तस्करीको जालो बलियो हो ?

सामान्य अवस्थामा साथै भुकम्प र बर्तमान कोभिड संक्रमणको समयमा पनि मानव तस्कर र गिरोहहरूले महिला र बालिकाहरूलाई आफ्नो प्रमुख निसाना बनाएर अपराधिक कार्य गर्ने कार्य रोकेका छैनन् । नेपालमा गएको बिनाशकारी भुकम्प पश्चात मानव बेचबिखन तथा ओसारको अपराधमा बृद्धी भएको थियो । अहिलेको कोभिड १९ का क्रममा बेचबिखनका क्रम रोकिएका छैनन् ।

सन्दर्भ : मानव बेचबिखन बिरुद्धको दिवस

मानव बेचबिखन तथा ओसार पसारको अन्त्य: सुसंस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य भन्ने मुल नाराका साथ मानव बेचबिखन बिरुद्धको दिवस यसै हप्ता बिभिन्न कार्यक्रम गरि मनाइयो । मानव बेचबिखनका बिरुद्धमा आवाज उठाउने र पीडितको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यले मनाइने यो बिवस मनाई रहदा गम्भीर फौजदारी अपराधको रुपमा रहेको मानव वेचबिखनको घटना रोकिएका छैनन । बेचबिखनका शिकार भएका सबै पीडित महिलाहरुको न्यायमा सहज पहुँच पुग्न सकेको छैन ।
भारतमा कामकाजमा गएकी एक महिलालाई बिवाह गर्ने बहानामा नेपाली युवकले अनुचित प्रभावमा पारि यौन शोषण गरे । एक महिनासम्म नियमित यौन शोषण गरि सकेपछि बेचबिखन गर्ने उद्योग गर्न लागे पछि ति महिला भागेर नेपाल आउन सफल भइन । यो त एउटा प्रतिनिधिमुलक घटना मात्रै भयो । ति महिला त संयोगले बेचबिखन हुनबाट बचिन । तर कैयौ नेपाली चेलीहरु मानव बेचबिखन र तस्करीको शिकार भैरहेका छन् ।
कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको पीडित युवतीहरुको भनाइबाट खुल्ने गरेको छ । ठुलो संख्यामा मानव बेचबिखन र तस्करी भैरहे पनि सबै पीडकहरु कानूनको दायरामा आउन सकेका छैनन् । मानव तस्करीमा खेतालाका रुपमा प्रयोग भएका केही ब्यक्ति पक्राउ परे पनि मुख्य अभियुक्त र तस्करहरु कानूनी कारवाहीबाट उम्कने गरेका छन् ।
असमान विकास, गरिवी, भौगोलिक विकटता, बेचविखनका नयाँ आयामहरु थपिदै जानु, बाढी, पहिरो, भुकम्प, माहामारी लगायतका विभिन्न प्राकृतिक प्रकोप, व्यवहारिक शिक्षा नहुनु, नेपालमै उपयुक्त रोजगारी तथा अवसरको अभाव, मोवाइल, फेसबुक जस्ता प्रबिधिको दुरुपयोग लगायतका कारक पछिल्लो समय मानव बेचविखन विश्वकै दोश्रो ठुलो अन्तर्राष्ट्रिय अपराधको रुपमा बढिरहेको छ ।
बाँकेको जमुनाहा नाका मानव बेचबिखन र तस्करीको एक मुख्य नाका मानिन्छ । बर्तमान कोभिड १९ को संक्रमणका कारण सिमा नाका बन्द भएकाले घटनामा कमी आएको भएता पनि लुकिछिपी घटना घटिरहेका छन् । बाँकेको जमुनाको प्रयोग गरि दलालहरुले यति नै संख्यामा मानव बेचविखन र तस्करी गरेको भन्ने यकिन तथ्याङ्क नभएता पनि प्रहरी प्रशासन अनि मानव बेचबिखनको बिरुद्धको अभियानमा सक्रिय संघ सस्थाको सक्रियतामा सयौलाई बेचबिखन हुनबाट बचाइएको छ । मानव बेचबिखनको अपराधमा संलग्न कैयौलाई पक्राउ गरि कानूनी कारवाही गरिए पनि बिभिन्न रुपमा दलालहरुले यो नाकाको प्रयोग मानव तस्करी गरीरहेको घटनाक्रमले देखाइरहेको छ ।
बिनासकारी भुकम्पका समयमा होस वा बर्तमान कोभिड संक्रमणका समयमा पनि महिला तथा बालबालिका हराउने र बेचबिखनमा पर्ने क्रम रोकिएको छैन । पछिल्लो समय बिहेवारीको नाममा नेपाली युवतीको बिक्री गर्ने मानव तस्करीको नयाँ रुप देखिन थालेको छ । काठमाडौमा रहेका म्यारिज ब्युरो खासगरी चिनियाँ र कोरियन अधबैँसे पुरुषहरू उक्त म्यारिज ब्युरोमा आउँछन् र कलिला नेपाली युवतीलाई बिहे गरेर आफ्नो देश लगी बेचबिखन गर्ने गरेको बताइन्छ । एउटै युवतीलाई विवाह गराए बापत उनीहरूले २५ लाखसम्म लिने गरेको बताइन्छ । धेरै नेपाली युवतीलाई ‘पेपर म्यारिज’ गरेर कोरिया र चीनमा बेचि मानव तस्करीको नयाँ तरिका अपनाउन थालिएको छ । कमजोर आर्थिक अवस्था भएका युवतीहरुलाई आर्थिक प्रलोभनमा पारी विवाहको नाममा बिक्री गरिँदै आएको पाइएको छ । युवतीलाई त्यसरी बिहे गरेर लगेपछि श्रीमती होइन, नोकरजस्तो ब्यवहार गर्ने गरेको पीडित बनेर फर्केर आउनेहरुले बताउने गरेका छन् । त्यस मध्ये कतिपयलाई कष्टपुर्ण श्रम शोषण र यौनशोषण गर्ने, बन्धक बनाएर राख्ने र कतिपयलाई बच्चा जन्माउने मेसिनका रूपमा समेत प्रयोग गर्ने गरेको दर्दनाक पीडा पीडितहरुबाट सुनिने गरेको छ ।
केही वर्षयता नेपालबाट हुने मानव तस्करीको स्वरूप फेरिँदै गएको छ । मध्यपूर्वदेखि अफ्रिकी देशसम्म नेपाली युवतीहरूको बिक्री हुन थालेको छ । रोजगारीका नाममा विभिन्न देशमा पु¥याएर युवतीहरूको तस्करी डरलाग्दो रूपमा बढ्दै गएको छ । वैदेशिक रोजगारीका नाममा खाडी तथा इजरायल लगायत देशमा वृद्धवृद्धा तथा बालबालिकाको हेरचाह तथा घरेलु कामदारका लागि भनेर त्यहाँ पु¥याएर बिक्री हुने गरेको घटनाक्रमले देखाएको छ । नाइजेरिया, तान्जानियाजस्ता अफ्रिकी देश र पूर्वी एसियाका केही देशमा भारत हुँदै टुरिस्ट भिसामा नेपाली युवतीहरूलाई लैजाने क्रम रोकिएको छैन ।
सामान्य अवस्थामा साथै भुकम्प र बर्तमान कोभिड संक्रमणको समयमा पनि मानव तस्कर र गिरोहहरूले महिला र बालिकाहरूलाई आफ्नो प्रमुख निसाना बनाएर अपराधिक कार्य गर्ने कार्य रोकेका छैनन । नेपालमा गएको बिनाशकारी भुकम्प पश्चात मानव बेचबिखन तथा ओसारको अपराधमा बृद्धी भएको थियो । अहिलेको कोभिड १९ का क्रममा बेचबिखनका क्रम रोकिएका छैनन । मानव बेचबिखनका सन्दर्भमा अन्तर्राष्ट्रिय बिमानस्थलका साथै सिमा नाकाहरुमा प्रभावकारी रुपमा निगरानीको ब्यवस्था मिलाउन जरुरी छ । बेचबिखनको जोखिमबाट जोगाउनका लागी आवश्यक संरक्षणात्मक कार्यहरु गर्नु पर्ने देखिएको छ । अध्यागमन लगायतका ऐनमा आवश्यक सम्शोधन गर्ने, सुचना अध्ययन र अभिलेख राख्ने कार्यलाई प्रभावकारी बनाउने, कोभिड संक्रमण बढीरहेको समयमा मानव बेचबिखनको अवस्था बारेमा बिस्तृत अध्ययन तथा अनुसन्धान गरि अपराधको नियन्त्रण, रोकथाम र पीडितको न्यायका सवालहरु रहेका छन् ।
नेपाल सरकारले मानवबेचबिखन नियन्त्रणको लागि संस्थागत संरचनाको विकाससँगै संघ—संस्थाहरूसँंग समन्वयमा काम गरिरहेको बताए पनि देशमा झ्याङगिदै गएको मानव बेचबिखनको जालोलाई तोड्ज सकिएको छैन । जनचेतनाको कमि, मानव तस्करीमा अपनाइने नया नया तरिका अपनाउदै देशमा बढ्दै गएको मानव तस्करीको जालोलाई तोड्नका लागी उचित र प्रभावकारी नियन्त्रणका उपायहरु कार्यान्वयनमा आउन नसक्दा मानव बेचबिखनका घटनामा बढोत्तरी भैरहेको छ । पीडितको न्यायमा सहज पहुँच पुग्नमा बिभिन्न खाले समस्याका कारणले मानव तस्करहरु सल्वलाई रहेका छन् । साच्चै मानव बेचबिखनको रोकथामको लागी समय सापेक्ष कानूनको परिमार्जन, रोकथामको प्रभावकारी संयन्त्रको ब्यवस्था र पीडितको न्यायको सुनिश्चिताका साथै स्थानिय स्तरबाटै व्यापक रूपमा मानव बेचबिखन बिरुद्धमा जनचेतना फैलाउन जरुरी छ ।
नेपालमा मानव बेचबिखनको जालो फैलँदै जानुमा राज्यको कानून भन्दा मानव तस्करीको जालो बलियो हुदै जानु पनि एक कारणको रुपमा रहेको छ । कतिपय अवस्थामा ती संगठित गिरोहहरु कानूनको दायरामा नआउने र भरिया र सामान्य सहयोगीहरु मात्र पक्राउ पर्नुले अपराध नियन्त्रणमा चुनौती देखिएको छ । बिगत लामो समय देखि मानव बेचबिखन बिरुद्धको अभियानमा धेरै संघ—संस्था सरकार र अन्तर्राष्ट्रिय संस्था समेत सक्रिय हुँदाहँुदै पनि यो समस्याको निदान सोचे जति हुन नसकेकोले बदलिँदो परिवेशमा यसको निराकरणका लागि अझ नयाँ रणनीति अपनाउन आवश्यक छ ।
मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणको लागी मुख्य अपराधीलाइ कानूनी दायरामा ल्याउन, पीडित र साक्षीको उचित सुरक्षाको प्रवन्ध गरी पीडितलाई न्याय र परिपुरणको ब्यवस्था गर्न जरुरी छ । यसै गरि अझै पनि पीडक पक्षबाट अपराध अनुसन्धानको क्रममा पीडितलाई धाकधम्की दिई बयान फेर्न लगाई अपराधिक दायित्वबाट उन्मुक्ति भै रहेकाले पीडित होसटाईल भएको अवस्थामा पनि अन्य प्रमाणले पुष्टि गरेको अवस्थामा पीडकलाई कारवाही हुन जरुरी छ । यसै गरि ग्रामिण स्तरसम्म मानव बेचबिखन बिरुद्धमा जनचेतना फैलाउने, सिमानामा सिमा निगरानि बढाउने, जोखिमपृर्ण यात्रामा रहेका महिला तथा वाल वालिकालाई उद्धार गर्ने, आवश्यक परामर्श प्रदान गर्ने, बेचबिखनमा परेका महिला तथा वाल वालिकाहरुको उद्धार गर्ने, आवस्यक परामर्श सेवा उपलब्धताको ब्यवस्था मिलाउने, पुर्नस्थापना सम्बन्धि कार्यगर्ने, बिभिन्न हिसांमा परेका महिला तथा वालवालिकाहरुको उद्धार र पुर्नस्थापना गर्ने, हराएकाहरुको खोजतलास सम्बन्धि कार्य गर्ने लगायतका कार्य तदारुकताका साथ गर्न सकिएमा मानव बेचबिखन तथा अबैध ओसारपसारको नियन्त्रण, रोकथाम गर्न र पीडितको न्यायमा सघाउ पुग्न सक्दछ । (लेखक गौतम अधिवक्ता हुन ।)

प्रतिक्रिया

प्रतिक्रिया