बजार खुल्योः संक्रमण उस्तै

आइतवार र सोमवारको नेपालगन्ज बजार हेर्दा कोरोना संक्रमणको जोखिमबारे प्रायः सबै बेखबर छन् । तर, बाँके जिल्लामा सोमबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ (हेर्नुस् सूची)। कोहलपुर र खजुरा बजार पनि निर्धक्क खुलेको छ । संक्रमित संख्या देशभर ५५ हजार नाघिसकेको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आज खजुराका ८, नेपालगन्ज र कोहलपुरका सात सात, बैजनाथ र राप्ती सोनारीका एक–एकसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भयो । भेरी अस्पतालनमा २७ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर नेपालगन्जको प्रयोगशालामा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार चार सय ६९ पुगेको छ । कोरोनाबाट डिस्चार्ज हुने एक हजार ३६ र आइसोलेसनमा ४ सय २५ रहेका छन् । जिल्लामा कोरोनाबाट अहिलेसम्म ८ जनाको ज्यान गइसकेको छ । तर, संक्रमण विस्तार रोक्न अपनाइएका सतर्कताका मापदण्ड पालनामा लापरबाही बढिरहेको छ ।

संक्रमित संख्या देशभर ५५ हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये ३६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामात्रै ८७९ जना डिस्चार्ज भएका छन् । हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया