हिड्डुलमा समेत रोक लगाउने गरि सातामा दुई दिनका लागि जारी गरिएको निषेधाज्ञाले बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमण तिब्र विस्तार ‘ब्रेक गर्न’ यो निर्णय गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज शुक्रवार देखि भोलि शनिवार मध्यरात सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । हरेक हप्ताको शुक्रबार देखि शनिबार जिल्लाभरी कायम रहने गरि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जानकारी दिंदै बाँकेका प्रमुख जिल्ला अधिकारी राम कुरुम्वाङले पालना गरिदिन आग्रह गरेका छन् ।
बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गतसाता भदौ १२ गते सरोकारवाला सबैलाई उपस्थित गराएर भएको छलफलका आधारमा यो निर्णय गरेको हो । त्यसका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले भदौ १५ गतेनै उक्त आदेश जारी गरेको थियो । आदेश अनुसार, आजबाट बाँके जिल्लाभर शनिबारसम्म निषेधाज्ञा लगाइएको हो ।
‘अत्यावश्यक बाहेक कुनै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत सञ्चालनमा आउने छैनन्,’ प्रजिअ कुरुम्वाङले दैनिक नेपालगन्जसँग भने, ‘अटेरी गरेको पाइए कानुनी कारबाही गरिनेछ ।’
अत्यावश्यक सेवा र सोका लागी प्रयोग हुने सवारी साधान बाहेक प्रशासनले दुईदिन पसल ब्यवसाय, अन्य सबै प्रकारका बैंक तथा वित्तिय संस्था, सवारी साधान संञ्चालन तथा हिडडुलमा समेत रोक लगाएको आदेशमा उल्लेख छ । उक्त अवधिमा निषेधाज्ञाको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने प्रशासनको चेतावनी छ । ‘त्यसका लागि प्रहरी चौतर्फी तैनाथ गरिनेछ,’ प्रजिअ कुरुम्वाङलले भने ।
बाँके प्रहरीले समेत सार्वजनिक सुचनामार्फत निषेधाज्ञाको पालना गरिदिन सर्वसाधारणलाई आव्हान गरेको छ । हिड्डुलमा समेत रोक लगाउने गरि सातामा दुई दिनका लागि जारी गरिएको निषेधाज्ञाले बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमण तिब्र विस्तार ‘ब्रेक गर्न’ यो निर्णय गरेको जनाएको छ । ‘बजार व्यवसाय पनि चलोस्, संक्रमण विस्तारमा पनि ब्रेक लागोस् भन्ने प्रयास हो,’ प्रजिअ कुरुम्वाङले भने, ‘सबैले इमान्दार पालना गरिदिंदा यसले संक्रमणको चेन अवश्य तोडिनेछ ।’
रातीको समयमा आवागमन रोक्दै आएको बाँके प्रशासनले हरेक दिन यातायातका साधनमा जोरविजोर प्रणाली लागु गरेको छ । अनुगमनको प्रभाावकारितामा अटेरी भइरहेपनि पछिल्ला दिनमा गरिएका व्यवस्थापनले संक्रमण नियन्त्रणसँगै बजार व्यवसायमा मापदण्ड पालनाको सचेतना बढेको छ ।