आजपनि बाँकेमा निषेधाज्ञा, बजार सुनसाान

हिड्डुलमा समेत रोक लगाउने गरि सातामा दुई दिनका लागि जारी गरिएको निषेधाज्ञाको पहिलो दिन शुक्रवार प्रहरी कडाइ विना पनि सडकमा मानिसहरुको चाप निकै कम देखियो । बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमण तिब्र विस्तार ‘ब्रेक गर्न’ यो निर्णय गरेको जनाउँदै आएको छ ।

साप्ताहिक निषेधाज्ञाको पहिलो दिन नेपालगन्जको दृष्य



जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार देखि जारी गरेको निषेधाज्ञा आज शनिवार मध्यरात सम्मका लागि निरन्तर रहने जनाएको छ । बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गतसाता भदौ १२ गते हरेक हप्ताको शुक्रबार देखि शनिबार जिल्लाभरी कायम रहने गरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम कुरुम्वाङले जोखिमको अवस्था हेरेर निर्णय फेरिनसक्ने बताए । जिल्ला प्रशासन कार्यालय बाँकेले भदौ १५ गते बाँके जिल्लाभर शनिबारसम्म निषेधाज्ञा लगाइएको सूचना जारी गरेको थियो ।
‘धम्बोझी चोकमा शुक्रबार देखिएको निषेधाज्ञामा प्रहरीले सोधपुछ नगर्दा समेत सडक सुनसान थियो,’ नेपालगन्जको एक फन्को लगाएपछि सहकर्मी दिपेश आचार्यले भने, ‘प्रहरी सडका नदेखिएपनि मान्छेको आवतजावत कमै मात्रामा देखियो ।’ ‘अत्यावश्यक बाहेक कुनै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत सञ्चालनमा नआउने गरि निषेधाज्ञालाई प्रभावकारी बनाउन जरुरी छ,’ प्रजिअ कुरुम्वाङले दैनिक नेपालगन्जसँग भने, ‘जोखिम केही हदसम्म भएपनि कम गर्न सकिन्छ भन्ने कोशिश हो ।’
अत्यावश्यक सेवा र सोका लागी प्रयोग हुने सवारी साधान बाहेक प्रशासनले दुईदिन पसल ब्यवसाय, अन्य सबै प्रकारका बैंक तथा वित्तिय संस्था, सवारी साधान संञ्चालन तथा हिडडुलमा समेत रोक लगाएको आदेशमा उल्लेख छ । उक्त अवधिमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने प्रशासनको चेतावनी छ । ‘त्यसका लागि प्रहरी चौतर्फी तैनाथ गरिएको बताइएपनि सुरक्षा परिचालन भने अपेक्षित देखिएन ।

प्रतिक्रिया

प्रतिक्रिया