कहिले काहीं आफ्नै खुट्टामा मानिसले कसरी बन्चरो हान्छन् भन्ने उदाहरणका लागि आइतवार सार्वजनिक भएको घटनाले खुलासा गर्छ । बर्दिया ठाकुरबाबा नगरपालिका –४ मैनवाकी ती महिलाले रचेको एउटा नाटकले आफै प्रहरी फन्दा निम्तिएको हो । नेपालगन्ज उपमहानगरपालिका –६ फुल्टेक्रा भाडामा बस्ने ती ३३ वर्षीया महिला अपहरणको नाटक गरि झुट्टा अफवाह फैलाएको आरोपमा प्रहरी हिरासत पुगेकी छन् ।
‘आफ्नै हर्कतले प्रहरी खोरमा पुगेकी’ ती महिला आशिक कुमारी चौधरी हुन् । प्रहरीका अनुसार, सानु दहितको नामबाट अर्कैको फोटो राखी फेक आइडीबाट ‘लभको चक्कर’ चलाएपछि जोगिन गरेको नाटकले उल्टै फन्दामा परिन् ।
पोखरा जाँदै गरेको र बीच बाटोमा लुटिए भन्दै प्रहरी झुक्याएकी उनले आफु अपहरणमा परेको बताएपछि प्रहरी हर्कतमा आएको थियो । ‘खोज्दै जाँदा कुरा सबै काल्पनिक बनाई प्रहरीलाई फोन गरेको खुलेको छ,’ बाँके प्रहरीले पत्रकार सामु आइतवार चौधरीलाई कालो मुकुन्डो लगाएर सार्वजनिक गर्दै भनेको छ ।
फेक आइडीबाट ‘पटिएका युवा’ नवलपरासीबाट भेट्न नेपालगन्जनै आउने भनेपछि आपत्मा परेकी उनले उम्कन उपाय खोजिन् । भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएकी चौधरीले भदौ २५ गते ती पुरुषलाई आफ्नो घर पोखरा पनि भएको भन्दै म नेपालगन्जबाट आफ्नै गाडीमा त्यसतर्फ हिडेको बताइन् । त्यसक्रममा ‘बीचबाटो चन्द्रौटामा पुग्दा आफु अपहरणमा परेको, गाडीको चाबी लिएर कोठामा थुनी राखेको’ जानकारी दिएपछि प्रहरीले उक्त घटनाको अनुसन्धानमा सक्रिय भएको हो । ‘शनिवार खोजीका क्रममा फुल्टेक्रा स्थित आफ्नै डेरामा महिला फेला खुल्यो सबै कुरा कथानक रहेछन्,’ प्रहरीले कानुनी कारबाही अगाडी बढाएको जानकारी दिंदै भनेको छ ।