क्यान्सर अस्पतालमा कसरी पस्यो कोरोना ?

बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा एकै दिन कोरोना भाइरसका १२ जना संक्रमित फेला परेका छन् । आइतवार चिकित्सक सहितका १२ जनामा संक्रमण पुष्टि भएको हो ।
खजुरामा आइतबार अहिलेसम्मकै बढि संख्यामा कोरोना संक्रमित भेटिएका छन । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरीएको परिक्षणमा बाँकेको खजुरामा १९ जना संक्रमित फेला परेका हुन् । ‘यो घटनापछि खजुरालाई सिल गर्ने प्रस्ताव गरिएपनि उच्च सावधानी अपनाएर ह्याण्डल गर्ने कुरामा सहमति जनाइएको छ,’ खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले यति ठुलो संख्यामा संक्रमित फेला पर्दा चिन्ता बढेको प्रतिक्रिया दिंदै भने ।
आइतवार बाँकेमा ४१ जना संक्रमित फेला पर्दा सबैभन्दा बढी १९ जना खजुरामा पुष्टि भएको हो । विगत ६ महिनादेखि कोरोना विशेष आइसोलेसन अस्पताल चलिरहेको क्यान्सर अस्पतालमा अहिलेसम्म संक्रमणका घटना थिएनन् । कसरी यति ठुलो संख्यामा संक्रमण देखियो त ? सम्बद्ध स्रोतका अनुसार, अस्पतालमा कार्यरत एकजना कर्मचारीको लापरवाहीले संक्रमण फैलिएको हो ।
संक्रमित ति महिला कर्मचारी केही दिन देखि ज्वरोले थलिपनि घर र कार्यालय गरिरहेकी थिइन् । १९ मध्ये बाँकी उनकै घर तथा उनीहरुद्वार सञ्चालित स्वास्थ्य प्रतिष्ठानका कर्मचारी संक्रमणमा परेका छन् । ‘यो घटनाले निकै पाठ सिकाएको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘कसैसँग पनि हेलमेल गर्न हुँदैन, जो कोही पनि संक्रमित हुनसक्छ ।’

कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइतवार कोरोनाका कारण बाँकेमा एक जना पुरुषको ज्यान जानुका साथै ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतवार संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय बाँकेका ११ जना प्रहरी पनि छन् । यससँगै बाँकेमा कोरोना संक्रमण पछि ज्यान जानेको संख्या ७ पुगेको छ भने, संक्रमितको संख्या १ हजार २५१ पुगेको छ । ती मध्ये ४ सय २० सक्रिय संक्रमित हुन्, उनीहरुको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार देखि शनिवारसम्म जारी गरेको निषेधाज्ञा निर्वाध सकिएको छ । बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गतसाता भदौ १२ गते हरेक हप्ताको शुक्रबार देखि शनिबार जिल्लाभरी कायम रहने गरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
मुलुकभर, पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ३५४ जना संक्रमित थपिएका हुन् ।
यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । उनीहरुमध्ये २८९ जनाको मृत्यु भएको छ भने २८ हजार ९४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच, बर्दियाको बाँसगढीमा संचालित चाउचाउ उद्योगका कर्मचारीमा कोरोना संक्रमण फैलिएको छ । आइतबार भेरी अस्पताल नेपालगन्जमा गरीएको परिक्षणमा उद्योगका ४२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
यसअघि २ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उक्त उद्योग सिल गरिएको थियो । कम्पनी सिल गरी सबै कर्मचारीको कोरोना परिक्षण गर्ने क्रममा कार्यरत तीन सय मध्य ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
एकैचोटी ४२ जना कामदारमा कोरोना संक्रमण देखिएपछि बाँसगढी नगरपालिकामा आज सोमवारदेखि लागु हुने गरी भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय बर्दियाले निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया