पश्चिम नेपालको स्वास्थ्य केन्द्रका रुपमा रहेको भेरी अस्पताललाई शिक्षण अस्पताल बनाउने लगायतको दीर्घकालीन सम्भावना समेटेर वृहत गुरुयोजना बनाउन र त्यसै अनुरुप अगाडी बढ्न सुझाव दिइएको छ ।
नेपालगन्जस्थित भेरी अस्पताललाई समयानुकूल स्तरियकरण गर्न बृहत गुरुयोजनाको सुझाव दिइएको छ । राजधानी काठमाडौंस्थित वीर अस्पतालसँगैको इतिहास बोकेको स्थापनाको १ सय ३० वर्ष पुगेको भेरी अस्पताल कम्तिमा ५० वर्षको भविष्य खाका सहितको गुरुयोजना बनाउन सुझाव दिइएको हो ।
१ सय ५० शैयाको रहेको अस्पताललाई चालु आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा विशिष्टीकृत गर्ने निर्णयसंगै पाँच सय शैया क्षमताको बनाउने कार्य अगाडी बढिरहँदा जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक क्षेत्रका अगुवाहरुले कोरोना कहरबीचनै अस्पतालको बृहत्तर विकासको योजना ल्याउन सुझाव दिइएको छ ।
विकासका लागि नागरिक समाज बाँकेको आयोजनामा मंगलवार सरोकारवालाहरुबीच जिल्लाको समग्र स्वाथ्य अवस्था बारे संवाद गरिएको हो । जिल्लाबाट प्रतिनिधिसभामा प्रतिधित्व गर्ने सांसदहरुले कार्यक्रममा आफुहरुमार्फत लगानी हुने यस वर्षको पूर्वाधार विकास बजेटको ठुलो हिस्सा स्वास्थ्यमा खर्च गर्न सहमत भएका छन् । त्यसका लागि भेरी अस्पतालको वृहत्तर गुरुयोजना बनाऔं, बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले भने । सरकारसँग बाँके बर्दियाका सबै सांसदहरुले संयुक्त रुपमा गरिएका पहलमा पनि भेरी अस्पतालको विशष्टिकरण समावेश रहेको उनले जानकारी दिए ।
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य मो. ईस्तियाक राईले तीन वटै निर्वाचन क्षेत्रबाट डेढ करोडका दरले यसबै आथिक वर्षमा साढे ४ करोड रुपिया भेरीको स्वास्थ्य पूर्वाधारमा दिन सकिने बताए । त्यसका लागि राजनीतिक प्रतिबद्धता जनाएका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले अस्पतालको विकासमा सहयोग रहने बताए । प्रदेश सांसद मो. याकुव अन्सारी, नेपालगन्जका नगर प्रमुख धवल शम्शेर राणा, नेकपा नेता अशोक कोइराला, काँग्रेस नेतृ किरण कोइराला, जसपाका कमरुद्दिन राई, राप्रपाका तेजविक्रम शाह, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, लायन्स लिडर शेम शाक्य, मधुसुदन शर्मा, चेम्बर अफ कमर्शका गोपाल अधिकारी लगायतले अस्पतालको स्तरोन्नतीका लागि आआफ्नो ठाउँमा पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विकासका लागि नागरिक सरोकार समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिम नेपालकै ठूलो रेफरल सरकारी अस्पतालका रुपमा रहेको भेरीमा दरबन्दी अनुसारका कर्मचारी उपलब्ध नरहेको गुनासो सम्बद्ध पदाधिकारीहरुले गरे ।
अस्पताल विकास समितिका सदस्य धनिराम ओलीले अस्पतालमा चिकित्सकहरुको दरबन्दी ५७ जनाको रहेकोमा १८ जना मात्र कार्यरत रहेको बताए । नर्सिगंतर्फ ३४ जनाको दरबन्दी भएकोमा अस्थायी सहित ३२ जना कार्यरत रहेको जानकारी दिंदै ओलीले लामो समयदेखि बिशेष चिकित्सकको समेत अभाव हुँदा अस्पतालको सेवा प्रभावित भएको बताए ।
पत्रकार झलक गैरेले सहजीकरण गरेको संवाद कार्यक्रममा भेरी अस्पताल प्रमुख डा. प्रकाश थापा, कोभिड वार्ड व्यवस्थापन समितिका संयोजक डा. श्यामसुन्दर यादव लगायतले अस्पतालका उपलब्ध सेवा सुविधा र आवश्यकताबारे जानकारी दिएका थिए । पूर्व सभासद मोहम्मदी सिद्दीकी, बारका अध्यक्ष विकास आचार्य, उपभोक्ता मञ्चका अध्यक्ष वसन्त गौतम लगायतले स्वास्थ्य सेवा सुधारका लागि सम्बद्धहरुको ध्यानाकर्षण गराए ।
सरोकारवालाबीच उठेका सवाललाई एकीकृत गरेर कार्यान्वयनको पहलकमदी लिइने, समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । विकासका लागि लिइएको पहल हो, श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, लिपिबद्ध सवालहरुलाई कार्यान्वयन तहमा बसेर छलफल गराइनेछ ।