारत सीमानाका अझै नखुल्ने भएको छ । सीमानाका खुलाउन गरिएको आग्रहमा सरकारले अहिले नखुल्ने प्रष्ट पारेको हो ।
आन्तरिक उडान र लामो दूरीका यातायातका साधन भने असोज ५ गतेदेखि सञ्चालन गरिने भएका छन् । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनदेखि बन्द भएका आन्तरिक उडान र यातायात सञ्चालनको निर्णय गरेको हो ।
सोमवारको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि लामो दूरीका गाडी र आन्तरिक हवाइ उडान सुरु गर्ने निर्णय गरेको मन्त्री स्रोत उदधृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । गत चैत १० गतेदेखि लामो दुरीको यातायात बन्द छन् । त्यस्तै, चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ । अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्तसहित खुलिसकेको छ ।
आन्तरिक उडान तथा सार्वजनिक यातायात सञ्चालनका लागि चौतर्फी दबाब बढिरहेको बेला सरकारले यो निर्णय लिएको हो । त्यसका लागि आवश्यक मापदण्ड बनाइएको बताइएको छ । यातायात व्यवसायीहरुले असोज १ गतेबाट आफै सडकमा गाडी निकाल्ने चेतावनीसहित आन्दोलनमै छन् ।