मुस्लिम, मधेशी र दलित आदि समुदायका जुन महिलाहरुले भागेर विवाह गरिहाल्छन् तर उनलाई माइती परिवार भित्र्याउदैंन् । तिनीहरुलाई त्यो कुरा अरु बेला त खासै महसुस हुदैंन । तर, आफ्ना छोराछोरीको विवाहको बेलामा माइतको कमी असाध्यै महसुस हुन्छ । उनीहरु रोएरै आफ्नो मनको दुख लुकाउँंछन् । हो,तिनै महिलाहरुलाई माइतीको कमी महसुस न होस् भनी उद्देश्यले सखी समूह बनायौं । सात वर्षदेखि यस समूहले त्यस्ता परिवारसँग सहकार्य गर्दै आएको छ ।
शाहिदा शाह
वास्तविक घटनामा आधारित कथाको खोजिमा बाँकेको सहरी वस्ती छेउको गाउँ करमोहना पुगियो जहाँं मुस्लिम मधेशी, र दलित समुदाय सयुंक्त बसोबास छ । महिलाहरुसंग छलफल गर्ने क्रममा एउटा उदाहरणीय अभ्यास भेटियो, ‘सखीको डाल’ ।
त्यो डाल र सखी समुह बारे हामी चर्चा गर्ने नै छौं । त्यस अघि महिला पुरुष कसरी संगसगैं अगाडि बढिरहेछन् भन्ने बारे पनि कुरा गर्दा बेस होला । महिला पुरुष साझेदार हुन् किनभने पतिको सुखदुखमा पत्नी र पत्नीको सुखदुखमा पति साथ हुन्छन् । हामी हेर्ने गर्छौं कि महिलाले घरको सारा काम गर्नुका साथै बच्चा पति र परिवारको रेखदेख पनि गर्छिन् भने गाउँघरमा खेतबारीका काममा समेत हातेमालो गर्छिन् । उसको सम्पूर्ण श्रीसम्पतिको देखभाल गर्छिन् उसलाई परेको बेला सघाउंछिन् ।
पत्नीले पतिलाई यी बाहेक अरु कसरी सघाउँंदैछिन् भन्ने सन्दर्भमा कुरा गर्दा कुरो आउंछ सखीको डाल । हामी अब कुरा गर्छौं कि आखिर यो सखी र डाल भनेको के हो ? यसको सुरुआत कसरी ,कहिले कसको अगुवाईमा भयो ? यसको सुरुआत गर्नुको उद्देश्य र कारण के थियो ? अहिले यसमा कति जना महिलाहरु आबद्ध छिन् ? यसको अगामी रणनीति के छ ? आदि ।
अवधी शब्द हो सखी । यसको अर्थ महिलाको महिला नै साथी हुनु अर्थात महिलामित्र र सखी समुह भनेको महिला मित्रहरुको समुह हो । ‘डाल’ यो पनि अवधी शब्द हो र यसको अर्थ हुन्छ विवाहको शुभ घडीमा माइतीबाट आएको कोसेली अर्थात विवाहमा लगाउनका लागि चाहिने आवश्यक कपडा, श्रृंगारका सरसामानका साथै दक्षिणा स्वरुप केही नगद रकम सहितको उपहार ।
सखी समुहमा हाल करमोहना, इन्द्रगाउँ, शहादतपुर, परसपुर, कारकादौं र नेपालगन्ज गरी यी विभिन्न ठांउबाट ७३ जना महिलाहरु सदस्य छिन् । जसमा मधेशी १०जना, मुस्लिम ३२ जना दलित ३० जना र एक जना योगी गरी विभिन्न समुदायको सहभागिता र सकृयता रहेको छ । जसको उद्देश्य खुशी बाड्नु, सखीलाई माइतको कमी महसूस हुन नदिनु, आर्थिक सहयोग गर्नु समाजिक छुवाछुत र जातीय विभेद अन्त्य गर्नुका साथै महिला सशक्तिकरण गर्नु हो ।
‘यसको सुरुआत गर्नुमा मुख्य भुमिका नसीबुन शेखजी को थियो’ सखी समूहकी अगुवा तारुननिशा शेखले दैनिक नेपालगन्जसँग भनिन्, ‘उनी अहिले यो छलफलमा सहभागी छैनन् तर उनले नै यसको जग हालिन् ।’ जुन विगत सात वर्ष देखि निरन्तर चल्दै आइरहेको छ । जसबाट विवाह हुने घरमा केही हद सम्म आर्थिक भार कम भइहाल्छ र अपनत्व महसुस हुन्छ । त्यो भन्दा ठुलो कुरा सखीहरुको अपनत्व हो ।
तारुननिशाको जवाबले झन् उत्सुकता बढ्यो कि आखिर महिलाहरुलाई यस्तो सृजनात्मक र राम्रो विचार आयो कसरी ? कसले उत्प्रेरित गर्यो यिनै प्रश्नको जवाफका लागि अर्को प्रश्न गरियो ।
यसको सुरुआत कसरी गरियो कुन कुरा वा कुन व्यक्तिले उत्प्रेरित गर्यो ? भन्ने प्रश्नको जवाफमा समुहकी सदस्य रियाजुन भन्छिन्, ‘यसको सुरुआत गर्ने सोंच समुदायका परिवेशले प्रभावित भएर गरियो । हामीले अब समाजमा केही सकारात्मक पहल गरौं भनी सोचेर अगाडि गढ्यौं ।’
कति जना महिला जोडिनु भएको छ ?
समूहकी सदस्य तारावती पासी भन्छिन् ‘यसको सुरुआतमा त थोरै महिला थियौं, पछि बढ्दैं जाँदा ६७ जना सम्म सदस्य पुग्यौं । हाल यसमा दलित, मुस्लिम, मधेशी र एक जना योगी गरी ७३ जना महिलाहरु आबद्ध भइसकेका छौं ।’
यसको सुरुआत गर्नुको उद्देश्य र कारण के थियो ?
समूहकी सदस्य आमना बागवान भन्छिन् ‘मुस्लिम मधेशी र दलित आदि समुदायका जुन महिलाहरुले भागेर विवाह गरिहाल्छन् तर उनलाई माइती परिवार भित्र्याउदैंन् । तिनीहरुलाई अरु बेला त खासै महसुस हुदैंन । तर, छोराछोरीको विवाहको बेलामा माइतको कमी असाध्यै महसुस हुन्छ । उनीहरु रोएरै आफ्नो मनको दुख लुकाउंछन् । हो, तिनले महिलाहरुलाई माइतीको कमी महसूस न होस् भनी उद्देश्यले यो सखी समुह बनायौं ।’
त्यतिमात्रै होइन, यसको अरु कारण पनि छन् । जस्तै, समाजमा विद्ममान भेदभाव हटाइ समानता कायम गर्न पहल गर्नु र साथै सहयोग गर्नु पनि हो । आर्थिक भार कम गर्न केही आर्थिक सहयोग गर्नु पनि यसको उद्देश्य हो । विवाह गर्दा खर्च बढी हुन्छ तर बैंकबाट लिइयो भने त्यसको करार अवधी हुन्छ र ब्याज पर्छ । यस कारण त्यस्ता समस्या को सामना गर्नु नपरोस् भनी हामीले सबै सहभागीहरुबाट रकम संकलन गरी एकमुष्ठ दिने गरेका छौं ताकी उसको आर्थिक भार कम होस् र बैंकको भाका तिर्न करार अवधी र ब्याज तिर्ने झमेला नरहोस् ।’
त्यसरी कति रकम जुटाउनु हुन्छ ?
‘पहिले ६७ जना हुँदा प्रति व्यक्ति एक हजार उठाउँथ्यौं नगद र प्रत्येक व्यक्तिले कम्तीमा ५ के.जी. चामल दिने गरेका थियौं । तर, सदस्यहरुले आ–आफ्नो हैसियत अनुसार कसैले १० के.जी.कसैले ५० के.जी. कसैले त्यो भन्दा बढी दिदैं गर्दा ६ क्वीन्टल ३५ के.जी. सम्म चामल कपडा र श्रृंगारका सामान सहित दिएका छौं । अहिलेसम्म तीन जनालाई ‘डाल’ दिइसकेका
छौंं । जसमध्ये ६७ जना सदस्य रहँदा दुई जनालाई दिएका थियौं । त्यतिखेर चामल संकलन गर्दा सबैले आ आफ्नो खेतमा लगाएको वा घरमा राखेको रसदबाट दिने गरेका थियौं । तर त्यसरी दिएको चामल धेरै थरी हुँदा पाउनेलाई विवाहमा काम नलाग्ने देखियो । त्यसकारण अहिले ७१ जना सखी सदस्य हुँदा हामीले डाल दिने बेला अर्को निर्णय गर्यौं । समूहका अगुवा तारुननिशा भन्छिन्, हामीले चामलको सट्टा एक सय रुपिया प्रति सदस्य, डालको एक जार गरि ७८ हजार १ सय संकलन गरी त्यसबाट ५० हजारको कपडा, श्रृंगार तथा खाद्यान्न सामान दिने बाँकी सबै माइतीका तर्फबाट दक्षिणा स्वरूप डालसंगैं राखेर लग्यौं ।
सबै समुदायबाट जोडिंदै गएका महिलाहरु कसरी सबैलाई न्याय गर्छन् ? सखी समूहकी प्रतिनिधि रामकुमारी पासी भन्छिन्, ‘हामी सबै समुदायका महिलाहरुको यो साझा मंच हो जहांबाट हामीले समाजमा विद्ममान जातीय छुवाछुत र सामुदायिक भेदभाव हटाउन प्रयास थालेकाछौं ।’
यो हाम्रो सानो सुरुआत हो भेदभाव विरुद्ध जसमा बिस्तारै सफलता पनि हासिल हुनेछ । हाल हामी जति जना महिला यससंग जोडिएका छौं ती सबै जना डाल लिएर जाँदा सबैले एक अर्कोलाई गला मिलेर अंगालो हालेर बधाई दिन्छौं माइती सम्झेर एक अर्काको कांधमा शिर राखेर आंशु झार्ने आफ्नो पीडा बांड्ने सुरुआत गरेका छौं ।
विवाहमा भोज पनि खान्छौं तर परापूर्वककाल देखि चल्दै आएको रश्म (रितिरिवाज) तोड्न अझै समय लाग्ला यो अहिलेको अहिले नै परिवर्तन हँुदैंन तथापि हामी हार मान्दैनौं आफ्नो प्रयास जारी राख्नेछौं । अहिले दलित र मुस्लिमको चुल्होमा मधेशीले पकाइदिए मधेशी मुस्लिम सबैले खान्छन् । ‘तर आशा गरौं कि चांडै दलित र मुस्लिमले पस्केको खाना पनि सबैले खानेछन्,’ पासीले सुनाइन् ।
यसको अगामी रणनीति के छ ?
जवाफमा समूहकी सदस्य संगीता भन्छिन् ‘अहिलेको समयममा त हामी यसमा ७३ जना भइसकेका छौं । आगामी दिनमा हामीले अरु महिलाहरुलाई जोडेर १०० जना हुने गरी यो समूह बनाउने छौं ।
अहिले सम्म उखान थियो, ‘सय जनाको लाठी एक जनालाई बोझ’ तर अब हामीले ‘सय जना जनाको हात एक जनालाई सहयोग’ मा परिणत गर्नेछौं । यसको फाइदा यो हुन्छ की जब कुनै घरमा सखीको डाल लगिन्छ त्यसलाई एक लाख नगद र अखतको चामलका लागि दश हजार उठ्नेछ, त्यसबाट मसिनो चामल दिन सकिन्छ । सखीका डालका लागि राम्रो कपडा र श्रृंगारका सामान किनेर दिनेछौं । यसरी दिएको एकमुष्ठ एक लाख रकमबाट विवाहको आर्थिक मद्दत पुग्नेछ साथै उनलाई माइतीको माया पनि मिल्नेछ ।
विस्तारै सखी समूहका महिलाहरुलाई अन्य संघसंस्थाहरुसंग जोडेर सीप सिकाउने, नेतृत्व विकास गरी सबै महिलालाई सशक्त बनाउन पहल गर्नुका साथै अन्य स्थानमा पनि महिलाहरुलाई यसरी एकजुट भइ हातेमालो गर्न यस मंचबाट सन्देश पनि दिनु छ ।
दैनिक नेपालगन्जको टिमले विभिन्न जिज्ञासा गरिरहँदा पुरै छलफल अवधीभरी चुपचाप बसेकी रियाजुनले अभियानमा पुरुषको भूमिकाबारे सोधिएको प्रसंगमामात्र बोलिन्, ‘जब देखि यो सखीको डाल लग्ने सुरुआत गरेका छौं तब देखि धेरै परिवर्तन आएको छ ।’ समूहमा विभिन्न गाउँका महिलाहरु सदस्य छन् । जुन पुरुषले पहिला महिलाहरुलाई बाहिर निस्किन दिदैनथे उनले अहिले डाल लग्ने बेला अर्को गाउँ जान परेमा जाने इजाजत दिएका छन् रोकटोक गर्दैनन् । ‘सखीको डाल’ले विवाहको समयमा पुरुषमाथि पर्ने आर्थिक भार घटेको छ । त्यसैले पनि उनीहरु अभियानप्रति खुशी छन् । गाउँका गरिब वस्तीमा एक लाखबढी रकम सानो तिनो होइन् ।
यो अभियानले महिलाहरु संगठित भइरहेका छन्, उनीहरु प्रति समाजको विश्वास बढेको छ । अर्को कुरा डालमा आएका चामलले ५÷६ महिना नै पुग्ने गरी राशन जम्मा हुँदा पुरुषलाई त्यति दिनका लागि छाक टार्न खाद्मान्नको व्यवस्था गर्ने तनाव हुदैंन् ।
‘अनि पुरुष खुशी त हुने नै भए घरमा घरमूली पुरुष खुशी भए परिवारमा पनि शान्ति बहाल रहन्छ,’ महिलाहरुको समूह सखीका बीचबाट एक मुस्लिम महिलाले पर्दा उठाउँदै भनिन्, ‘भन्नाले डाल दिने व्यक्तिमा आफ्नो घरमा विवाह हुँदा यस्तै खुशियाली साट्ने र आर्थिक बोझ बाड्ने छन् ।’ ‘यसका अहिलेको लगानी भोलि काम आउनेछ भनेर सोचेका उनीहरु खुशी हुन्छन् भने डाल पाउनेका पुरुषहरुलाई त महिलाका कारण बोझ बाडिंदा खुशी र सन्तुष्टिको सीमा नै रहदैंन्,’ उनले भनाइ थप्दै गइन्, मैले टिप्दै गएँ ।