संघर्षबाट भागेर देहत्याग गर्नु कायरता हो । चाहे जुनसुकै कारणले नै किन नहोस आत्महत्याका कारण आत्महत्या गर्नेको जीवनलिला त समाप्त हुन्छ नै तर वाँचेका घरपरिवार, आफन्तजन र सिंगो समाजलाई नै पीडा हुने अवस्था आउँछ । आत्महत्याबाट कोही कसैलाई भलो गर्दैन । तसर्थ आत्महत्याको सोँचलाई त्यागेर एकपटक मात्रै प्राप्त हुने सुनौलो जीवनलाई अनाहकमा खेर नफालौं, अरुलाई दुःख पीडा दिने काम नगरौं, अधिकार प्राप्ति र अन्यायको विरुद्धमा लडौं ।
सामाजिक संरचना:
मानिसको सवैभन्दा प्यारो आफ्नै जीवन र शरिर हुन्छ । आफ्नो जीवन र शरिर राम्रो बनाउन र देखाउन सबैको चाहना हुन्छ । आफू र आफ्नो घरपरिवार खुशी र सुखी रहुन् भनी मानिसहरुले तनमनले सदैव इश्वर संग प्रार्थना गरिरहेका हुन्छन् ।
मानिस सामाजिक प्राणी भएका कारण एक्लै जन्मन र जीउन पनि सक्दो
रहेनछ । पति पत्नी, सन्तान, घरपरिवार, समाज, देश प्रदेश, संसार आदि इत्यादि स्थापित र स्थायी संरचना रहेछन् । यही सांसारिक परिधिभित्र रहेर जीवन गुजार्नुपर्दो रहेछ ।
जन्मँदा सवै मानिस स्वतन्त्र र समान हुन्छन् । जन्मीसकेपछि भने विविधता हुँदो रहेछ । देश, ठाउँ, गाउँ, घर, परिवार, जात, धर्म, वर्ण, लिङ्ग, संस्कृति, रीतिरिवाज पनि अलग—अलग हुँदो रहेछ । त्यतिमात्र होइन यो संसारमा धनी गरिव, शिक्षित अशिक्षित, रोजगार वेरोजगार आदिका आधारमा पनि मानिसलाई वर्गीकरण गर्ने प्रचलन रहेछ ।
यी असमानता र विभेदकारी नियमहरु प्रकृति एवं ईश्वरले बनाएका नभई मानिसले मानिसका लागि नै बनाएका
रहेछन् ।संवैधानिक, कानूनी, धार्मिक र मानवअधिकारको दृष्टिकोणबाट सवै नागरिकहरु समान हुन् र समान हुनुपर्ने हो । तर महिला र पुरुष, छोरा र छोरी, सासु र बुहारी, धनि र गरिव वीचको विभेदको खाल्डो अझै पुरिएको देखिदैन । एउटै प्रकृति र प्रकृयाबाट जन्मेका मानिसहरु कोही राजा त कोही प्रजा, कोही नेता त कोही कार्यकर्ता, कोही नागरिक त कोही मानिसको कोटीमा पर्दारहेछन् । यो संसार विचित्रको रहेछ ।
सवै नागरिकले सम्मानपूर्वक बाँच्न पाउने, सवैले समान शिक्षा पाउने, खान नपाएर र औषधीमुलो नपाएर कसैले अकालमा ज्यान गुमाउन नपर्ने, कोही पनि आवास (घर) विहिन हुनुनपर्ने, कसैले पनि हिंसा गर्न नपाई जस्ता नागरिकका आधारभूत अधिकारलाई नेपालको संविधानको मौलिक हकमा स्वर्ण अक्षरले लेखिएको छ । नेपालमा पहिलो पटक संविधानसभा मार्फत नेपाली जनताले आफ्ना लागि बनाएको संविधानमा प्रत्येक नागरिकलाई सार्वभौमसत्ता सम्पन्न नागरिकको संज्ञा दिएको छ । संविधान र कानूनले नै प्रत्याभूत गरेका अधिकारको उपभोग गर्न पाउनु प्रत्येक नागरिकको हक हुँदा हुँदै पनि व्यवहारमा भने सवै नागरिकले न्याय, समानता र कानूनको शासनको प्रत्याभूति गर्न पाएको अवस्था भने छैन । देशको शासन शक्ति परिवर्तन भयो, विधि र पद्दति भने परिवर्तन भएन, राज्यका संरचनाका नामहरु परिवर्तन भए तर व्यवहार एवं सोचमा परिवर्तन आएन, नेतृत्व परिवर्तन भए तर संस्कार फेरिएन । सरकारमा, राजनीतिक पार्टीमा, सार्वजनिक निकायमा अझै पनि सवै नागरिकको सहज र सरल पहुँच पुग्न सकेको छैन यो यथार्थ पनि हो अनि नागरिक गुनासो पनि ।
हिंसा:
प्रत्येक नागरिकलाई स्वतन्त्र रुपमा सम्मानजनक ढंगबाट वाँच्न पाउने हक छ । यो हक कसैले कसलाई दिएको नभई जन्मसिद्ध अधिकार हो । कुनै पनि वहानामा कसैले कसैलाई हिंसाजन्य कार्य गर्न गराउन हुँदैन । आफ्नो हकअधिकार खोज्नेले अरुको हकअधिकारको पनि सम्मान गर्नु सवैको कर्तव्य पनि हो । मूलतः शारीरिक, मानसिक, आर्थिक र यौनिक यातना तथा पिडालाई घरेलु हिंसाको परिभाषाभित्र राखिएको छ । हिंसाजन्य कार्यलाई कानूनतः कसूर अपराध मानी दण्डनीय बनाएको छ । तर विडम्वना नै भन्नु पर्दछ अझै पनि दिनप्रतिदिन हिंसाजन्य घटनाहरु घटिरहेको देखिन्छ सुनिन्छ ।
हाम्रो समाजमा महिलाबाट पुरुष पनि हिंसामा पर्ने गरेका प्रशस्तै उदाहरण छन् तर मात्रात्मक रुपमा हेर्ने हो भने पुरुषले महिलालार्य बढि हिंसा दिने गरेको देखिन्छ । लैंगिक भेद बाहेक कानूनतः महिला र पुरुषका वीचमा कुनै विभेद छैन । दुवै वर्गको समान अधिकार र समान हैसियत छ तर व्यवहार भने अलि फरक छ । परापूर्वकाल देखि जडा काडेर वसेको पितृसतात्मक र पुरुष प्रधान सोँच, पारिवारिक एवं सामाजिक संरचना, आर्थिक अवस्था, परम्परा र संस्कृति आदिका नाउँमा प्रत्यक्ष एवं परोक्ष रुपमा हिंसाजन्य कार्य हुने गरेका छन् । यतिमात्र होईन मादक पदार्थको अत्यधिक सेवन, आर्थिक विपन्नता, वेरोजगारी, पारिवारिक संस्कार, पति पत्नीको सम्वन्धको बारेमा बुझाई, अस्वभाविक आकांक्षा, देखिसिकि, सामाजिक संजाल आदि इत्यादिका कारण पनि घरेलु हिंसाका अपराध हुने गरेको घटनाक्रमले देखाउने गरेको छ ।
आत्महत्या:
जन्मेपछि मृत्यू निश्चित र सत्य हो । कुनै रोगका कारण वा कुनै दुर्घटनामा परेर वा अन्य दैवी प्रकोपका कारणले पनि मानिसहरुले अकालमा नै मृत्यू हुन सक्छ । यस प्रकारको मृत्यू दुःखद र पिडादायी हुनेभएपनि अन्तत्वगत्वा यस्तै रहेछ जिन्दगी भनी चित्त बुझाउने गरिन्छ । तर आफ्नो जीवन आफै समाप्त गर्नु भनेको त अत्यन्तै अस्वभाविक र जटिल विषय हो । उपचारबाट स्वास्थ्य अवस्था ठिक हुन सक्ने अवस्था नभएको र थप जिउँदा अत्यन्तै पिडा भोग्नु पर्ने अवस्थामा चिकित्सक लगायत आधिकारिक निकायको पूर्व स्वीकृति लिई इच्छा मृत्यू गर्न पाउनुपर्दछ भन्ने माँग पनि उठिरहेकै छ । त्यो चाहीँ फरक विषय हो । तर अरुले दिएको पिडा, दर्द, हिंसा, धोका आदिका कारणले बाध्य एवं विवस भई कसैले आत्महत्या गर्नुपर्ने सम्मको परिस्थितिको सृजना गरेका कारण आफ्नो सवैभन्दा प्यारो जीवनलिला समाप्त गर्दछ भने त्यो अपराध नै हो ।
प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको अभिलेख हेर्दा आत्महत्या गर्नेको संख्या अत्यन्तै हृदयविदारक रहेको छ । आ.व.२०७१÷०७२ मा ४३३२, २०७२÷०७३ मा ४६९०, २०७३÷०७४ मा ५१२४, २०७४÷०७५ मा ५३१७ र २०७५÷०७६ मा ५७५४ जनाले आत्महत्या गरेको देखिन्छ । बाँके जिल्लामा मात्रै आ.वं.२०७६÷०७७ मा ८१ जनाले आत्महत्या गरेको देखिन्छ । कोरोना भाईरस (कोभिड—१९) को कहर पश्चात आत्महत्या गर्नेको संख्या झन बढ्दो अवस्थामा रहेको छ ।
वि.सं.२०७५ साल भाद्र १ गते देखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन र कसैले त्यस प्रकारको कसूर गरेमा पाँच वर्ष सम्म कैद र पचास हजार रुपैया सम्म जरिवाना हुने कानूनी व्यवस्था गरेको छ । कसैले कसैलाई हिंसाजन्य कार्य गरी वा अन्य कुनै परिवन्दबाट आत्महत्या गर्न दुरुत्साहन गरेमा वा आत्महत्या गर्ने सम्मको परिस्थिति सृजना गरेमा मात्रै उल्लेखित सजाय हुन सक्दछ तर उक्त अवस्था प्रमाणित गर्न अत्यन्तै कठिन विषय हो । जस्लाई आत्महत्या गर्न वाध्य पारिएको हो उही व्यक्तिले आत्महत्या गरीसकेपछि सवै प्रमाण नष्ट भएर जान्छ र दोषीले उन्मुक्ति पाउने सम्भावना बढी रहन्छ । यतिमात्र होईन, कथंकदाचित पीडकले सजाय पाएकै खण्डमा पनि पीडितले न्यायको अनुभूति त गर्न पाउदैन किनकी उस्ले त देहत्याग गरीसकेको हुन्छ । कोही कसैले हिंसाजन्य कार्य गरेको छ, दुःख पिडा दिएको छ, धोका दिएको छ भने आफ्नो जीवनकालमा नै अन्यायीका उपर कानूनी मार्ग अवलम्वन गरी आफ्नै आँखा अगाडि पीडकलाई सजाय दिलाउन सकियो भने मात्रै कानूनको मक्सद पूरा हुन सक्छ, आफूले संसार देख्न पाईन्छ, पीडितले न्यायको अनुभूति पाउन सक्छ अनि पिडकले सजायको भागिदार बन्न सक्छ । तसर्थ आत्महत्या समस्याको समाधान होइन र हुन सक्दैन ।
हिंसा सहन नसकेर मात्रै नभई आर्थिक अभाव, चिन्ता, डिप्रेशन, असफलता आदिका कारण पनि मानिसले आत्महत्या गर्ने गरेको देखिन्छ । जीवन संघर्ष हो, एकदिन त सवै मर्ने नै हो तर बाँचेसम्म संघर्ष गर्नु नै पर्दछ । संघर्ष बाट भागेर देहत्याग गर्नु कायरता हो । चाहे जुनसुकै कारणले नै किन नहोस आत्महत्याका कारण आत्महत्या गर्नेको जीवनलिला त समाप्त हुन्छ नै तर वाँचेका घरपरिवार, आफन्तजन र सिंगो समाजलाई नै पीडा हुने अवस्था आउँछ । आत्महत्याबाट कोही कसैलाई भलो गर्दैन । तसर्थ आत्महत्याको सोँचलाई त्यागेर एकपटक मात्रै प्राप्त हुने सुनौलो जीवनलाई अनाहकमा खेर नफालौं, अरुलाई दुःख पीडा दिने काम नगरौं, अधिकार प्राप्ति र अन्यायको विरुद्धमा लडौं । (लेखक शाह अधिवक्ता हुन्)